© २०२३
अर्घाखाँची, ५ पुस ।
कुनैबेला कांग्रेसको किल्ला मानिने अर्घाखाँची अहिले एमालेको भएको छ । हरेक चुनावमा दल बदलेरै मतदाताले आशालाग्दो उम्मेदवारलाई निर्वाचित गराएका छन् । विगतका चुनावको नतिजा हेर्दा कांँग्रेस, एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाका नेता उनै मतदाताबाट आलोपालो जस्तै सांसद हुने अवसर पाएका छन् ।
२०१५ सालको आमनिर्वाचनमा अर्घाखाँचीबाट कांग्रेसका सुवर्ण शमशेर राणा र काँशिनाथ गौतम निर्वाचित भए । राणा भोट माग्न अर्घाखाँची आएनन् । काठमाडौ बसेका उनले भारी मतले चुनाव जिते । राणा २१ औं प्रधानमन्त्री भए भने गौतम स्वास्थ्य मन्त्री भए ।
बहुदलपछि २०४८ र ०५१ को चुनावमा पनि कांग्रेस उम्मेदवार निर्वाचित भए । तत्कालिन क्षेत्र नं.१ बाट निर्वाचित रेवतीप्रसाद भुसाल राज्यमन्त्री र २ बाट ढुण्डिराज शास्त्री मन्त्री भए । कांग्रेसको प्रभाव बढ्दै गएपछि २०५६ को चुनावमा एमाले र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरे । त्यसपछि भने कांग्रेसले आफ्नो जितलाई कायम राख्न सकेन । क्षेत्र नं. १ बाट जनमोर्चाका डिलाराम आचार्य र २ बाट एमालेका डा. डिल्लीराज खनाल निर्वाचित भए । आचार्य अहिले माओवादी केन्द्रको सचिव छन् । ०५६ खनालसँग पराजित भएकी काँशिनाथकी छोरी पुष्पा भुसाल गौतमले २०६४ को निर्वाचनमा सोही क्षेत्रबाट उनै खनाललाई पराजित गरिन् । ०७० को चुनावमा एमालेका डा. दुमनसिंह थापा निर्वाचित भए । पुष्पा पराजित भइन । २०७४ को चुनावमा संघीय संरचना अनुसार अर्घाखाँची प्रतिनिधिसभा एक र प्रदेशसभा दुई निर्वाचन क्षेत्र कायम रहयो । त्यो बेला एमाले, माओवादी र राजमोको वाम गठबन्धन भयो । ०७४ र ०७९ का दुवै चुनावमा कांग्रेस उम्मेदवार निर्वाचित भएनन् ।
एमाले सचिव टोपबहादुर रायमाझीले लगातार चार पटक चुनावमा बाजी मारे । उनले २०६४ मा कांग्रेसका मानबहादुर विश्वकर्मा, ०७० र ०७४ कांग्रेसका डा. रामबहादुर बिसी र ०७९ को प्रतिनिधिसभामा पुष्पालाई पराजित गरे । बिसी ०५६ मा पनि राजमोका आचार्यसँग पराजित भएका थिए ।
मंसिर ४ गतेको चुनावमा ५ दलीय गठबन्धन भएको थियो । स्थानीय तहको नतिजा अनुसार गठबन्धन एमाले भन्दा ५ हजार मतले अगाडि थियो । ०७४ को चुनावमा समानुपातिक सांसद बनेर संघीय संसदको उपसभामुखमा अवसर पाएकी कांग्रेस नेतृ पुष्पाले गठबन्धनको बलमा पनि रायमाझीलाई पराजित गर्न सकिनन् ।
अहिलेसम्म एमालेले एकल लडेर ०७० मा तत्कालिन क्षेत्र नं. २ बाट थापा र अहिले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्र जितेको छ । एमालेबाट निर्वाचित प्रतिनिधिसभामा रायमाझी, प्रदेशसभा १ बाट चेतनारायण आचार्य र २ बाट रामजीप्रसाद घिमिरे निर्वाचित भए । अघिल्लो चुनावमा पनि वाम तालमेलबाट उनै तीन जना निर्वाचित भएका थिए ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ६ स्थानीय तहका १२ पद मध्ये मालारानी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र पाणिनि गाउँपालिका उपाध्यक्ष पद मात्रै जितेको थियो । यसपालिको स्थानीय चुनावमा एमालेले एक्लै ८ पदमा जितेको छ ।
मंसिर ४ को चुनावमा विना संगठन घण्टी चिन्हमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ३२ सय र समानुपातिकमा ८ हजार ९ सय ५१ मत ल्याएको छ । ‘जसले परिवर्तनमा मुद्दा अगाडि सार्छ, त्यसैलाई मतदाताले रोज्न थाले,’ उपप्रध्यापक मञ्जु घिमिरेले भनिन्, ‘राजनीतिक परिवर्तनले मात्रै भएन, मतदाताले सामाजिक र आर्थिक परिवर्तन खोजेका हुन्छन् । जसले विकास र परिवर्तनको सपना देखाएको हुन्छ, त्यसैले चुनाव जित्छ ।’
अधिकार संविधानमा लेखिएकाले अब विकास र सृमद्धिको युग भएको उनको तर्क छ । गाउँमा जसले विकास गर्छु भनेर भोट माग्न मतदाता त्यतैतिर आकर्षित हुन्छन् । अर्घाखाँचीमा घण्टी चुनाव चिन्हको पढेलेखेको अलि हाइप्रोफाइलको उम्मेदवार हुन्थ्यो भने धेरै मत आउँथ्यो । सामाजिक र आर्थिक परिवर्तन, जनताका आधारभूत आवश्यकतामा मुद्दालाई हेरेर नै मतदाताले दल बदलेर भएपनि मत दिन्छन् । ‘आउँदो चुनावमा सामाजिक र आर्थिक मुद्दा बोक्ने दरिलो पार्टी र उम्मेदवार आएमा संगठित संगठन भएका एमाले, कांग्रेस पनि पछि पर्न सक्छन्,’ उनले भनिन्, ‘युवालाई गाउँमै रोजगारी, गरिबीबाट मुक्त, गाउँमा पुगेका कच्चीबाटा कालोपत्रे, गुणस्तरीय शिक्षा सहित विकासका पूर्वाधारका काम छिटोछरितो र सुशसान पहिलो प्राथमिकता हुन् ।’
गाउँको विकास गरिदिने आशमा उनै मतदाता जसले दल बदलेर भोट हाल्छन् । ‘सुशासन र विकास गर्न नसक्ने, चुनाव जितेपछि सांसद गाउँमा नफर्कने गर्दा पार्टीमै बसेर वा दल नै बदलेर भोट हाल्छन्,’ स्थानीय विमला खत्रीले भनिन्, ‘अब परिवर्तन चाहिएको छ । जुन नेता बढी घुलमिल हुन्छ त्यसलाई स्वभाविकै मत धेरै जान्छ । दैनिक भेटघाट हुने तर, विकास गर्ने भिजन नभएको नेताले पनि भोट पाउँदैनन् ।’ हिजो कांग्रेसले जितेको थियो, अहिले एमालेले जितेका छन् । निर्वाचित सांसदले जनअपेक्षा अनुसार काम गर्न नसके फेरि उनै मतदाताले दल बदलेर अर्काेलाई जिताउन सक्ने उनले बताइन । ‘अब राम्रो÷नराम्रो जे भएपनि पार्टीकै उम्मेदवारलाई भोट दिनुपर्छ भन्ने जमाना पुरानो भैसक्यो,’ उनले भनिन, ‘जुन उम्मेदवारको स्पष्ट भिजन, दृष्टिकोण र दुरदर्शी छ त्यसैलाई भाट दिनुपर्छ । मतदाता कुनै पाटीका पेवा होइनन्, परिवर्तनशील छन्, राम्रो काम नगरे विकल्प खोज्छन् ।’
स्थानीय भविश्वर खनालका अनुसार परिवर्तनको सिनारी वडाध्यक्षमा देखिएको छ । कांग्रेसको जनाधार भएको वडामा एमालेले र एमालेको किल्ला भएको गाउँमा वडाध्यक्ष कांग्रेस उम्मेदवार निर्वाचित भएको उनले बताए । ‘अहिले राजनीतिमा जेल परेको, पार्टीमा योगदान गरेको इतिहासलाई हेर्ने चलन हरायो, जसले परिवर्तनको मुद्दा अघि सार्न सक्छ, त्यसैले चुनाव जित्छ,’ उनले भने, ‘संसदीय चुनाव पनि त्यही भएको छ । उनै मतदाता हुन्, कुनै बेला कांग्रेस, माओवादी, राजमो, एमालेका उम्मेदवारलाई आलोपालो निर्वाचित गराएका छन् ।’ अहिले तीन वटै सिट एमालेले जितेको छ, राम्रो काम नगरे आउँदो चुनावमा मतदाताले दल बदलेर परिणाम अर्कै दिन सक्ने उनको आँकलन छ ।