© २०२३
मंसिरको अन्तिम सातासम्म आईपुग्दापनि तराईमा हुस्सुको खासै कुनै संकेत छैन । बैतडीमा बैशाखमा पाक्ने काफल अहिले नै पाकेको छ । गुराँस बैमौसममै फुल्न लागेको छ । विगतका बर्षहरुमा यतिबेला तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने गरेकोमा यो बर्ष मौसममा नाटकीय परिवर्तन देखिएको छ । मौसमवीदहरु भन्छन– अहिले मौसम उल्टो गतिमा चलिरहेको छ । मौसमबीदहरुले यसलाई मौसममा आएको बदलाव या परिवर्तन भन्ने गरेका छन । निश्चितरुपमा मानवीय गतिविधिका कारण विश्वभरि तापक्रम बढ्दै गएको र जलवायु परिवर्तनका कारण गर्मी, अनावृष्टि, अतिवृष्टि, सुक्खा र चक्रवातजस्ता घटना विश्वभरि नै देखिन थालेका छन् । विश्वको औसत तापक्रम वृद्धिभन्दा विभिन्न मौसम (सिजन) मा हुने तापक्रमको वृद्धि द्रुतगतिमा देखिएको छ । यसको असर नेपाल जस्ता हिमाली र पर्वतीय मुलुकमा अझ बढी र छिटो देखापरेका छन् । हाम्रो जस्ता मुलुकहरुले पछिल्लोसमय अप्रत्यासित रुपमा आउने यस प्रकारका विपद्को सामना गर्नुपरेको छ । जलवायु परिवर्तनका कारण विभिन्न आर्थिक र सामजिक क्षेत्रहरुमा समेत यसको प्रभाव अझ गम्भिररुपमा देखिन थालेको छ । जलवायु परिवर्तनको असरले मुख्यगरी वन तथा जैविक विविधता, जलस्रोत र ऊर्जा, कृषि तथा खाद्य सुरक्षा र मानव स्वास्थ्यमा प्रभाव परेको छ । अर्को चिन्ताको विषय के हो भने नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको छ भने यो वृद्धि तराईभन्दा हिमाली क्षेत्रमा बढी देखिएको छ । साथै वर्षायाम र सुक्खायामबीचको विषमतालाई झनै बढाइ दिएको छ । तापक्रम वृद्धिले औसत वर्षाको परिमाण मध्यम कालमा २ देखि ६ प्रतिशत अनि दीर्घकालमा ८ देखि १२ प्रतिशतले बढ्ने अध्ययनले देखाएको छ । विश्वको तापक्रमलाई १.५ डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको करिव एकतिहाइ हिउँ पग्लिने अध्ययनले देखाएको छ । त्यस्तै करिब ४७ वटा हिमताल विस्फोटको जोखिममा परिसकेको अवस्थाले विश्व नै मौसम परिवर्तनको जोखिम र चुनौतिमा बाँचीरहेको देखिन्छ ।
नेपालमा गत बर्षमात्र गरिएको एक वैज्ञानिक अध्ययनले सगरमाथामा २ हजार वर्षमा बनेको हिउँ जलवायु परिवर्तनका कारण ३० वर्षमै पग्लिएको देखाएको छ । हिउँ पग्लिने क्रम सन् १९९० को दशक पश्चात बढेको बैज्ञानिकहरुले उल्लेख गरेका छन । हिमालय क्षेत्र विश्वका करिब एक अर्ब मानिसको खानेपानीको स्रोत हो । उच्च भागमा द्रुत गतिमा हिउँ पग्लिँदा खानेपानी र सिंचाईको लागि पानीको उपलब्धतामा समस्या आउन सक्ने र हिउँको मात्रा घट्दा पर्वतारोहणमै पनि चुनौती थपिन सक्ने देखिएको छ । यसतर्फ सम्वन्धित निकायको ध्यानाकर्षण जरुरी छ । अर्कोतर्फ हालको कार्बन उत्सर्जनको अवस्थामा सुधार नभए अर्थात नघटाइए हिमालय क्षेत्रबाट करिब दुईतिहाइ हिउँ नै पग्लिएर जाने चेतावनी दिएका छन । यो गंभीर विषय हो । जसबाट विश्वको कार्बन उत्सर्जनमा थोरै मात्र हिस्सा ओगट्ने नेपाल जलवायु परिवर्तनबाट आफ्नो अस्तित्व बचाउने मारमा पर्ने निश्चित छ । नेपालले अवका दिनमा यो अति जोखिमको चुनौति पार लगाउन कम्मर कस्नुपर्ने बेला आएको छ । नेपालका राजनीतिक दलहरुको प्राथमिकतामा यस्तो संवेदनशील विषय समावेश भएको भएतापनि जोखिम र चुनौतिका विषयमा पर्याप्त बहस भएको छैन । नेपाल प्राकृतिक सम्पदाले सम्पन्न मुलुक हो । नेपालमै उपलव्ध स्रोत र साधनको प्रयोग गर्न सके अनुकूलन क्षमतामा वृद्धि गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ । अहिले मंसिरको अन्तिम सातासम्मपनि तराईमा हुस्सु र कुहिरोको नलाग्ने अवस्थाले आगामी दिनमा यस्तै अवस्थाका कारण वातावरणीय चुनौतिको सामना गर्नुपर्ने हुनसक्छ । तसर्थ अव आउने दिनमा वातावरणीय मुद्दालाई गंभीर ढंगले लिनु जरुरी छ ।