© २०२३
शनिवार विश्व मानव अधिकार दिवस मनाईरहँदा अघिल्लो आइतवार साँझ काठमाण्डौंमा भएको आत्मदाहको घटनाले आम सचेत नेपालीलाई गंभीर वनाएको छ । मानवीय मूल्य र मान्यतामाथि घात भैरहेको छ । भनौं न्याय मरेको आभाष हुँदैछ । प्रेम र विश्वास अनि त्यसमाथि धोका हुँदा मानिसको ज्यान नै जान्छ भन्ने उदाहरण यसअघि धेरै थिए, त्यसमा कमी होइन अझै बढ्दैछ । नुवाकोट घर भई हाल काठमाडौंको बुध्दनगर बस्दै आएकी पुष्पा न्यौपानेले धुम्बाराहीस्थित पिपलबोट नजिकै आफ्नो प्रेमी सुधन संग्रौलाको घरअगाडि आत्मदाह गरेको घटनाले नेपाली समाजलाई बिक्षिप्त तुल्याएको छ । दरबारमार्गस्थित ‘केल्मी नेपाल’ की अपरेशन म्यानेजर २७ वर्षीया न्यौपानेले सुधनसंग मंगनी टुटेको भोलिपल्ट आत्मदाह गरेर ज्यान दिइन । महिला हिंसाविरुद्धको १६ दिने अभियानको समापन हुँदै गर्दा यस प्रकारका घटनाले मुलुकमा मानवीयता हराउँदै गएको प्रमाणित हुन्छ । नेपालले शनिवार विश्व मानव अधिकार दिवस मनाईरहँदा यस प्रकारका घटनाले वास्तवमै न्याय मरेको अनुभूति भएको छ । तनावमा परेकी ती किशोरीले आत्मदाहको बाटो रोज्न बाध्य हुनुले नेपालमा अझै सर्वसाधारण नागरिक न्यायको पहुँचमा छैनन् भन्ने प्रमाणित हुन्छ ।
शनिवार ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउँदै गर्दा अधिकारवादीहरुले महिलामाथिका हिंसा र भेदभाव अन्त्य गर्न तथा पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गरेका छन । मानव अधिकार तथा शान्ति समाजले शनिवार मात्रै बुटवलमा यो दिवस मनाईरहँदा महिलामाथिका जर्जर आर्तनादका घटना नियन्त्रणमा चासो र चिन्ता व्यक्त गरेको छ । निश्चित रुपमा मुलुकभरी अहिले कुनै न कुनै रुपमा महिला हिंसाका घटना बढेका छन । चाहे त्यो प्रेमीले धोका दिएको रुपमा होस या गृहणीमाथिको अत्याचार वा विवाहपछिका दाईजो लगायतका घटना नै किन नहुन । महिलामाथि नै हिंसाका घटना केन्द्रित भैरहेको आभाष भैरहेको छ । शान्ति समाजले पनि यस प्रकारका घटनाको नियन्त्रणमा जोड दिएको छ । यो राम्रो कुरा हो तर जबसम्म हाम्रो समाज सभ्य, जिम्मेवार र नैतिक हुँदैन तबसम्म यस प्रकारका घटनाले निरन्तरता पाईरहने देखिन्छ । प्रसंग र सन्दर्भ के हो भने सम्वद्ध अधिकारबादी संघ संस्थाले समय समयमा विभिन्न कार्यक्रम गरेर अपराधजन्य घटना नियन्त्रणमा चासो दिनु जरुरी छ । जेहोस शान्ति समाजले महिला हिंसा अन्त्यको दवावका लागि सडक प्रदर्शन गरेको छ । यो हिंसाजन्य घटना नियन्त्रण र न्यूनिकरणमा महत्वपूर्ण पक्ष हो ।
शनिवार विविध कार्यक्रम गरि विश्वभरी नै मानव अधिकार दिवस मनाईदै गर्दा अधिकारवादीहरुले मानव अधिकारको पक्षमा वहस र वकालत गरेका छन । त्यसमा पनि महिला अधिकारको ग्यारेन्टीको आवाज उठेको छ । तर, महिला अधिकारको कुरा अहिले कागजमै खोज्नुपर्ने अवस्था आएको छ । काठमाण्डौंमा सपना न्यौपानेमाथिको प्रेममा धोकाधडीको घटना होस वा सुर्खेतमा आफ्नै श्रीमानले श्रीमतीको टाउको काटेको घटना नै किन नहोस् । वा तराईमा दाईजोको निहुँमा ज्यूँदै आगो लगाएर हत्या गरिएका घटना नै किन नहुन, आजको विश्व मानव समाजका लागि यस्ता घटना बर्बर र आततायी छन । मानव समाजका लागि कलंक हुन । अव महिलाविरुद्ध हुने कुनैपनि प्रकारको यातना वा बर्बरता सैह्य हुँदैन भन्ने अठोट गरिनुपर्दछ । आगामी दिनमा पुष्पा न्यौपानेको नियती अरु नेपाली युवतीहरुले भोग्नु नपरोस् । यस्तो नियति अरु नेपाली चेलीमाथि नदोहोरियोस् । यो दिवसमा यही प्रण गरौं ।