© २०२३
आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस । भ्रष्टाचारविरुद्धको दिवस मनाईरहँदा नेपालमा यत्रतत्र सर्वत्र भ्रष्टाचार मौलाएको छ । आराध्यदेव पशुपतिनाथको जलहरी राख्नेक्रममा ११ किलो सुन गायव भएको हाम्रो मुलुकमा भ्रष्टाचार कहाँ छैन ? भन्ने प्रश्न अस्वाभाविक पटक्कै छैन । अर्थात भ्रष्टाचार नभएको क्षेत्र चामलमा बियाँ खोजेजस्तो होइन सर्वत्र छरपष्ट छ । भगवानको गजुरमा समेत भ्रष्टाचार र अनियमितता हुने हाम्रो मुलुकमा अनियमितता गर्न नडराउने परिपाटी विकास भइरहेको छ । यो गंभीर विषय हो । नेपालमा भ्रष्टाचारको खोजबीन गर्ने निकाय नभएको चाहिँ होइन, धेरै छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण विभाग, महालेखा परिक्षक आदि आदि । जबसम्म समाजमा अनियमितताबाट आर्जित आम्दानीबाट प्राप्त सुख सुविधामा लज्जाबोध हुँदैन तबसम्म भ्रष्टाचारको यो अभ्यास चलिरहन्छ । भ्रष्टाचार र अनियमितताविरुद्धको जति नै सचेतनाका कार्यक्रम गरिएपनि त्यो निरर्थक हुँदैछ । नेपालमा भ्रष्टाचार एउटा जीवनपद्धती वन्दै गएको छ । भ्रष्टाचार गर्नु अपराध भन्दा पनि नगर्नु अपराध हुने अवस्था देखापरिरहेको छ । केही समय अघि पशुपतिनाथ मन्दिरमा ११ किलोको जलहरी लगाउने कुरामा भ्रष्टाचारको समाचार सेलाउन नपाउँदै महालेखाकै प्रतिवेदनले विद्युतीय शवदाह बनाउने क्रममा समेत अनियमितता भएको प्रतिवेदन प्रस्तुत भएको छ । आर्यघाट जीवनको अन्तिम सत्य हो । त्यहाँ पुगेपछि जोसुकैलाई शमसानको वैराग्य उत्पन्न हुनुपर्ने हो । त्यहाँ पुगेपछि एकपटक मानिस सदाचारका विषयमा सोच्न बाध्य वन्नुपर्ने हो तर त्यहाँ पनि भ्रष्टाचार भएको सुन्दा यो मुलुक त्यसै सतीले सरापेको देश होइन भन्ने लागेको छ अर्थात जन्म, कर्म, मृत्यु आदि जीवनका आरोह अवरोहका सवै क्षेत्रमा भ्रष्टाचारको गन्ध छ । भ्रष्टाचारको राग छ ।
विश्वका सवैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा नेपालको नाम पनि छ । यो नाम दुई चार बर्ष पहिले १२३ औं स्थानमा थियो । अहिले ११७ औं स्थानमा उक्लिएको छ । अर्थात नेपालमा भ्रष्टाचार मौलाउँदै गएको छ । भ्रष्टाचारमा प्रशासनिक र राजनीतिक व्यक्तिहरूको संलग्नता बढ्दै गएको छ । कागज मिलाएर गर्ने भ्रष्टाचार त कति हो कति त्यो कुनै अंकमा गणना हुँदैन । कागज नमिलाई हुने भ्रष्टाचार झनै बढेको छ । त्यसमाथि राजनीतिक भ्रष्टाचारले सिमा नाघेको छ । आज राजनीति भनेको अनेकन किसिमले सार्वजनिक सम्पत्तिको दोहन गर्ने माध्यम बनेको छ । जसरी हुन्छ कुनै पद प्राप्त गर्ने र त्यसलाई दुरूपयोग गर्दै अनियमित काम गर्ने परिपाटी अहिले आमरूपमा देखिएको छ । कुनैपनि व्यक्तिले इमानदारीपूर्वक आफूलाई गलत कामबाट अलग गर्न सक्ने स्थिति छैन । सार्वजनिक पद बिक्रीमा छन । किनेर पदमा पुगेका व्यक्तिको ध्यान सेवामा हुँदैन । तिनले जसरी पनि आफूलाई अनियमिततामा लगाउँछन् । अर्थात भ्रष्टाचार नेपालको पर्याय वनेको छ ।
अदालत, सरकारी अड्डा, स्थानीय तह भ्रष्टाचारका अखडा बनेका छन । भ्रष्टाचार मुलुकमा महारोगका रूपमा फैलिइसकेको छ । छानबिन र अनुसन्धान गर्ने निकायले समेत नभ्याउने गरी अनियमितता भइरहेको छ भने त्यसको समाधान सहज छैन । समाजमा फैलिएको अनियमितता र अराजकताले आमनागरिकलाई वितृष्णा भइसकेको छ । विडम्वना भ्रष्टाचारविरुद्धको दिवस मनाईरहँदा भ्रष्टाचार नियन्त्रण गर्ने सवैधानिक निकाय आज निष्प्रभावी भैरहेका छन । अख्तियारले ठूलो भ्रष्टाचारमा कारवाही अघि बढाउनै सक्दैन । सम्पत्ति शुद्धिकरण विभागको सकृयता छैन । महालेखा परिक्षकको कामै रिपोर्ट दिने हो । उसको रिपोर्टमात्र हेरे पुग्छ– आज मुलुकमा अनियमितताका श्रृंखला कसरी बढिरहेछन । हरेक बर्ष दिवसकै अवसरमा यही विषय उठ्छ तर खोइ सुधार ? जबसम्म नागरिक सचेत हुँदैनन तबसम्म यो रोकिने अवस्था छैन । तसर्थ भ्रष्टाचारविरुद्ध नागरिकमा चेतनाको खाँचो छ ।