© २०२३
वसन्त पोखरेल
पुराणकालीन ग्रन्थहरूमा शान्ति शब्दलाई निकै महत्व दिइएको छ । ओम् शान्तिले सबैजसो पानामा स्थान पाएको छ । मानिसका बोलीमा पनि यसले ठूलो स्थान पाएको छ । यसले के कुराको पुष्टि गर्छ भने त्यतिबेला पनि समाज अशान्त थियो । जहाँ अशान्ति हुन्छ त्यहाँ शान्तिको आवाज उठ्छ । त्यतिबेला समाजमा उथलपुथल मच्चिएको थियो । शासकहरूले आफ्नो राज्य कायम गर्न र प्रभूत्व जमाउन समाजमा शान्ति खल्बलिने खालका हरकतहरू गर्दै थिए । हतियारको उत्पादन गर्दैथिए । मित्रलाई पनि शत्रुपंक्तिमा राखेर उसलाई अधिनमा राख्ने प्रपञ्च गर्दैथिए । आफू सारा जमीनको सम्राट हुने सपना देखेका थिए । त्यसकारण सन्त महन्त, विद्वानहरूले शान्तिको नारा घन्काउनु परेको थियो । आफ्ना लिपिहरूमा यत्रतत्र शान्तिको शब्दलाई उजागर गर्नुपरेको थियो । जहाँ जान्थे ओम् शान्ति भन्थे । त्यसकारण पनि भन्न सकिन्छ कि त्यो बेला समाज निकै अशान्त थियो ।
मानव समाजको विशेषता नै हो कि उसलाई शान्ति चाहिन्छ । शान्तिसँग बस्न रुचाउँछ । बाँच्न रुचाउँछ । बरु दुई छाक खान नपाइयोस् तर, समाज, परिवारमा शान्ति नखल्बलियोस् भन्ने चाहन्छ । मानिसलाईमात्र हैन, पशुहरूले पनि शान्ति चाहन्छन् । चराचुरुंगीले शान्ति चाहन्छन् । आरामसँग कसैको दकस नआउने गरी पाहुर काडेर बस्न रुचाउँछन् । एउटा पशुको समाजमा अर्को प्रजातिको पशु आयो भने शान्ति खल्बलिन्छ । उनीहरूले या त प्रतिकार गर्छन्, सकेनन् भने स्थान छाडिदिन्छन् । चराहरूको कुरा पनि त्यस्तै हो । शान्ति सभ्यता हो । अनुशासन हो । तर, शान्तिलाई मुर्दा शान्तिमा धकेलेर जब मानिसले राक्षसी (लूट, दमन, शोषण, उत्पीडन आदि) प्रबृत्ति अवलम्बन गर्छ त्यसले अशान्ति निम्ताउँछ । विद्रोहलाई जन्म दिन्छ । हतियार उठाउन बाध्य पार्छ । यो हामीले नसुनेको कुरा हैन । नेपालमै कस्ता कस्ता घटना भए यो इतिहासमा लिपिवद्ध छ । राजाहरूले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा कैयौँ मानिसलाई मारे । सगोत्रीहरूलाई पनि बाँकी राखेनन् । राणाहरूले मानिस मारे । आफ्नै भाइ छोरा खलकलाई कत्लेआम गरेर शासक बने । विमति राख्नेलाई नेटो कटाए । जनतालाई लूट्नुसम्म लूटे । यी सबै अशान्तिका झलकहरू हुन् ।
भनिन्छ कुनैबेला पृथ्बीमा सत्य युग थियो । सत्य युगमा मानिसकाबीचमा उत्तमप्रकारको भाइचारा कायम थियो । एकले अर्कालाई शोषण गर्ने प्रथा थिएन । उत्पादन तथा वितरण प्रणाली समाजवादी प्रकारको थियो । मिलेर उत्पादन गर्ने, मिलेर बस्ने, बाँडेर खाने गर्थे । यसलाई भौतिकवादी दार्शनिकले आदीम साम्यवादी युग भनेर ब्याख्या गरेका छन् । त्यतिबेला मानव समाजको हर्ताकर्ताको रूपमा आमाहरू थिए । आमाको गोत्र चल्थ्यो । त्यहि आदीम साम्यवादी युगलाई मानिसहरूले सत्य युग भनेका हुन् । समाजवादी उत्पादन तथा वितरण प्रणालीमा मानिसले मानिसको शोषण गर्दैन । किनभने भात भान्सा साझा हुन्छ । कसैको निजी सम्पत्ति नहुने भएकोले सम्पत्ति संकलन गर्नु पर्दैन । चोरी, डकैती, लूटपाट गर्नु पर्दैन । हामीले देख्छौँ पिकनिकहरूमा रमाइलोमात्र हुन्छ । सहभागीहरूबीच कुनै झैझमेला हुँदैन । भोजहरूमा सबैको खाना एकै प्रकारको हुन्छ । सहभागीहरू हाँस्दै भोज खान्छन् । राजनैतिक दलहरूका सम्मेलन, अबिधेशनमा त नेताहरूले पनि आफूले खाएका भाँडा आफै माझेर भान्सामा लगेर दिन्छन् । समाजवाद त्यस्तो हुनेहुँदा त्यहाँ मानिसले कुनै प्रकारको शोषण, दमन गर्ने दर्कार पर्दैन ।
दास मालिक युगको सूत्रपात भएपछि मानिस महत्वाकांक्षी बन्दै गयो । कविलाहरूमा गएर लूटपाट गर्ने, त्यहाँका कमजोर मानिसलाई अधीनमा राखेर कजाउने, आफूहरू मालिक बन्ने प्रकारको समाज विकास भयो । कविलाहरूलाई राज्यको दर्जा दिन थालियो । वलिया मानिसले आफूलाई राजा भनाउन थाले । निजी पूँजी संकलन गर्न थालियो । यसरी संकलन गर्ने क्रममा मातृसत्तात्मक समाजवादी उत्पादन तथा वितरण प्रणाली समाप्त पारियो । पितृसत्ता लागू गरियो । यहि दास मालिक युगबाट मानव समाजमा शान्ति भंग भयो । समाज अशान्त रहन गयो । एकले अर्कोलाई लूट्ने, शोषण गर्ने, दमन गर्ने परिपाटी बस्यो । हर्ताकर्ताहरू सामन्त बन्न पुगे । आफूहरूलाई देवताको प्रतिनिधि भएर आएको दाबी गर्न थाले । आफ्नो विरोध गर्नेलाई राज्यलेमात्र हैन, देवताले पनि सजाय दिन्छन् भन्दै तर्साइयो । पाँच प (पाप, पुण्य, पूर्वजन्म, पुनर्जन्म, पुर्पुरो) को नामबाट मानिसलाई तर्साउने रणनीतिको विकास भयो । कमजोरहरूलाई विभिन्न तल्लातहका काममा जबरजस्ती लदाउन थालियो । उत्पादनका काममा लगाउने र फाइदा आफूले लिने काम भयो । ब्राह्मण, क्षेत्री, बैश्य, सूद्र भनेर वर्ण किटान गरी उनीहरूको लागि उपल्ला र तल्ला तहका काममा लगाउन थालियो । सामन्ती राजाहरूले भनेको नमानेमा भौतिक कारवाही गर्ने नीति बनाइयो । राजालाई शासकको दर्जामात्र दिइएन, उसले मान्छे मार्न पाउने अधिकार पनि सुरक्षित राख्यो ।
मनुस्मृतिको रूपमा आएको संबिधान मानव सभ्यताको सबैभन्दा पहिलो संबिधान हो । यो संबिधानले बलिया सामन्तलाई राजा महाराजा र रक्षक भनेर उपाधि दियो । त्यहि संबिधानले जातपातको विभाजन ग¥यो । काम अनुसारका नाम र जातहरू राखिँदै गयो । जुत्ता सिलाउनेलाई सार्की, भाँडा बनाउनेलाई कामी, कपडा सिलाउनेलाई दर्जी आदि भन्न थालियो । मानिसको वर्गीय विभाजनलाई यसले अझ बलियो बनायो । एउटा समाजमा शासक र शासित गरी दुई वर्गका मानिसहरू बनाइयो । यस्तो अवस्था रहेपछि त्यहाँ स्वभाविक रूपमा अन्तरविरोध हुन्छ । त्यहि अन्तरविरोध नै अशान्ति हो । समाजमा शान्ति कायम राख्ने हो भने सबैभन्दा पहिले मानिसको वर्ग विभाजन गर्ने अन्तरविरोधको जरो उखेलेर फाल्न सक्नुपर्छ । त्यो नफालेसम्म शान्ति भन्ने कुरा शब्दमा मात्र सीमित रहन्छ । त्यहाँ कहिल्यै पनि शान्ति आउँदैन । हो, मसानघाटको शान्ति भने आउन सक्ला । अहिले माओवादीले दश बर्षसम्म सञ्चालन गरेको विद्रोह शान्तिमा परिणत भयो भनेर जुन ढंगले झ्याली पिटिएको छ त्यो पनि मसानघाटको शान्ति नै हो । किनभने त्यसले वर्ग विभाजनको खाडल पुर्न सकेन ।
आज विश्व शान्ति दिवस हो । शान्ति शब्द सबैका लागि कर्णप्रिय लाग्छ । तर, शान्ति छ कहाँ ? आज हरेक मानिस उकुसमुकुस छ । समाज उकुसमुकुस छ । बलियाहरूले कमजोरको खान लागेको गास खोसेका छन् । बास, कपास, शिक्षा, सुरक्षा, हक, अधिकार खोसेका छन् । देश चलाउने जिम्मा लिएकाहरू सीसीटीभी क्यामेरामा बाहिरी नजारा हेर्दै सुरक्षित दरबारमा सुरक्षा संयन्त्रको लक्ष्मण रेखाभित्र बसेर शान्ति, अमन चयन, विकास, समृद्धि आदिको भाषण गरिरहेका छन् । आम जनताका अगाडि विना सुरक्षा उभिन आउन सक्तैनन् । जनताका घरमा पसेर गुन्द्रीमा बस्न सक्तैनन् । किनभने उनीहरू जनताबाट असुरक्षित महशुस गरिरहेका छन् । जनताको हितमा काम गरिएको छैन भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ । हरेक देशको यहि अवस्था छ । हरेक शासकहरू सामन्तवादी संस्कारबाट मुक्त हुन सकेका छैनन् । शासकहरू अभिजात वर्गमा उक्लन चाहन्छन् । त्यसको लागि शासित वर्गलाई शोषण गर्नैपर्छ । शोषण नीतिलाई उनीहरूले बैधानिक बनाइरहेका छन् ।
समाजमा अशान्तिको विष रोप्ने अरू कोही नभएर शासकहरू नै हुन् । प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध कुनै सामान्य मानिसले गरेका होइनन् । त्यो सबै शासकहरूको महत्वाकांक्षा थियो । नेपालमा अहिले शान्ति छाएको छ, संबिधान बनेको छ, जनताले चुनेका प्रतिनिधिबाट नयाँ स्थायी चरित्रको सरकार बनेको छ भनिन्छ । तर, नेपाली समाज उकुसमुकुस छ । निर्मला पन्तलाई नेताहरूले भन्ने गरेको शान्तिले नै बलात्कार गरेको हैन र ? त्यसैले शान्ति दिवसको अबसरमा राज्य परिचालक नेताहरूले थोरै भए पनि अन्तरविरोधका खाडलहरूलाई पुर्न थाल्नुपर्छ । वर्गविभेदलाई विस्तारै मेट्ने अभियानमा लाग्नुपर्छ । जनतलाई विश्वास गर्न सिक्नुपर्छ । उनीहरूसँग हातेमालो गरेर अघि बढ्न सक्नुपर्छ । शान्ति दिवसको यहि कामना ।