© २०२३
दिनानाथ पौडेल
साँच्चै भन्ने हो भने नेपालको इतिहासमा बलात्कार बिरुद्धको क्रान्तिको बिगुल कञ्चनपुर निवासी हजुरआमा– आमा– दिदीबहिनीहरूले फुकेका छन् । रातो सारीमा ढल्की ढल्की नाच्ने हिन्दुनारीहरूको महान चाड तीजको दिन १३ बर्षीया पन्तको बलात्कारपछि हत्याको शिकार बन्न पुगेकी निर्मलाको मृतआत्माले न्याय तथा नेपाली नारीहरूको सुरक्षाको प्रत्याभूतिको माग राख्दै कालो पहिरनमा गरिएको सडक संघर्षले गहिरो अर्थ राख्छ । नेपाल धर्ती महिला हिंसा, बलात्कारको घटनाको दर हेर्दा एकदमै असामान्य देखिँदै छ । दैनिक ३ जना बालिका बलात्कृत हुन्छन् भन्ने तथ्यांकले छोरी सन्तान भएकाहरूलाई एकातिर नराम्ररी झस्काइदिएको छ भने अर्कोतर्फ पुरुषप्रधान देशको कुरूप तस्बिर प्रस्तुत गरेको छ । बलात्कारीलाई फाँसीको सजायको चर्को आवाज उठिरहेको बेला रूपन्देहीमा भदौ २९ गते पुनः १३ बर्षीया बालिका बलात्कृत भएको समाचार आएको छ भने काठमाडांैको गेष्टहाउसमा बलात्कारपछि हत्याको घटना । नेपालको इतिहासकै एकदमै शक्तिशाली सरकार, राजनैतिक दलहरू, नागरिक समाज तथा मिडियाको अस्तित्व मजबुत देखिँदा पनि स्त्रीजातिमाथिको यो निर्मम अत्याचारको घटनामा कमी नआउनु विडम्बनाको बिषय बन्नपुगेको छ ।
नेपाली अखबारहरू बलात्कार र महिला हिंसाका घटनाहरूले भरिएका छन् । भर्खरै राज्यले बाल दिवस २०७५ को अवसरमा सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा कृषि क्षेत्रको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगिता आयोजना गरेर बाल दिवस मनाएको छ । तर दुर्भाग्य, त्यहि बक्तृत्वकला प्रतियोगितामा सुखी नेपाली बारे आफ्ना भनाई राखी घर फर्कीरहँदा एक बालिका यौनहिंसा या भनौ बलात्कारको शिकार बन्ने डरलाग्दो स्थिति यहाँ देखिँदै छ । नौ महिने बालिकादेखि सत्तरी बर्ष नाघेका वृद्ध महिलामाथि भएको बलात्कारको घटना सुन्दा घटनाका सम्भावितकारण औल्याउने बौद्धिक वर्गहरूसमेत बिलखबन्दमा परिरहेका छन् । बिद्यालयमा अध्ययनरत बालिका र किशोरी बिद्यार्थीहरूदेखि अर्धबैँसे नारीहरू त बलात्कारको उच्च जोखिमभित्रका समूहअन्तर्गत रहेको सरकारी तथ्यांकले देखाएकै छ ।
सरकारी तथ्यांकअनुसार प्रतिबर्ष १० प्रतिशतका दरले बृद्धि भइरहेको महिला बलात्कारका कारक तत्वहरू बारे चिरफार गरौँ । प्रथम, नेपालमा मौलाउँदै गइरहेको आसेपासे पूँजीबाद (क्रोनी क्यापिटलिज्म) ले आफ्ना नजिकका नातेदार र भाइसाथीहरूको अपराधलाई ढाकछोप गरि दोषीलाई उन्मुक्त दिने कुसंस्कार नेपाली राजनीतिको मौलिकताको रूपमा मजबुद पार्दै गइरहेको द्योतकको रूपमा बलात्कारलाई लिन सकिन्छ । नेपालका प्रायजसो सबै राजनैतिक दलहरूले आफ्ना कार्यकर्ताहरूको कुकर्मलाई लुकाई सामाजिक न्याय निमोठ्नप्रति उद्धत देखिएकाले समाजका तल्लोवर्गको प्रतिनिधित्व गर्ने, अझ भनौ पहुँचविहिन स्त्रीहरू तथा उनीहरूका छोरीहरू बढी बलात्कृत भइरहेका छन् । सामाजिक न्यायको सिद्धान्त नेपालमा टाट पल्टिटएकै कारणले बलात्कार अनि हत्याको श्रृंंखला बढिरहेको छभन्दा अत्युक्ति नहोला ।
दोस्रो, हाम्रो समाजमा महिलामाथि हँुदै आइरहेको दुव्र्यवहारको विकृतस्वरूप कालान्तरमा बलात्कारको रूपमा प्रकट भइरहेको छ । “केटी त्यस्तै भएर नै केटाहरूले जिस्काउँछन्, असल केटीलाई कसैले केहि गर्दैन” भन्ने भनाई भित्र हाबी भएको पुरुषवादी सोंचले निर्दोष किशोरीको उजुरी वा प्रतिवाद गर्ने नैतिक सहसलाई निश्तेज बनाउने हुँदा पनि बलात्कारी सोँचलाई बढावा दिइरहेको छ । दुव्र्यवहार गर्ने पुरुषहरूलाई उचित सल्लाह सुझाव वा दण्ड प्रशासनबाट हुन नसक्दा एक निर्दोष किशोरी बलात्कारको शिकार भइरहेकी छन् । आफ्नै आमा बुबालाईसमेत पुरुष साथीबाट भएको दुव्र्यवहारभन्दा उल्टै त्यस्ताको संगत किन गरेको भन्दै हप्काई खाने मनोविज्ञानलेसमेत किशोरीहरूलाई दबाइरहेको छ, जुन अन्त्यमा बलात्कारजस्तो जघन्य अपराधको रूपमा देखा परिरहेको छ । तेस्रो, चलचित्र, टेलिभिजन सिरियलमा देखाइने बलात्कारका दृश्य, नारीको शरीरको अर्धनग्न प्रस्तुति, नारी पात्रलाई पिछा गरेको आदिजस्ता दृश्यहरूलेसमेत सानै उमेरका पुरुष दर्शकको मानसपटलमा त्यस्तो व्यवहारलाई सामान्यीकरण गरि वास्तविक जीवनमा नै उतार्न प्रेरित गरिरहेको छ । अझ अश्लील तस्बिर, साहित्य तथा यौनजन्य पोर्न मुभिजहरूले त बाल मस्तिस्कमा एकदमै नकारात्मक प्रभाव जमाउन पुगेको छ, फलस्वरूप यौन हिंसा तथा बलात्कार नेपाली समाजमा डरलाग्दो गरि बढीरहेकोछ । त्यसैगरी यौनबद्र्धक औषधि एवम् मदिरा सेवनले पनि केहि हदसम्म नारी हिंसालाई बढावा दिइरहेको तथ्य हामीसामु छर्लंगै छ । चौथो, अर्थोपार्जनको लागि परिवारका पुरुष सदस्य बिदेशिनु पर्ने वाध्यात्मक अवस्थाको अनुचित फाइदा उठाउँदै छरछिमेककै चिनेजानेका वा आफन्तहरूबाटै बालिकाहरू बलात्कृत भएका घटनाहरू दिनानुदिन समाचारमा आइरहेका छन् । नेपालको अर्थतन्त्रलाई धानेको ठानिएको बैदेशिक रोजगारले सामाजिक तथा पारिवारिक सुरक्षामा चुनौती थपेको उदाहरणको रूपमा बढिरहेको यौन हिंसा, बलात्कार अनि हत्याका घटनालाई लिन सकिन्छ ।
पाँचौ, परिवारको असावधानी, अभिभावकीय नियन्त्रणमा कमी, बालिकाहरूको हेलचेक्राइ, अपरचित व्यक्तिहरूसंग जोडिएको फेसबुके सम्बन्धहरूले पनि स्त्री सुरक्षालाई चुनौती दिइरहेका छन् । बालिकाहरूलाई एउटा चकलेट तथा युवतीहरूलाई रोजगारको प्रलोभनमा पारी भइरहेका सफल र असफल बलत्कारका प्रयासहरू प्रशस्तै भेटिन्छन् । आफूलाई नपर्दासम्म केहि नबोल्ने वा भनौ तैँ चुप मै चुपको स्थितिमा रहने आम नेपलीहरूको स्वार्थी, आत्मकेन्द्रित स्वभावले धेरै थोरै बलात्कारी मनोबिज्ञानलाई उत्साहित गरिरहेकै छ ।
“दोषीलाई कारबाही गर”, “बलात्कारीलाई फाँसी देउ” भन्दै नारा जुलुस गर्नेजस्ता प्रतिक्रियात्मक गतिविधिलेमात्र बलात्कारका घटनामा कमि आउने छैन । पुरुषप्रधान सोच अर्थात् पुरुष सर्वोच्चता हावी भइरहने, नारीका अंगहरूलाई उपभोग्य वस्तुको बिम्ब बनाउने पूँजीबादी सोंच उत्कटमा रहने, नारी दुव्र्यवहार र हिंसालाई सामान्यीकरण गर्ने, अरू कसैको छोरी बुहारी बलात्कृत हँुदा मौनता साँध्नेजस्ता घातक प्रवृत्तिको उचित सल्यक्रियालेमात्र बलात्कारको घटनालाई कम गर्नेछ । अन्यथा केन्द्रिय तथ्यांक विभागको प्रक्षेपणअनुसार नेपालमा अहिले १२१ छोराको जन्म हँुदा १०० छोरीको जन्म तथा थापाथलीस्थित प्रसुती गृहमा सरदर ५४ प्रतिशत छोरा र ४६ प्रतिशत छोरी जन्मने आँकडाबाट लैंगिक असमानताको समस्यासँगै भविष्यमा बलात्कारको घटना महामारीकै रूपमै बढ्ने ठोकुवा गर्दा अनुचित देखिँदैन ।
अब समाधानका कुरा गरौँ । हरेक पुरुषको मस्तिष्कले नारीलाई जीवनको खानीको रूपमा आत्मसात् गर्नु आवश्यक छ । यौन हिंशामा होम्मिनुपूर्व आफ्नी आमाको आकृति ती कसैको अबला छोरीमा प्रतिबिम्बित गर्नसके यौन कामुकता चेतनामा, अनि यौन आवेग बिबेकमा बदलिन सक्छ । नारीहरू सुरक्षित भएर जिउने वातावरण बन्न सक्छ । समाज, राष्ट्र, मानवता र प्राकृतिक पर्यावरणलाई अतुलनीय योगदान दिन सक्ने नेपाली बालिकाहरू र नारीहरू बलात्कार र हत्याको शिकार हुनबाट सुरक्षित हुन् सक्दछन् । के एउटा बलात्कार सम्बन्धि लेख कुनै पत्रिकामा छाप्दैमा पुरुषमा नारी सुरक्षा र आवश्यकताको जागरण आउन सक्छ त ? अहँ, त्यसो पटक्कै होइन । यस्तो जागरण आउनुपूर्व महिला उत्पीडन, हिंसा, बलात्कार, चित्कारका आवाजहरूले बस्ती बस्ती गुन्जन जरुरी छ । त्यो आवाजले बलात्कारी सोंचहरूलाई पूर्णतः भष्म पार्नु आवश्यक छ । प्रत्येक व्यक्ति, परिवार टोलटोल समाज, गाउँपालिका, नगरपालिका, प्रदेशले अनि नेपाल सरकारले पुरुष जागरण अभियानमार्फत एक बालकमा, छोरोमा अनि पुरुषमा नारी आवश्यकता र महानता बारे नविन सोच ल्याउनु जरुरी छ । नरनारी जीवनका दुई पांग्रा, एक आपसका परिपुरकको रूपमा हरेक पुरुष मस्तिष्कमा रोप्न सकेमामात्र नारी हिंसा, बलात्कारको घटना रोक्न सकिन्छ ।
अन्त्यमा, बलात्कारबिरुद्ध जुनस्तरबाट आवाज उठ्नु पर्दथ्यो, या भनौं आफ्ना आमा, दिदीबहिनी, छोरी चेलीबेटीहरूको सुरक्षाको सवाललाई लिएर पुरुषहरू हृदय खोलेर जसरि अगाडी आउनुपर्दथ्यो त्यसरी नआउनुमा पुरुषप्रधान चेत नै हाबी देखिँदै छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली समाजमा एकैनासले देखिएका महिला हिंसा, दुव्र्यवहार, अत्याचार, बलात्कार र हत्याका घटनाबिरुद्धको आवाजले देश आज जुरुक्क उठ्नु पर्दथ्यो । बालिका, किशोरी तथा नारी सुरक्षाका लागि राणा शासन एवम् पञ्चायती व्यवस्था अन्त्य तथा गणतन्त्र स्थापना गर्दा भएका आन्दोलनभन्दा झन् सशक्त आन्दोलनको खाँचो देखियो । कञ्चनपुर निवासी न्यायप्रेमी समुदायले महिला हिंसाबिरुद्धको आन्दोलनको बिगुल फुक्दा अन्य नेपालीहरूले कानमा तेल हालेर बस्न मिल्ला र ? बर्दघाट– १३ नवलपरासी