© २०२३
बुटवल,२० मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ को सोमबार राति सम्पन्न खेलमा दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै ब्राजिल क्वार्टरफाइनल प्रवेश गरेको छ ।
स्टेडियम नाइन फोर सेभेनमा सोमबार राति सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा पहिलो हाफमा बनाएको अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै ब्राजिलले सानदार जित निकालेको हो । भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले एक–एक गोल गर्दै ब्राजिललाई जित दिलाए ।
खेलको सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारेको थियो ।
दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारे ।
एसियाली टिममाथि हावि भएको ब्राजिलका लागि २९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३–० बनाए ।
त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथोे गोल गरे ।
दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काएका थिए ।
जितसँगै ब्राजिलले अब सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।
सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल २०१८ मा क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो ।