© २०२३
दिल साहनी
राज्य राम राज्यभन्दा धेरै राम्रो पनि हुँदो हो । तर हामीले पढेका पुस्तक र सुनेका कथाले हाम्रो मनमा रावणको राज्यप्रति नकारात्मक र राम राज्यप्रति सकारात्मक धारणा उत्पन्न गराउँछ । अहिले नेपालका रावणको रावण राज्य त छैन तर केपी ओली र प्रचण्डहरूको राज्य चलिरहेको छ । रावणको राज्यजस्तो राज्य । फरक यति कि रावणले त बरु सुनको लंका बनाएको थियो । यिनीहरूले सुनको लंका त के पितलको लंका पनि बनाउने भएनन् । रावणले बरु सीताको अपहरण गरे पनि बाइज्जत अशोक बाटिकामा चौविसै घन्टा राक्षसीनी भए पनि महिलाहरूकै पहरामा राखेको थियो । केपी ओली र प्रचण्डको नेपालमा बालबालिकादेखि बृद्धसमेत सुरक्षित छैनन् ।
मुलुकभरि हत्या बलात्कारका घटनाले व्यापकता ल्याएका समाचारले समाचारपत्रका पाना भरिएका हुन्छन् । मुलुकमा साँच्चिकै कम्युनिष्टको सरकार भएको भए दिनदिनै मुुलुकको एक न एक ठाउँमा बालिका युबती र यहाँसम्म कि बृद्धाको हत्या बलात्कार भएको हृदयविदारक घटना सुन्न जान्न र पढ्न पर्ने थिएन । महिलाहरू सडकमा बलात्कारीलाई फाँसी दे भन्दै चिच्चाउँदै हिँड्नु पर्ने थिएन । मुलुकमा कम्युनिष्टको शासन भएको भए चेलीबेटीहरू यसरी यति असुरक्षित हुनुपर्ने थिएन ।
प्रायजसो अपराधीहरूको हत्या बलात्कारको घटनामा संलग्नता माथिसँग जोडिन्छ । हिँजो हामी माथि भन्नाले नारायणहिटी दरबार बुझ्दथ्यौं । आज हामी माथि भन्नाले सिंहदरबार वा बालुवाटार बुझ्दछौँ । हिँजो नारायणहिटी दरबारबाट जति ठूलो अपराध भए पनि त्यो त्यत्तिकै सामसुम हुन्थ्यो । आज बालुवाटार वा सिंहदरबारको कथा त्यही हो । कुरा लहरो तान्दा पहरो गर्जेजस्तै तलबाट माथिसम्म कुरा पुगेपछि जति ठूलो जघन्य अपराध गरिएको भए पनि त्यो बीचमै पटाक्षेप हुन पुग्दछ । ३८ किलो सुनको कथाजस्तै । हिजो नमिता सुनिता काण्ड हुँदा कुरा दरबारसम्म जोडिन जाँदा त्यो त्यत्तिकै सामसुम भयो । आज निर्मला पंतको हत्या बलात्कारमा संलग्न मान्छेका नाम सरकारसँग जोडिएका मान्छे पर्ने भएपछि त्यसलाई सामसुम पार्न अनेक नाटक मञ्चन हृुँदै गएको स्पष्ट देखिन्छ । चोरलाई चौतारी साधुलाई सुली भनेजस्तै एकजना पागललाई अपराधीको रूपमा खडा गरेर असली अपराधीलाई बचाउने चाल चलिँदै छ । ऐन कानूनलाई छलिँदै छ । इतिहास दोहोरिएको छ । माक्र्सले भनेजस्तै केही भिन्न प्रकारले । केही भिन्न तरिकाले । भन्न त कांग्रेस भन्दछ यो मुलुकमा यतिबेला कम्युनिष्टको शासन छ । कम्युनिष्टहरूले कम्युनिष्टहरूको तानाशाही व्यवस्था सञ्चालन गर्दैछन् । यदि मुलुकमा साँच्चिकै कम्युनिष्ट शासन भएको भए उसले किन मुलुकमा खोला नाला नदी ताल तलाउ विदेशीलाई भेटी चढाउँथ्यो र ? यदि मुलुकमा साँच्चिकै कम्युनिष्टको सरकार भएको भए मुलुकको अपर कर्णाली, अरूण तेस्रोजस्ता अत्यन्त महŒवपूर्ण नदीहरू किन विदेशीका हातमा भेँडाको मोलमा बिक्री गरिन्थ्यो र ? यदि मुलुकमा कम्युनिष्टको सरकार भएको भए किन एक पछि अर्को राष्ट्रघाती सन्धि सम्झौता गरिन्थ्यो र ?
मुलुकमा कम्युनिष्टको शासन भएपछि जनताको ढाड नै सेक्ने गरी किन मूल्यबृद्धि हुन्थ्यो ? यदि मुलुकमा कम्युनिष्टको शासन भएको भए किन नेपाली युवाहरूलाई विदैशिक रोजगारको लागि दिनहुँ हजारौं लार्खाैको संख्यामा विदेशिन परिरहन्थ्यो ? गोरखा भर्तीमा लागेर हाम्रा कलिला युवाले पेटको लागि विदेशी भूमिमा अरूको स्वार्थको लागि ज्यान गुमाउन अवश्य पर्ने थिएन । मुलुकमा कम्युनिष्टको सरकार भएको भए गरीबकोे भाग खोस्ने र भ्रष्टाचारी तस्कर र दलाल पूँजीपति तथा सामन्तलाई पोस्ने काम हुने थिएन । मुलुकमा कम्युनिष्टको सरकार भएको भए दिनदिनै महंगी बढेर गरीब जनताको ढाड सेक्ने थिएन । यसैले भन्न सकिन्छ मुलुकमा ठूलो परिवर्तन भएर पनि केही परिवर्तन भएको छैन । यत्ति हो हिँजो राणाहरूको हुकुम हैकम चल्दथ्यो । हिँजो राजा महाराजाहरूको चहलपहल थियो । आज छोटे राजाहरूको चहलपहल छ । उनीहरूकै हुकुम हैकम चल्दछ । आम जनताको लागि त जुन जोगी आए पनि कानै चिरेको ।
मुलुकमा कम्युनिष्टको शासन भएको भए किन एउटा कम्युनिष्ट पार्टी अर्को कम्युनिष्टमाथि हिटलरी शैलीमा दमनमा उत्रिन्थ्यो र ? एउटा कम्युनिष्ट पार्टीले अर्को कम्युनिष्ट पार्टीमाथि दमन चलाउने सन्दर्भमा खुँखार पञ्चले भन्दा पनि अझ क्रूर हतकण्डा अपनाउँथ्यो र ? स्पष्ट छ यतिबेला मुलुकमा दलालहरूकै हुकुम र हैकम छ । देशभक्त शक्ति यतिबेला पाखा पारिएका छन् । किनारा लगाइएका छन् । दलाल अर्थात राष्ट्रघाती शक्ति नै शक्ति र सत्तामा पुगेका छन् । यतिबेला हरेक क्षेत्रमा उनीहरूकै रजाइ छ । उनीहरूकै चकचकी छ । उनीहरूकै जगजगी छ । दलालबर्गको प्रमुख काम भनेको विदेशी शक्तिको बुई चढी देशभक्त र जनवादी शक्तिमाथि चर्को दमन चलाउनु हो । उनीहरूमाथि फाँसीवाद शासन चलाउनु हो । आफ्नो देश र देशका जनतालाई लुटेर विदेशी प्रभुको सेवा गर्नु हो । उनीहरूको सेवा गर्नु होे । उनीहरूको हितको रक्षा गर्नु हो । अर्थतन्त्र विदेशीको जिम्मा लगाउनु हो । उनीहरूकै स्वार्थ रक्षा गर्न उनीहरूको ईशारा र खटन पटनमा चल्नु हो । लोकतन्त्रको नाममा फाँसीवाद चलाउनु नै दलाल पूँजीवादको खास विशेषता हो । हिँजो दलाल पूँजीवादको नेतृत्व कांग्रेसले गर्दथ्यो भने आज आफूलाई नम्बर वन कम्युनिष्ट भन्ने दलाल शक्तिहरूले गरिरहेका छन् । मुलुकमा यतिबेला यस्तो भाँडभैलो भएको पनि यही कारणले हो । मुलुकमा दलाल पूँजीवादको हुकुम र हैकम रहेसम्म हुने भनेको यस्तै कुरा हो ।
बर्तमान सरकारको ठेकदारहरू भन्दछन् राजनैतिक क्रान्ति समाप्त भयो अब आर्थिक क्रान्ति गर्नुपर्दछ । मुलुकलाई आर्थिक समृद्धिको दिशातिर लैजानु पर्दछ । कुरा सुन्दा मीठो जस्तो लाग्दछ । राम्रो जस्तो लाग्दछ । तर यस भनाइमा कुनै तुक छैन । कुनै अर्थ छैन । जनताको आँखामा छारो हाल्न भनिएको यो अभिव्यक्ति आफ्नो शोषण दमनकारी सत्ता लम्बाउन चाहने हथ्कण्डा बाहेक अरू केही होइन । मुलुकमा स्वभाविक विकास त निरन्तर भइरहने प्रक्रिया हो । त्यस्तो विकास हिँजो राणाकालमा पनि भएको थियो । हिँजो पञ्चायत कालमा पनि भएको थियो । आज कांग्रेस कालमा पनि भइरहेकै थियो । आज केपी प्रचण्डकाल पनि भइरहेकै छ । तर ओली प्रचण्डले मुलुकलाई जुन तरिकाले समृद्धिमा लैजाने भन्दैछन् त्यो दलाल पूँजीवादी व्यवस्थामा संभव छैन । प्रष्ट छ दलाल पूँजीवादले सेवा गर्ने भनेको विस्तारवादको हो । साम्र्राज्यवादको हो । सामन्तवाद हो । दलाल पूँजीपति बर्ग हो । यस व्यवस्थाले यदि समृद्धि गर्दछ भने बिस्तारवादको समृद्धि गर्दछ । साम्राज्यवादको समृद्धि गर्दछ । दलाल पूँजीवादको समृद्धि गर्दछ । सामन्तवादको समृद्धि गर्दछ । श्रमजीवी जनताको यसले कहिले समृद्धि गर्न सक्दैन । आज मुलुकका लाखौं लाख युवा विदेशीतिर पलायन हुनुको एउटा खास कारण हो मुलुकमा दलाल पूँजीवादी शक्ति सत्तामा पुग्नु । हिँजोको सामन्तवाद आज नयाँ पहिरनमा खडा हुनु । हिँजो यो मुलुकमा एक राजा थिए भने आज सयौं राजा भएका छन् । हिँजो यो मुलुकलाई एउटा राजा पाल्न त कति गाह्रो भएको थियो भने आज सयाँै राजाहरूलाई पाल्न कति गाह्रो भएको होला ? पुरानो सिंहदरबार देखि नयाँ सिहदरबारसम्मका राजाहरूलाई पाल्न कति गाह्रो भयो होला । यो एउटा लाटाले पनि सजिलै अनुमान गर्न सक्ने कुरा हो । मुलुकमा सामन्तवाद र दलाल पूँजीवादको अन्त्य नभएसम्म यो देशको मुहार फेरिन सक्दैन ।