© २०२३
बुटवल, १ मंसिर
पुर्व भलिबल खेलाडी छविलाल विश्वकर्मा संघर्षबाट जन्मेका नेता हुन् । सरल जिवनशैली र मृदुभाषी छवि बनाएका नेता विश्वकर्मा नेकपा एमालेका केन्द्रीय सचिवसमेत हुन । देशको धेरै राजनीतिक परिवर्तनको साक्षी विश्वकर्मा समाजमा रहेको सामाजिक, जातिय र लैगिक विभेद अन्त्यमा समेत धेरै लामो अन्तराल लागेको बताउँछन । ‘समाज सुधार लामो प्रक्रिया हो’– उनी भन्छन् ।
मानिसमा जबसम्म दलित मानसिकता हट्दैन उसमा परिवर्तन ल्याउन नसकिने उनको धारणा छ । आफनो युवा अवस्था र समाज सुधारमा गरेका योगदानप्रति उनी गर्व मान्छन् । कुनै बेला भलिबल खेलमा पोख्त उनी अहिले नेपाली राजनीतिमा पनि अग्रसर छन । आउने मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा रुपन्देही क्षेत्र नं १ बाट उम्मेदवारी दिएका उनी जितप्रति आशावादी छन । नेकपा एमालेबाट टिकट नपाएकै झोकमा नेकपा माओवादी र नेपाली काँग्रेस पार्टीको सहयोगमा स्वतन्त्र उम्मेद्वारी दिएका घनश्याम भुषाल उनको प्रतिद्वन्द्वी हुन् । एउटै पार्टीमा सहकार्य गरेर अघि बढेको उनीहरु दुवै अहिले एउटै पदका लागि लडाइमा छन् ।
वि.सं २०३७ सालमा तत्कालीन नेकपा (माले) बाट राजनीतिक यात्रा सुरु गरेका विश्वकर्मा २०३८÷३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए । विद्यार्थी राजनीतिसगै जातीय विभेदको आन्दोलनमा उनी सधै अग्रभागमा रहे । वि.सं २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ संगठन जातीय उत्थान मञ्चका संस्थापक तथा वि.सं. २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र वि.सं २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बने ।
एमालेको छैटौं महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका उनी सातौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज बने । उनी स्कुल समयमा नै खेलकुद मन पराउँथे । भलिबलसंगै खेलेका बुटवल बिपी चोकका ब्यवसायी गोपाल श्रेष्ठ विश्वकर्मालाई सरल ब्यक्तिको रुपमा चिन्छन् । कहिल्यै कडा आवाज ननिकाल्दै उनी साथीभाईसंग मिलनसार रहेको बताउँछन् । उचो कदका उनी भलिबलमा गर्ने गजबका सर्टको राम्रो प्रदर्शनकै कारण पहिचान बनाएका छन् । खेल जीवनमा जसरी नै राजनीतिमा पनि उनको सफलता मिलेको उनी ठान्छन् ।
दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बने । यसपटक भने उनी १ नम्बर क्षेत्रलाई राम्ररी बुझेको दाबी गर्छन् । बुद्ध मावली देवदह रहेको निर्वाचन क्षेत्रको विकासको खाका कोरेका उनी उत्तरी क्षेत्र र दक्षिण भेगलाई संगै लैजान चाहन्छन् । ‘यो क्षेत्रको विकास र समृद्धि नै पहिलो एजेन्डा हो’–उनले भने । बुद्धजन्मस्थल लुम्बिनीसंगै बुद्धमावलीलाई जोड्ने, यस क्षेत्रको उत्खनन गरी विश्व सम्पदा सूचीमा
सूचीकृत गराउने र बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य उनले सुनाए । अर्कोतर्फ कृषिको व्यवसायीकरण र उत्पादित वस्तुको बजारीकरण आवश्यक रहेको र त्यसका लागि सिंचाइ र कृषि सडकलाई प्राथमिकतामा राखेको उनले बताए । लोकतान्त्रिक गणतन्त्रको स्थापनाले सबै जात, वर्ग लिंगको शासन प्रक्रियामा पहुच बढाएको दाबी गर्ने उनी लोकतान्त्रिक व्यवस्थाअघि राज्यले उपेक्षा गरेको दलित वर्गको प्रतिनिधिका रुपमा आफु उभिएको दाबी गर्छन् । दलभन्दा माथि उठेर जातीय विभेद, वर्गीय विभेद र सामाजिक कुसंस्कारविरुद्ध काम गरेर सामाजिक समानता ल्याउन भूमिकामा आफु अग्रसर रहेको उनले बताए ।