© २०२३
बुटवल, २ बैशाख । बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको १२ दिनको २३ औ म्याचमा आयोजक वेष्ट्रन क्रिकेट एकेडेमी विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग, वेष्ट्रन क्रिकेट क्लब बुटवलको आयोजनामा मंगलबार भएको खेलमा वेष्ट्रनले प्यारामाउण्ट बोर्डिङ स्कुललाई ६ बिकेटले पराजित गरेको हो ।
नरैनापुर क्रिकेट मैदानमा भएको खेलमा प्यारामाउण्टले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ७ बिकेटको नोक्सानीमा ६१ रनको लक्ष्य खडा गरेको थियो । प्यारामाउण्टका बिराट रोक्काले २७ बलमा ३१ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन ।
वेष्ट्रनका श्रेयान्स ज्ञवालीले ३ तथा सुप्रिम कंडेलले २ बिकेट लिए । झिनो लक्ष्यलाई वेष्ट्रनले ८.१ ओभरमा केवल ४ बिकेटको नोक्सानीमा भेटायो । खराब शुरुवात गरेको वेष्ट्रनको ब्याटिङलाई चौथौ नम्बरमा फिल्डमा आएका अर्पण तिमिल्सिना र सुगम केसीले सम्हाले । अर्पणले १७ बलमा २५ तथा सुगमले १५ बलमा ११ रनको नटआउट पारी खेले ।
प्यारामाउण्टका आयुष चौधरीले २ बिकेट लिए । खेलमा वेष्ट्रनका श्रेयान्स ज्ञवाली प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि १४ वर्ष मुनिका खेलाडीहरुको १२ वटा टिमलाई दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।