© २०२३
उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजनामा बुटवलमा हुन लागेको तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन कृषि प्रवद्र्धनको तयारी तीव्र पारिएको छ । साना व्यवसायी र घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शन गर्नुका साथै नेपालीहरूको पर्व दशैं बजार मेलाबाट दर्शकले दैनिक उपभोग्यका सामानहरू सस्तो मुल्यमा खरिद गर्न सकुन् भन्ने मुख्य उद्देश्य प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएका छन् । असोज १९ गतेदेखि २८ गते सम्म संचालन हुने उक्त प्रदर्शनीमा ४ सय भन्दा वढि स्टल रहने छ भने धरहरा मुख्य आकर्षकको रूपमा रहने मुल आयोजक समितिका संयोजक एवं संघका अध्यक्ष प्रविण पाठकले जानकारी दिए ।
तत्कालिन भिमसेन थापाले वि.सं १८८२मा निर्माण गरेको धरहरा २०७२ सालमा आएको भूकम्पले पुर्ण क्षतिग्रस्त बनेको थियो । सोही धरहराको प्रतिकको रूपमा प्रर्दशनीमा दर्शकले चढेर अवलोकन गर्न मिल्ने धरहरा निर्माण गर्न खोजिएको अध्यक्ष पाठकले जानकारी दिए । बाँसैबाँसबाट तयार गरीने उक्त धरहरामा एक पटकमा ५० जना चढेर अवलोकन गर्न सकिने मुल आयोजक समितिका अध्यक्ष एवं पूर्व अध्यक्ष खिमनारायण पराजुलीले बताए । भारतबाट कालिगढ ल्याएर धरहरा बनाइँदैछ ।
प्रदर्शनीमा दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिवुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, अटोमोवाईल्स, मोबाइल सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, टेक्सटाईल, गार्मेट तथा फूटवेयर, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था होटल तथा रेष्टुरेष्टको स्टल रहने छ । प्रदर्शनीमा १५ देखी २० करोड सम्मको कारोवार हुने तथा ३ लाख दर्शक भित्राउने लक्ष्य लिएको वुधवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पाठकले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसीले वुटवलको आर्थिक विकासको लागि मेला महोत्सवको महत्वपूर्ण भूमिका हुने बताउँदै मिडिया क्षेत्रवाट यथेष्ट सहयोग हुने विश्वास दिलाए । पत्रकार सम्मेलनमा उद्योग व्यापार संघ बुटवलका वाणिज्य उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक सिताराम रसाईली, उद्योग व्यापार संघ बुटवलका उद्योग उपाध्यक्ष गोविन्द गैरे, प्रचार प्रसार उप समितिका संयोजक नेत्र रुचाल लगायतले विगतको प्रदर्शनी सफल बनाउन मिडिया क्षेत्रको सहयोग अतुलनिय रहेको बताउँदै यो प्रर्दशनी सबैका लागि भएकाले आआफ्नो क्षेत्रवाट सहयोग हुने अपेक्षा लिएको बताए ।
प्रदर्शनी उद्योग व्यापार संघ बुटवल, नेपाल राष्ट्रिय व्यापार संगठन केन्द्रिय कार्यालय काठमाडौको आयोजना र जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको सहआयोजनामा हुन लागेको हो । १ सय ५० सदस्यीय मुल आयोजक समिति, ५० सदस्यीय सल्लाहकार समिति तथा विभिन्न १६ वटा उप समिति गठन गरी तयारी तिव्र पारिएको संघका निवर्तमान अध्यक्ष खेम श्रीसले जानकारी दिए । प्रदर्शनी स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरी सरसफाइ, स्टल निर्मााणको काम शुरु गरिएको प्रचार–प्रसार संयोजक रुचालले बताए ।