© २०२३
तिलोत्तमा नगरपालिकाले रोजगारमूलक उद्योगलाई प्राथमिकता दिँदै विभिन्न योजना अगाडि सारेको छ । चालु आर्थिक वर्षमा बेरोजगार जनशक्तिलाई उद्योग स्थापनामार्फत रोजगारी प्रदान गर्ने लक्ष्य सहित नगरपालिकाले यस्तो योजना ल्याएको हो । यसका लागि लगानीकर्तालाई विभिन्न छुट सुबिधा समेत उपलव्ध गराइने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख वासुदेव घिमिरेका अनुसार न्यूनतम १० जना नगरबासीलाई रोजगारी दिने उत्पादनमूलक उद्योगहरू चालु वर्षमा सुरु भएमा आगामी ३ वर्षसम्म लाग्ने व्यावसायिक करमा २० प्रतिशत छुट दिइने छ । यसले उद्योगमा लगानी गर्न चाहनेहरू आकर्षित हुने र बेरोजगार जनशक्तिले नगरभित्रै काम पाउने उनले बताए ।
त्यस्तै कम्तीमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक चालु उद्योगको नाममा रहेको जमिनमा लाग्ने सम्पत्ति करमा १५ प्रतिशत छुट प्रदान गरिने घिमिरेले बताए । “नगरपालिकाले उद्योग व्यवसायमा लगानी बढाउन र यसमार्फत रोजगारी प्रवद्र्धन गर्नका लागि यस्तो नीति अवलम्बन गरिएको हो”–उनले भने । अपाङ्गता भएका व्यक्तिले संचालन गरेको उद्योग÷व्यवसायहरूमा तोकिएको करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले अवलम्बन गरेको छ ।
“उद्योगमैत्री वातावरण निर्माणका लागि नगरपालिकाले हरसम्भव प्रयास गर्नेछ”– नगर उप–प्रमुख जागेश्वर देवी चौधरीले भनिन् । नगरपालिकाले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्न विषयगत तालिमलाई एकीकृत अवधारणा अनुसार नियमित रूपमा सञ्चालन गर्न वडा नंं. २ र १५ वडा कार्यालयलाई ‘तिलोत्तमा नगर तालिम केन्द्र’ को रूपमा विकास गर्ने नीति लिएको छ । तालिम केन्द्रले सञ्चालन गर्ने तालिमबाट धेरैजना स्वरोजगार बन्ने समेत नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट प्रदान गरिने तालिमहरूलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष न्यूनतम पाँच सय जना युवा÷युवतीलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने नगरपालिकाको लक्ष्य छ ।
“नगरपालिकाले गतवर्ष सञ्चालन गरेको तालिमबाट पनि धेरैले सिपमूलक काम सुरु गरेका छन्, महिला, युवा युवतीहरूको सशक्तिकरण र उनीहरूलाई आत्मनिर्भरतर्फ उन्मुख गराउनु हाम्रो लक्ष्य हो”–नगर उपप्रमुख चौधरीले भनिन् । नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा उद्योग क्षेत्र शीर्षकमा एक करोड २१ लाख रकम विनियोजन गरेको छ । यसका अतिरिक्त असल औद्योगिक वातावरणका लागि आर्थिक ऐन मार्फत कर छुटको समेत व्यवस्था नगरपालिकाले गरेको छ ।