© २०२३
कृष्ण मल्ल/ कञ्चन (रुपन्देही)
रुपन्देहीको कञ्चन गाउँपालिका २ मटेरियाका मुसहरका तीन भाई शुक्रवार दिउँसो घर बनाउँदै गरेका भेटिए । घरको जग उठाउँदै गरेका शिवराज मुसहर, त्रिवेणी मुसहर र खदेरु मुसहर नयाँ घर बनाउन पाएको खुसी देखिए । माटोले छापेको गाहे र खरको छानेको छाप्रो थियो अब नयाँ घर बनाउँदै छौं तीन भाइ मध्ये त्रिवेणी मुसहरले भने । पानी पर्दा चुहिन्थ्यो, ओछ्यान सारेर सुत्नुपर्थ्यो, चामल भिज्थ्यो अब त त्यस्तो नहोला ।
केही बर्ष अघिसम्म जमिनदारको घरमा बस्दै आएका उनिहरुको आफ्नो नाममा एक बित्ता जमिन छैन । जमिनदारले दिएको भनेको १ कठ्ठा ४ धुर जमिनमा तीन भाइको परिवार बस्दै आएका छन् । त्यही जमिनमा उनिहरुले दुइ कोठाका दरले ६ कोठाको घर एउटै जगमा बनाइरहेका छन् । उनिहरु मजदूरी गरी जिविका चलाउँदै आएका छन् । कञ्चन गाउँपालिकाकै मुसहर बस्ती (बिजयनगर) मा १० घर बनिरहेका छन् । सिमान्तकृत जातीका लागि स्थानीय सरकारको कम लगानीमा चलिरहेको मुसहर आवास निर्माण कार्यक्रम अरु स्थानीय सरकारको सिकाइका लागि नमूना हुनसक्ने देखिएको छ । लक्षित वर्गकै सहभागीतामा भइरहेको यो कार्यक्रमले कम बजेटमा पनि स्थानीय सरकारले जनमुखी कार्यक्रम गर्न सक्छ भन्ने सन्देश दिएको छ ।
मुसहर गाउँ (वियय नगर) मा १३ घर रहेको कलमनाथ मुसहरले बताए । कलमनाथले घरको गाहे लगाई झ्याल, ढोकाको खापा लगाइसकेका छन् । पाइप लगाइ जस्ताको छानो लगाए उनको घर ओत लाग्ने लायक बन्छ । उनि श्रीमती सुकिया मुसहर, छोरा मिथुन मुसहर, बुहारी लक्ष्मी मुसहर र एक छोरीसँगै बस्दै आएका छन् । करिब ५ कठ्ठा सुकुम्बासी जमिन भएका कलमनाथको अधियाँ खेती गर्ने र काठ चिरानको मजदूरी हो । पुर्खौली रुपमा जमिनदारको घरमा हलिया बस्दै आएका उनले १५ बर्षदेखि छाडी यो ठाउँमा बसोबास गरेको बताए । दुइ कोठाको माटोको गाहे, खरको छानोसँगै जोडिएको भान्सा रहेको उनले नजिकै गाउँपालिकाको सहयोगमा नयाँ घर बनाइरहेका छन् ।
कञ्चन गाउँपालिकाले मुसहर आवास निर्माण शिर्षकमा १२ लाख बिनियोजन गरेपछि गाउँपालिका भित्रका उनिहरु जस्तै १३ जना मुसहर परिवारको घर बनिरहेको छ । केही सामान र मिस्त्री खर्च गाउँपालिकाले दिने र केही आफैले व्यहोर्नेगरी मुसहर आवास निर्माण कार्यक्रम शुरु गरिएको कञ्चन गाउँपालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले बताए । उक्त कायक्रममा सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरले २ लाख सहयोग गरेको छ ।
गाउँपालिकाका प्राविधिक नुरु पाण्डेले भवन डिभिजनले बनाएको बस्ती विकास अवधारणाको अनुसारको मापदण्डमा मुसहर आवास निर्माण गरिएको बताए । उनका अनुसार दुइ कोठाको घरमा जस्ताको छानो र ब्लकको गाहे छ । वडा नं. २ का अध्यक्ष शेरबहादुर थारुको पहलमा मुसहर आवास कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ । थारु बिहान उज्यालो भएदेखि नै आवास निर्माणमा लागिरहेको बताए । उनका अनुसार करिब १ लाखको सामान र मिस्त्री खर्चको व्यवस्था गरी उनिहरुको श्रमदानमा घर निर्माण भइरहेको छ । वडाध्यक्ष थारुले सामग्री, गिट्टी, बालुवा, सिमेन्ट गाउँपालिकाले दिने ब्लक घर धनीले बनाउने, पिल्लरका लागि पाइप र मिस्त्री ज्याला गाउँपालिकाले दिने, लेबर आफैले व्यवस्था गर्ने, जस्ता, पाइप र झ्याल गाउँपालिकाले दिने ढोका घरधनीले बनाउने गरेको बताए ।
गाउँपालिकामा ३४ घरधूरी मुसहरको रहेको छ । आर्थिक बर्ष २०७५÷०७६ का लागि मुसहर आवास कार्यक्रमका लागि पुनः १० लाख प्रस्ताब गरिएको छ भने गन्दर्भ जातीका लागि तीन लाख प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष गोकर्ण क्षेत्रीले बताए । उनले यो गाउँपालिका भित्र रहेका ८३ घरको खरको छानो हटाउने कार्यक्रम अन्तर्गत जस्ता वितरण गरिएको जानकारी दिए ।
गाउँपालिकाले बजेट बिनियोजन गरी मुसहर आवास कार्यक्रम चलिरहेको छ । गाउँपालिकाभित्र ३४ घर रहेकोमा अहिले १३ जना मुसहर परिवारको घर बनिरहेको छ । चरणबद्द रुपमा गाउँपालिकाले मुसहरका लागि घर बनाउने कार्यक्रमलाई निरन्तरता दिदै जाने नीति लिएको छ ।
गोकर्ण क्षेत्री
अध्यक्ष
कञ्चन गाउँपालिका, रुपन्देही
तस्वीर वडा नं. २ का अध्यक्ष शेरबहादुर थारु मुसहर आवास कार्यक्रम अन्तर्गत बनिरहेको घर अवलोकन गर्दै । तस्वीरः बुटवल टुडे