© २०२३
कपिलवस्तु, २७ पुस ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पश्चिम मैनिहवाकी उर्मिला रैदासलाई अहिले घर चलाउन कसैको मुख ताक्नु पर्दैन । २ महिना अघि व्यवसाय प्रबद्र्धनका लागि उनलाई आत्मनिर्भर समुहको सिफारिसमा गरिएको १५ हजार सहयोगले उनले अहिले सानो घुम्ती पसल सञ्चालन गरेकी छन ।
श्रीमान भगेलुको २०७७ सालमा मृत्यु भए पछि ५ सन्तानको पालन पोषणको जिम्मा उनले लिनु पर्यो । उनको नाममा भएको १४ धुर जग्गामा जनता आवास कार्यक्रमले दुई कोठे घर बनाईदिएको भए पनि खेती गरेर खाने अन्य जग्गा जमिनउनका नाममा छैन । श्रीमान हुदै उनले सानो टङ्कीमा घुम्ती पसल चलाउदै आएको भए पनि भगेलुको मृत्यु पछि पसल निरन्तर चलेन । पछिल्लो समय उनी गाउँमा बनेको सगरमाथा आत्मनिर्भर समुहमा आबद्ध भएकी छन । उनी अहिले समुहमा सचिव पदमा छिन । उनले चलाएको घुम्ती पसलमा उनी नियमित जसो खुद्रा सामाग्री सगै चिया, समोसा र पकौडा बनाउने गरेकी छन । जसबाट दैनिक १ हजार बराबरको कारोबार भएर ३ सय हाराहारीमा बचत हुने गरेको छन । जसबाट उनको अविवाहित रहेका २ छोरी र १ छोरा सहितको परिवारको पालनपोषण हुने गरेको छ । उनले घुम्तिी पसलको लगानी बृद्धि पनि गरेकी छन भने केही बचत पनि संकलन गरेकी छन ।
सोहि गाउँकी सुवासनी रैदासको श्रीमान जोगेन्दर रैदासको ५ बर्ष अघि मृत्यु भएको थियो । त्यस पछि आफु र छोराको पालन पोषणको जिम्मा सुवासनीले लिनु पर्ने बाध्यता आई लाग्यो । उनको पनि आफ्नो नाममा भएको ९ घुर जग्गामा १ कोठा सानो घर मात्रै छ । परिवार चलाउनकै लागी उनले गाउँ गाउँमा कास्मेटिकका सामाग्री बेच्न थालिन । टाउकोमा ढकियामा राखेर कास्मेटिक सामाग्री बेच्न जाँदा उनलाई समस्या हुने गरेको थियो । उनी पनि सगरमाथा आत्मनिर्भर समुहमा सदस्यको रूपमा जोडिईन । अहिले समुहको सिफारिसमा उनलाई कास्मेटिक सामाग्री बेच्न सहज होस भनेर १ थान ठेला गाडी तथा १५ हजार रूपैया सहयोग गरिएको छ । उनले अहिले दैनिक १२÷१५ सयको कस्मेटिक सामान बेचेर दैनिक ३ सय बढि बचत गर्ने गर्दछिन । उनले कास्मेटिक बेचेर गरेको बचत रकम जोहो गरेर राखेकी छन । बचत रकमले छोराको पढाई लाई निरन्तरता दिलाउने उनको योजना छ ।
उर्मिला र सुवासनी जस्तै सोहि गाउँकी बिजय आत्म निर्भर समुहकी सदस्य मिथलेश कहाँर पनि आत्मनिर्भरताको बाटोमा अग्रसर बनेकी छन । आर्थिक अवस्था कमजोर रहेकी उनलाई समुहको सिफारिसमा १५ हजार आर्थिक सहयोग मिलेको छ । जसबाट उनले घुम्ति पसल चलाएकी छन । उनले पसलमा १२ देखी १५ सय सम्मको बिक्रीले ३ सय रूपैयासम्म आम्दानी हुने गरेको बताईन । उनले दुई महिनामा परिवार चलाएर २ हजार रूपैया बचत पनि गरेकी छन । लगानी गरेको रकममा आम्दानी जोडेर उनले १५ हजारको लगानीलाई २५ हजार बढिको बनाएकी छन । पश्चिम मैनिहवाका तिनै जना महिला उद्धमी अहिले सानो लगानी सहयोगले पनि धेरै उत्साहित बनेका छन । उनीहरूलाई दलित सामाजिक बिकास केन्द्रद्वारा सञ्चालित “हाम्रो शक्ति” परियोजनाबाट आर्थिक तथा प्राविधिक सहयोग भएको हो ।
“हामीहरूलाई सानो सहयोग भए पनि आयआर्जनको लागी श्रोत मिलेको छ । हिजो परिवार चलाउन रिन धन गर्नु पथ्र्यो, अहिले आफै आत्मनिर्भर हुन थालेका छौं ।” उद्धमी उर्मीला रैदासले भनिन । “हिजो आफ्नो हातमा १०÷२० रूपैया हुदैन्थ्यो । अहिले हातमा सय पचास घट्दैन । हामी धेरै खुसी छौं ।” उनले थपिन । आफुले सहयोगको रकमको पुजीलाई थप गर्दै व्यवसाय बढाउने योजनामा रहेको उर्मीलाले योजना सुनाईन । आफुहरूले पाएको सहयोगले दैनिकी सहज हुनुका साथै आयआर्जनको बाटो खुलेको सुवासनीको बुझाई छ । वास्तबिक गरिब र बिपन्नलाई गरेको लगानी खेर नजाने गरि आफुहरूले मेहनत गर्दै आएको उद्धमी मिथिलेश कहाँरले बताईन । गरिब र बिपन्न परिवारका सदस्य छनौट गरि गरिएको लगानी उपयोगी देखिएको शिवशक्ति युवा क्लवका अध्यक्ष बिश्वम्भर रैदासले बताए । लाभग्राहीलाई बचत गर्न र व्यवसाय प्रबद्र्धन गर्न उत्प्रेरणा मिल्ने आत्मनिर्भर समुहले गरिब परिवारलाई सहयोग सगै समुह मार्फत बाल बिवाह, लैङ्गिक विभेद, बालिका शिक्षा र सरसफाई बारे सचेतना प्रवाहमा भुमिका खेल्दै आएको अध्यक्ष रैदासले दावी गरे ।
उक्त कार्यक्रम जिल्लाका कपिलवस्तु नगरपालिका र महाराजगंज नगरपालिकाका केही वडाहरूमा संचालनमा छ । सामाजिक श्रोत नक्शा निर्माण, बिवरण संकलन, सम्पन्नता स्तरीकरण गरि ग बर्गका गरिब र घ बर्गका अति गरिब परिवार मध्यका एकल महिला, आर्थिक अवस्था कमजोर र बिपन्नलाई सहयोग गर्ने गरिएको छ ।
दुवै पालिकामा ३५ वटा महिला समुह, १५÷१५ वटा किशोर किशोरी र युवा समुह तथा पालिकास्तरीय संजालमा आबद्ध १ हजार ५ सय ३५ समुह सदस्य सहभागी छन् ।