© २०२३
नवलपरासी,२२ पुस ।
जिल्लाको सिमावर्ति क्षेत्रको डुबान रोक्न बजेट भन्दा बिस्तृत परियोजना प्रतिवेदन (अिपिआर) बनाउने होडबाजी चलेको छ । संघ र प्रदेश सरकारसँग पटक–पटक डुबान रोक्न आग्रह गर्दै आएको सरावल गाउँपालिकाले डिपिआर बनाइरहेको छ । संघ सरकारको पनि सरावल सहित जिल्ला भरिको डुबान नियन्त्रणका लागि डिपिआर बनाउन लागेको पाइएको छ ।
गाउँपालिकाले संघ र प्रदेशको आस मारेर आफ्नै पालिका स्तरीय डिपिआर गराई काम गरिरहेको र अहिले संघ सरकारबाट पनि डिपिआर बनेको गाउँपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । उनका अनुसार संघीय सरकारबाट सरावल सहित जिल्लाभरिका डुबान नियन्त्रण गर्नका लागि २ अर्ब ७० करोड बराबरको डिपिआर बनेको छ । यता सरावल गाउँपालिकाको धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उक्त धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने उल्लेख छ ।
संघको डिपिआर अनुसार काम गर्नका लागि केही बजेट पनि बिनियोजन भएको सुन्नमा आएको उनले बताए । सो बजेट खर्चका लागि नेपाल गण्डक पश्चिमी नहर सिंचाई आयोजना ब्यवस्थापन कार्यालयका प्राविधिकहरू परामर्श गर्न आएको उनको भनाई थियो । त्यसका लागि आफू सरावलका डुबानको कारण पहिल्याई कहाँबाट काम शुभारम्भ गर्दा तत्काल डुबान पीडितलाई राहत पुग्दै जान्छ, सो क्षेत्र देखाई दिएको सुनाएका थिए । संघ सरकारको डिपिआरबारे लुम्बिनी प्रदेश सरकारका बन तथा बातावरण मन्त्री देवकरण कलवारले समेत जनता माझ बताउँदै आएका छन् । मन्त्री कलवारका अनुसार आफूले पनि डुबान क्षेत्रको समस्या समाधानका लागि संघीय साँसद विनोद चौधरीले पहल गर्न आग्रह गर्दै आएको थिए । अहिले साँसद चौधरीको पहलमा सरावलको धनेवा मात्रै नभई जिल्ला भरिकै डुबानको समस्या सम्बोधन हुने गरी डिपिआर बनेको छ । बजेट थोरै विनियोजन भए पनि क्रमशः बजेट आउने र काम हुने हुँदा केही बर्षमा डुबान समस्या समाधान हुनेमा आशा ब्यक्त गरेका थिए ।
केही बर्ष पहिला संघ र प्रदेश साँसदद्वारा आश्वासन दिइने तर काम नगर्ने हुँदा सरावल गाउँपालिकाले डुबान क्षेत्रमा डुबान रोक्न आफै अग्रसरता देखाएको थियो । पालिका स्तरबाटै लगानी गरेर भएपनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर अग्रसरता देखाएको पालिकाले जनाएका छ । विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरूको आश्वासन मै सीमित छ । जिल्लाको सरावल गाउँपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् ।
धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरेपछि आफ्नै स्रोतले गाउँपालिकाले बाँधको उचाई बढाउने कार्य थालेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी गराए । गाउँपालिका जनताको सबैभन्दा नजिकको सरकार हो, उनले भने, तर साधन स्रोत न्युन भएको सरकार पनि हो । जनताको समस्यालाई थोरै–थोरै भएपनि सम्बोधन गर्दै लैजाने सोंच अनुसार अहिले काम थालिएको उनको भनाइ थियो । खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको थियो ।
गाउँपालिका अध्यक्ष चौधरीले भने, आफू निर्वाचित भएर आएपछि पहिलो प्राथमिकतामा राखेर उक्त डिपिआर बनाउन लगाइएको थियो । खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जन माध्यम बनाउन सक्ने गरि डिपिआरमा समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओगट्ने कुल ७ वटा वडा मध्ये ४ वटा वडाका बासिन्दा छन् । सरावल गाउँपालिकालाई दुई वटा संघीय निर्वाचन क्षेत्र जोडेको हुँदा दुई जना विनोद चौधरी र धु्रव बहादुर प्रधान प्रतिनिधि सभा सदस्यको रूपमा सरावलका जनताले मतदान गरेका छन् ।
गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर, लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो, तर चाँसो नलिएको प्रति उनले नैराश्यता पनि प्रकट गरेका थिए ।
त्यसैगरि डुबान क्षेत्रका जनताले दुई जना प्रदेश साँसद बैजनाथ जैसवाल र विश्वप्रेम पाठकलाई पनि मतदान गरेका छन् । डुबान क्षेत्रलाई जोड्ने प्रतापपुर गाउँपालिकाका केही क्षेत्र पर्ने आर्को क्षेत्रका प्रदेश साँसद तथा हाल बन तथा वातावरण मन्त्री कलवार पनि छन् । धनेवा खोलाको अधिकाँस भाग सरावल गाउँपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर, पाल्हीनन्दन गाउँपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ ।
विगत बर्षमा खुल्ला रूपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो । अन्य कुलाहरूको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरू बने देखि मर्मत सम्भारको अभावमा भत्किने र जीर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो, त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।