© २०२३
दाङ,२१ पुस ।
टोक टा गिलाङ्डइ म्येहाक गिलाङ डा साङ्डान नि
गिलाङ डा टम्डान, गिलाङ डा बिबि चिडान, लाहाङ गा घु चिडान नि
गिलाङ डा लाङ्टे गिमट गा वेन, लाहाङ गा काउ नि ।
कसुन्डा भाषाको गीतलाई नेपालीमा पनि राखिएको छ ।
हामी त वनका राजा वनमा बस्यौँ नि
वनमा खायौँ, वनमा घुम्यौँ, गाउँमा स¥यौं नि
वनमा जस्तो मनमा खुसी गाउँमा छैन नि ।।
कुसुन्डा भाषाको अध्ययन अनुसन्धानमा गरिहेका दाङका उदय आलले रचना गरेको कुसुन्डा भाषाको गीत रेकडिङको काम सुरु भएको छ । उनले कसुन्डा संरक्षण र पछिल्लो पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नका लागि गीत लेखेको बताए । पछिल्लो पुस्तालाई गीत लेख्न प्रेरित गर्नका लागि पनि आफूले सुरुवात गरेको उनको भनाइ छ । राष्ट्रिय जन गणना २०७८ अनुसार नेपालमा १सय ४२ वटा जातजातिहरु रहेका छन् । नेपालका बसोवास गर्ने बिभिन्न जात जातजाति मध्ये कुसुन्डा एक लोपउन्मुख आदिवासी जनजाति हो । भाषा संरक्षणका लागि पछिल्लो पुस्तालाई भाषिक ज्ञान दिने र संरक्षण गर्ने काम भएको थियो अहिले गीत लेखेर रेकडिङको काम सुरु गरिएको हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ जातजाति र १२४ भाषाहरु उल्लेख गरिएको छ । जनगणनाअनुसार नेपालमा कुसुन्डा जातिको कूल जनसंख्या पुरुष १ सय १५ र महिला १ सय ३८ गरी कुल २ सय ५३ जना छन् । लुम्बिनी प्रदेशको प्युठान जिल्लामा पुरुष १६ र महिला १५ गरी ३१ जना कुसुन्डा छन् भने दाङ जिल्लामा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् । कुसुन्डाहरु गोर्खा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोबास गरिरहेको अनुसन्धानकर्ता उदय आलेले जानकारी दिए ।
जनगणना २०७८ मा कुल कुसुन्डा २ सय ५३ उल्लेख गरिए पनि नेपाल कुसुन्डा विकास समाज केन्द्रीय कार्यालय घोराही दाङको सम्पर्कमा रहेका र स्थलगत अध्ययनको क्रममा सङ्कलन गरिएको तथ्याङ्कअनुसार नेपालमा कुसुन्डाको कूल जनसंख्या १ सय ७० जना मात्र रहेको छ । जसमध्ये सबैभन्दा बढी दाङ जिल्लामा ७४ जना, प्युठानमा ५५, सुर्खेतमा १९, गोर्खामा ११, अर्घाखाँचीमा ४, रोल्पामा ३, कपिलवस्तुमा २ र तनहुँमा २ जना कुसुन्डा बसोवास गर्दछन् ।
भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा भाषाका नयाँ पुस्तालाई पहिलो,दोस्रो,तेस्रो र चौथो चरणको भाषा प्रशिक्षण दिएर लोप उन्मुख भाषाको संरक्षण गरेको अनुसन्धानकर्ता आलेले बताए । कुसुन्डा भाषाको पूर्ण बक्ता लमही नगरपालिका –३ कुलमोरका ज्ञानीमाया कुसुन्डाको ६ वर्ष अघि ८२ वर्षको उमेरमा निधन भएपछि कुसुन्डा भाषा लोप हुने डर सबैलाई थियो । तर दाङका उदय आलेले अनुसन्धान गरेर भाषालाई संरक्षण र बिस्तार गरेका कारण जीवीत रहेको जानकार बताउँछन् । अर्का बक्ता कमला कुसुन्डाको सहयोगमा भाषा संरक्षण गरेको आलेले बताए । दाङ र प्युठानका २४ जना कसुन्डा समुदायका युवा पुस्ताले मातृभाषा सिकिसकेका छन् । दाङको घोराही– ५ धर्नामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा १२ जना र घोराही –१८ सुपैलाखुटीमा १२ जनाले कुसुन्डा भाषा सिकेका हुन् । उनीहरु अहिले बोल्न र लेख्न सक्ने भएका छन् । कुसुन्डा भाषामा प्रकाशन भएका पाठ्यपुस्तकको अध्ययन पनि गरिरहेको उनले बताए । पछिल्लो पुस्ताले भाषा सिक्नमा चासो राखेर सिकेका थिए । दुइ जना गैर कुसुन्डाले पनि यो भाषा सिकेका छन् । भाषा आयोगको सहयोगमा भाषा संरक्षणको काम भइरहेको छ । कुसुन्डा भाषालाई जोगाइराख्न र पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नका लागि पछिल्लो समय गीत रेकडिङको काम गरिरहेको उहाँले बताउनुभयो ।।