© 2026
गुल्मी, ६ पुस ।
कफीको जननी जिल्ला गुल्मीमा कफी एक्सप्रेसो मेसिन अलपत्र परिरहेको छ । गुल्मेली कफीको प्रचार प्रसारका लागि भनेर लुम्बिनी प्रदेश सरकारले दिएको कफी एक्सप्रेसो मेसिन पाँच बर्षदेखि अलपत्र परेको छ ।
आर्थिक बर्ष ०७५/०७६ मा जिल्ला सहकारी संघ गुल्मीलाई तत्कालिन प्रदेश नं.५ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्ला सहकारी संघ गुल्मीलाई उक्त मेशिन प्रदान गरेको हो । जिल्ला सहकारी संघ गुल्मीका व्यावस्थापक युवराज आचार्यले तत्कालिन अबस्थामा छ लाख २० हजार मूल्य पर्ने उक्त मेशिन जनशक्तिको अभावमा त्यत्तिकै कोठामा थन्काउनु परेको बताए । उक्त मेशिनले ३० प्रकारका स्वादमा कफी बनाउँछ । तर मेसिन चलाउने जनशक्ति नहुँदा पाँच वर्षदेखि मेशिन सहकारीमा थन्किएर बसेको छ । यो मेसिन सञ्चालन गरेर बिशेषता अनुसारको कफी बनाउन तालिम प्राप्त जनशक्ति आवश्यक पर्ने जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापाले बताए ।
आफूहरूसँग मेसिन सञ्चालन गर्ने तालिम प्राप्त जनशक्ति राख्ने श्रोत र साधन नभएका कारण महत्वपूर्ण उपकरण उपयोग बिहिन अस्थामा त्यत्तिकै राख्नु पर्ने बिडम्बना रहेको थापाले बताएका छन । ‘संस्था सिमित श्रोतकाबिच चलाएका छौं, कफीको बिषयमा गर्नुपर्ने कैयौ काम छन्,’ उनले भने, ‘उपकरण चलाउने मान्छे नहुँदा जिल्लामा आउने पाहुनाहरूलाई गुल्मेली कफीका बिबिध स्वाद चखाउन सकिएको छैन ।’ उनले जनशक्ति व्यावस्थापनमा स्थानीय सरकारले सहयोग गरे जिल्लामा कफी सप खोलेर मेसिनको भरपुर उपयोग गर्ने बताएका छन् ।
कफी उत्पतिको जननी जिल्ला भनेर चिनिने गुल्मीमा हाल २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । यस वर्ष जिल्लामा ३० मेट्रीक टन भन्दा बढी कफी उत्पादनहुने अनुमान गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गंगा पोख्रेलले बताईन । जिल्लामा फ्रेस चेरी कफीको मुल्य प्रतिकेजी एक सय, ड्राईचेरीको १ सय ५० र पार्चमेण्ट कफीको मुल्य प्रति केजी पाँच सय रूपैंया रहेको छ । गुल्मीको कफी अर्गानिक र स्वादिलो भएका कारण तेश्रो मुलुकमा समेत निर्यात हुने गरेको छ ।
पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा, स्थानीय तह लगायत विभिन्न सहकारीहरूले कफीको अनुषन्धानसँगै कफी खेती विस्तामा काम गर्दै आईरहेका छन । हाल जिल्लामा कफी कृषकहरूको संख्या १८ सय भन्दा धेरै रहेको बताइएको छ ।