© २०२३
दाङमा बहुप्रतिक्षित औद्योगिक क्षेत्र स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम चालू आर्थिक बर्ष भित्रै हुने भएको छ । विगत डेढ दशक देखि दाङमा औद्योगिक क्षेत्रको कुरा उठेपनि त्यसले मूर्त रूप लिन सकेको थिएन । औद्योगिक क्षेत्रका लागि उपयुक्त हुने वा नहुने भनेर यसअघि सम्भाव्यता अध्ययन गरिएको थियो भने औद्योगिक क्षेत्रका लागि डिपीआरको काम समेत पूरा भइसकेको छ ।
सम्भाव्यता अध्ययनका क्रममा सकारात्मक नतिजा आएपछि डिपीआरको काम गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । “डिपिआर प्रतिवेदन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पुगिसकेको छ, अब आवश्यक प्रकृया पूरा गरेर केही समयभित्रै औद्योगिक क्षेत्र घोषणा हुन्छ अध्यक्ष भुसालले भने । सरकारले ७ वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति अवलम्वन गरेको छ ।
यस अन्तर्गत चालू आर्थिक बर्षमा दाङमा औद्योगिक क्षेत्र घोषणा गरिँदैछ । औद्योगिक क्षेत्र घोषणाको काम मन्त्री परिषद्ले गर्नुपर्ने भएकाले आवश्यक प्रकृयाका लागि उद्योग मन्त्रालयले फाइल अध्ययन गरिरहेको छ । सबै प्रदेशमा एकैपटक घोषणा गर्नुपर्ने भएकाले केही ढिलाई भएपनि दाङको फाइलमा भने कुनै समस्या नदेखिएको उद्योग मन्त्रालयले जनाएको छ ।
साविक धर्ना गाविसको १ र लक्ष्मीपुर गाविसको वडा नं १ मा पर्ने करीब सात सय विघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्न थालिएको छ । उक्त क्षेत्र अहिले घोराही उप महानगरपालिका वडा नं ३ र ५ मा पर्दछ । मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै सो क्षेत्रमा लगानी गर्न सरकार, निजी क्षेत्र र दातृनिकायलाई सहयोग पुग्ने छ । विगत देखि नै औद्योगिक क्षेत्र निर्माणका लागि दाङ जिल्ला उद्योग वाणिज्य संघले पहल गर्दै आएको छ । औद्योगिक क्षेत्र स्थापना भएपछि सो क्षेत्रमा मझौला उद्योगहरू स्थापना हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भुसालले जानकारी दिए । सरकारले आवश्यक पूर्वाधार निर्माण गरेपछि घोराहीमा रहेका उद्योगहरू पनि क्रमशः त्यहाँ स्थानान्तर हुने भुसालले बताए । “उक्त क्षेत्रमा निर्माण हुने औद्योगिक क्षेत्रले दाङको अर्थतन्त्रमा निकै टेवा पु¥याउने छ भुसालले भने ।
औद्योगिक क्षेत्रमा सरकारले आधारभूत पूर्वाधार निर्माणको काम गर्ने छ । उक्त क्षेत्रमा व्यसायीहरूले निश्चित शुल्क तिरेर उद्योग सञ्चालन गर्न पाउनेछन् । पछिल्लो समय दाङमा जग्गाको मुल्य तिव्र रूपमा बढिरहेकाले नयाँ उद्योगहरू स्थापना गर्न निकै गाह्रो भएको उद्योगी व्यवसायीहरूको भनाई छ । “उद्योग स्थापना गर्न भन्दापनि उद्योगका लागि आवश्यक पर्ने जग्गाको व्यवस्थापन मै कैयौं गुणा बढी लगानी लाग्ने गरेको छ” भुसालले भने । यहि कारणले गर्दा दाङमा अपेक्षाकृत ढंगले उद्योग धन्दा खुल्न नसकेका हुन् भन्ने विश्वास दाङ जिल्ला उद्योग वाणिज्य संघको छ । औद्योगिक क्षेत्रमा २४ सै घण्टा विद्युत आपूर्ति हुने भएकाले व्यवसायीहरूले लोडसेडिङको मार खेप्नुपर्ने छैन । यहि कारणले बस्तुको उत्पादन लागत समेत कम पर्ने भएकाले उपभोक्ताहरूले सस्तोमा वस्तु खरिद गर्न पाउने भुसालले बताए । औद्योगिक क्षेत्र भएको खण्डमा सरकारलाई निजी क्षेत्रको सुरक्षा गर्न समेत निकै सजिलो हुने छ । एकै ठाउँमा धेरै बस्तु उत्पादन भएपछि बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने छ । दाङमा जथाभावी उद्योगधन्दा खुल्दा खेतीयोग्य जमिनको नाश भइरहेको छ । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि दाङमा खेतीयोग्य जमिनको समेत संरक्षण हुने देखिएको छ ।