© २०२३
पाल्पा १८ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका ठाकुर गैरे र गठवन्धनका उम्मेदवार सोम प्रसाद पाण्डे विच प्रतिष्प्रर्धा देखिएको छ । नेकपा एमालेका उम्मेदवार गैरे पहिलो पटक संसदीय निर्वाचन उत्रिएका छन् भने गठवन्धनको उम्मेदवार पाण्डे २०५१ साल देखि हाल सम्म ५ पटक उम्मेदवार भएकोमा ४ पटक निर्वाचित भई संसदमा पुगेका छन् ।
एमाले उम्मेदवार गैरेले आफ्नो क्षेत्रमा प्रत्यक्ष रुपमा काग्रेस, माओवादी केन्द्र, राप्रपाको उम्मेदवार नभएकोले आफु साझा उम्मेदवार रहेको बताउदै आएका छन् । एमाले उम्मेदवार गैरेले पाल्पा क्षेत्र नं. २ मा आफु पहिलो पटक उम्मेदवार भएको, अहिले जनताले नयाँ अनुहार र परिवर्तन खोजेकोले आफ्नो जित सुनिश्चित भएको दावी गरेका छन् । पाल्पाली जनताको पक्षमा संसदमा कुरा उठाई नितिगत रुपमा सम्वोधन गर्ने, पाल्पाका सडकहरु स्तरीय बनाउने, जिल्ला लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, कृषि पशुपालन क्षेत्रमा व्यबसायिकरण गर्दै, गाउँ गाउँमा स्वरोजगार अभियाना चलाउने, जिल्लाका अपुरा योजनाहरु पुरा गर्ने, नियमित रुपमा जनता माझ जाने कार्यक्रम बनाएको एमाले उम्मेदवार गैरेले बताए ।
उम्मेदवार पाण्डे भने लोकतान्त्रिक वाम गठवन्धनको साझा उम्मेदवार रहेका छन । गठवन्धनका उम्मेदवार पाण्डेले अधिकाश कुराहरु सम्वोधन भएको, आफु पुरानो अनुभवी नेता भएकोले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन । पाल्पाको विकासमा २०५१ साल देखी नै प्राथमिकता दिएर काम गरेको, जिल्लाको पर्यटन विकासमा उपलब्धीमुलक काम गरेको, मदनपोखरा पोलीटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधी बढाउन टाढा टाढा बाट देखिने गरी तानसेन होडिङ बोर्ड निर्माण गरेको, हार्थाेक देखी छहरा सम्मको बाटो विस्तार गरेको उम्मेदवार पाण्डेको दावी रहेको छ ।
स्थानीय निर्वाचन २०७९ मा गठवन्धनले ३ वटा र एमालेले २ वटा पालिकामा जित हासिल गरेको छ । पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली काग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठवन्धनले जित हासिल गरेको छ । वडा अध्यक्षको मतको आधारमा नेकपा एमालेको ३० हजार ५ सय ३६ , नेपाली काग्रेसले २९ हजार ३९, नेकपा माओवादी केन्द्रले ४ हजार ३ सय १३ र नेकपा एकिकृत समाजवादीले ४ सय ३३ मत र राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत पाएको छ । पाल्पा क्षेत्र नंं २ मा १ लाख ५ हजार २ सय ९३ जना मतदाता रहेका छन । एमाले उम्मेदवार गैरे जिल्ला, प्रदेश बाट सर्वसम्मत उम्मेदवार हुन भने गठवन्धनका उम्मेदवार पाण्डेले लामो रस्साकस्सी विच टिकट हात पारेका हुन् । पाण्डेलाई नेपाली काग्रेसबाट अन्तरघातको चिन्ता छ भने गैरेले सोही कारणबाट नेपाली काग्रेसको केही मत आफ्नो पक्षमा पर्ने आंकलन गरेका छन् ।
पाल्पा क्षेत्र नम्बर २ बाट जन समाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमई र स्वतन्त्रबाट उपेन्द्रराज गैरे र जिवलाल सुवेदी उम्मेदवार रहेका छन् ।