© २०२३
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका अतुलनीय, सर्वमान्य र विलक्षण प्रतिभाका धनी ब्यक्तित्व मात्र होइनन् उनको जीवन चाखलाग्दा घटनाहरूले भरिएको छ । संस्कृत विद्वान पिता तिलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मी देवीका वरद पुत्रका रुपमा २७ कार्तिक १९६६ लक्ष्मीपुजाका दिन काठमाडौमा जन्मेका लक्ष्मीप्रसाद देवकोटा वास्तवमा लक्ष्मीको होइन, सरस्वतीको आशिर्वाद पाएका थिए । उनले मुनामदनमा लेखेका छन् — हातका मैला सुनका थैला के गर्नु धनले ? साग र सिस्नु खाएको बेस आनन्दी मनले । उनले दरबार स्कूलमा प्रारम्भिक शिक्षा प्राप्त गरे । उनका सहपाठी चन्द्र बहादुर श्रेष्ठ लेख्छन् ः उनी सामान्य देखिन्थे तर परीक्षामा प्रथम भए ।
महाकवि देवकोटाले कक्षामा आफूले लेखेका कविताहरू सुनाउँथे तर केही साथीहरूले उनले आफ्ना बाबुले लेखेका कविता पढ्छन् भनेर खिसिट्युरी गरे । त्यसपछि देवकोटाले कलम नबिसाइकन “दरबार हाइस्कूल” नामक कविता लेखे । उनले कहिल्यै पनि कविताहरूको सम्पादन वा काँटछाँट गरेनन् । उनी आफ्नो लेखाइप्रति ढुक्क हुने गर्थे । उनले त्यो कविता सुनाए । सबैजना मन्त्रमुग्ध भए । साथीहरूले शिक्षकलाई पनि उनको कविता देखाए । शिक्षकले कविता पढेपछि देवकोटाको क्षमताको प्रशंसा गरे एउटा प्रतिभावान केटो भनेर । यसले उनको कवित्वले मान्यता पायो । तर देवकोटालाई पटना कलेजमा पनि अपमानित हुनुपरेको थियो । उनले रातभरमा छ वटा प्रेम कविता लेखेर बुझाएका थिए तर सम्पादकले प्रेम कविता नछाप्ने वा अन्य बदनियतका कारण ती कविता छापिदिएका थिएनन् । अर्को तर्फ नेपालका प्रधानमन्त्री जुद्धशमशेरले भने देवकोटाको क्षमताको कदर गर्दै रू एक हजार पुरस्कार दिएर प्रोत्साहन गरेका थिए ।
लक्ष्मीप्रसाद देवकोटा भारतीय कविहरू पन्त, प्रसाद र निरालासँग दाँजिन्छन् । उनी तासकन्दमा भएको एफ्रो—एसियाली साहित्य सम्मेलनमा पनि सहभागी भएका थिए । महाकवि देवकोटालाई अंग्रेजी रोमान्टिक कविताहरू निकै मन पथ्र्यो । अंग्रेजी साहित्यकारहरू विलियम वडस्वर्थ, जोन किट्स् र स्यामुअल टेलर कलरिजका कविताहरूबाट प्रभावित थिए । उनले आफैले नेपाली भाषामा लेखेको शाकुन्तल महाकाब्यको अंग्रेजी भाषामा रुपान्तरण समेत गरे । उनले अंग्रेजी भाषामा द ल्युनाटिक (पागल) र अन्य धेरै कविता, निबन्ध र नाटक पनि लेखे । उनले विलियम शेक्सपियरको ह्यामलेट नाटकलाई नेपाली भाषामा अनुवाद पनि गरेका थिए । पिता तिलमाधवको संस्कृत पृष्ठभूमिबाट शिक्षित, नेपाली साहित्यका विराट ब्यक्तित्व लक्ष्मीप्रसाद देवकोटा अंग्रेजी भाषामा समेत राम्रो दख्खल राख्थे ।
देवकोटालाई राजनीतिक वादमा सिमित गर्न सकिदैन । उनका छोरा प्रा. डा. पद्म प्रसाद देवकोटाले उहाँको एउटै वाद थियो मानवतावाद भनेका छन् । सायद उनले साहित्य र शिक्षामा गरको योगदानका आधारमा डा. केआई सिंहको मन्त्रीमण्डलमा शिक्षा तथा स्व—शासनमन्त्री बनाइएको थियो । उनले नेपाली काँग्रेस पक्षधर युगवाणी पत्रिकाका लागि १० महिना सम्पादकको काम समेत गरेका थिए ।
महाकवि देवकोटा निरन्तर चुरोट पिउँथे । चुरोट विना देवकोटा लेख्न सक्दैनन् र बाँच्न पनि सक्दैनन् भनिन्थ्यो । त्यही चुरोट पिउने बानीका कारण उनीलाई क्यान्सर भयो । त्यहीकारण ४९ वर्षकै उमेरमा उनको जीवन सकियो । तर देवकोटा ब्यक्तिगत स्वास्थ्य वा खानपिनमा कुनै ध्यान दिंदैनथे । उनले आफूले बुझेको तलब बाटोमै बाँडेर सिध्याउँथे भनिन्छ । उनले पैसा बचत गरेनन् । पैसा हुँदा भोलि के खाने भन्ने प्रवाह नगरिकन मास्थे । खानपिनमा समेत नियमितता नभएका कारण उनको स्वास्थ्य खराब थियो । एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका महाकवि देवकोटाले जागिरको अभावमा ट्युशन पढाउन सुरू गरे र त्यही आम्दानीबाट उनले आफ्नो पढाइ र परिवारका लागि खर्च जुटाएका थिए ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जीवनमा एउटा ठूलो अन्याय भएको थियो । उनी २८ वर्षको युवा छँदा उनलाई पागल सम्झेर राँची उपचारका लागि लगियो । सौभाग्यवश डा. ओन बाक्ले—हिलले देवकोटा पूर्णरुपमा स्वस्थ भएको बताए । डा. हिलले देवकोटा जस्तो प्रतिभावान ब्यक्ति नेपालमा जन्मनु नै दूर्भाग्य हो भनेका थिए । देवकोटा पनि निश्चिन्त थिए कि उनी स्वस्थ छन् र पागल होइनन् । समाजको गलत ब्याख्यालाई ब्यंग्य गर्दै उनले द ल्युनाटिक भन्ने कविता अंग्रेजीमा लेखे । यसको नेपाली संस्करण पागल कविता हो । उनले यस कवितामा नेपाली समाजको कमजोर मानसिकता र अमानवीय ब्यवहारप्रति कडा प्रहार गरेका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्को महत्वपूर्ण पक्ष जातीय भेदभाव विरुद्धको आवाज हो । नेपाली साहित्यको सर्वाधिक बिक्री हुने मुनामदन लोक काब्यमा उनले मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन भनेर सामाजिक विद्रोहको काम गरेका छन् । तर उनले नेपालको नोबेल पुरस्कारका रुपमा चिनिने मदन पुरस्कार अस्वीकार गरेका थिए । यात्री कवितामार्फत ईश्वर मन्दिरमा होइन आफैमा र दुःखीहरूको सेवामा पाइन्छन् भन्ने सन्देश दिएका देवकोटाले मृत्यु शैय्यामा रहँदा हरि वा ईश्वरको नाम लिए । उनी जीवनभर भौतिकवादी र मर्ने बेलामा ईश्वरवादी बने भनेर चित्रण गरिन्छ । तर देवकोटा सँधै प्रगतिशील थिए । एकपटक शेलीले देवकोटाको जीवनको लक्ष्य के हो भनेर सोधेछन् । देवकोटाको उत्तर थियो — उडेर चन्द्रमा छुने । उनले यसो भन्दै गर्दा अमेरिकाका निलआर्मस्ट्रङ्क चन्द्रमामा पुगेका थिए । त्यसैले देवकोटामा सर्वोच्चकला र दृष्टिकोण पाइन्छ भन्नु पर्दछ ।