© २०२३
नेपालमा प्राकृतिक विपत्ति त्यसमापनि विशेषगरी बाढी पहिरोका समाचारहरू वर्षेनी दोहोरिरहन्छन् । खासगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन सिजनमा बाढीपहिरोको प्रकोप बढी देखिन्छ । यसै सन्दर्भमा यही असोज ११ र १२ गते परेको अविरल वर्षाको कारणले करिब दुई सय ५० को सङ्ख्यामा मानिसको मृत्यु भएको खबर छ । बेपत्ता हुनेको सङ्ख्या पनि ४० भन्दा माथि नै छ । योसँगै मुलुकभर ४० अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ, यद्दपि यसको विस्तृत विवरण भने आउन बाँकी नै छ । विशेष गरी ऊर्जा र सिँचाई तथा यातायातका क्षेत्रमा वाढी पहिरोले क्षति पु¥याएको देखिएको छ ।
नेपालमा मात्र होइन, समग्र पृथ्वीकै लागि बन अतिक्रमण, जैविक विविधताको विनास तथा कार्वन उत्सर्गजस्ता मानवीय गतिविधिका कारण जलवायु परिवर्तनको जोखिम बढ्दै गएको छ । नेपाको सन्दर्भमा पनि मौसमजन्य तथा भौगर्भिक दृष्टिकोणबाट हेर्दा उच्च जोखिमको अवस्था देखिन्छ । पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह सावित भएका छन् । हजारौंको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो तथा बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै मानिसलाई दुःख दिइरहेका छन् । दोहोरिरहने यस्ता प्राकृतिक विपत्तिहरूले ठूलो धन–जन एवम् पर्यावरणीय क्षतिको सामना गर्नुपर्ने बाध्यधा रहेको छ । युनिसेफको एक रिपोर्टअनुसार भुकम्प तथा मिश्रित विपत्तिहरूको जोखिमका सन्दर्भमा नेपाल क्रमशः ११औं र १६ औं स्थानमा रहेको छ । त्यसैगरी मेपलक्रफ्टको जलवायु परिवर्तन जोखिममा रहेकाहरूको सूचीमा नेपाल जोखिमका दृष्टिले चौथो मुलुक भनिएको छ । जलवायु परिवर्तनका कारण नेपालको तापक्रम बढ्दै जानुको साथै वर्षा पनि अनियमित हुने गरेको पाइएको छ । मानव गतिविधिका कारण जलवायुमा परेको असरले गर्दा खडेरी, बाढी तथा प्रतिकुल मौसम आइपर्नुजस्ता प्राकृतिक प्रकोपहरूको सम्भावना बढ्दै जान्छ । जसले गर्दा महामारी र सुख्खापन फैलिनुका साथै समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्न जान्छ । जसले गर्दा दीगो विकासमा प्रतीकूल असर पर्न जान्छ । वातावरण, समाज र अर्थतन्त्रबीच सन्तुलन कायम गर्दै भावी पुस्ताको आवश्यकतामा कुनै असर नपरोस् भन्ने अवधारणाका साथ वर्तमान पुस्ताको आवश्यकता पूरा गर्नु नै दीगो विकास हो । यसको उद्देश्य स्रोतहरूको दीर्घकालीन उपयोग, जैविक विविधताको संरक्षण र न्यायपूर्ण वितरणलाई सुनिश्चित गर्नु हो, जसले समाजको समग्र विकासलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन मद्दत गर्दछ । दीगो विकासले मानव अस्तित्वको संरक्षण गर्दै प्रकृतिसँगको तादात्म्यतालाई कायम राख्न मद्दत गर्ने भएकाले विश्व समूदायको यसप्रति चिन्ता र चासो बढ्दै गएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले नेपाल लगायत १९३ देशहरूको तत्वावधानमा सन् २०१५ मा सन् २०१६ देखि २०३० सम्ममा कार्यान्वयन गर्ने गरी दिगो विकासका लक्ष्यहरूको घोषणा गरको छ । दीगो विकासका लक्ष्यहरूले विश्ववाट सबै प्रकारका गरीबीको अन्त्य, सबैका लागि शिक्षा, स्वास्थ्य, आवास, स्वच्छ इन्धन र वाताबरण, विकासमा सबै तह र तप्काको समान साझेदारिता र हिस्सा, मानव अधिकारको प्राप्ती, सबै महिला तथा बालबालिकाको लागि लैङ्गिक समानता तथा सशक्तीकरण हांसिल गर्ने लगायतका लक्ष्यहरू राखेका छन् । विकासका हरेक आयामहरूमा कसैलाई पनि पछाडि नछोडी सँगसँंगै अगाडि लैजाने प्रतिबद्धताकासाथ महत्वकांक्षी १७ वटा दिगो विकास लक्ष्यको घोषणा गरको छ, जसमा नेपालले पनि सहभागिता जनाएको छ । बढ्दो जनसङ्ख्या र औद्योगिक क्रान्तिका कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन गर्दै आइएको सन्दर्भमा दीगो विकास विश्वको चिन्ता र चासोको विषय बनेको छ । यसै सन्दर्भमा बौद्ध अर्थशास्त्रको सान्दर्भिकतबाारे अध्ययन अनुसन्धान हुँदै आएका छन् । बुद्ध जन्मेको देश भएका नाताले पनि बौद्ध अर्थशास्त्रबारे शोध खोज गर्नु र त्यसको व्यवहारिक परीक्षण गर्नु हाम्रो दायित्व हुन आउँछ । आत्मिक उन्नतिसँगै आर्थिक स्वाधीनता र आत्मनिर्भरतालाई प्राथमिकता दिने अर्थशास्त्रीय दृष्टिकोण नै बौद्ध अर्थशास्त्र हो । यसले व्यक्तिगत चाहनालाई न्यून गर्नुका साथै सम्पत्तिको सन्तुलित उपभोगमा जोड दिन्छ । बौद्ध अर्थशास्त्रले आर्थिक पर्याप्तता र मानसिक शान्ति एवम खुसीलाई सँगसँगै अगाडि बढाउन उत्प्रेरित गर्दछ । यसले पर्यावरण जगेर्ना एवम् दीगो विकासका निम्ति सचेत भई प्राकृतिक स्रोतहरूको दोहन गर्न सिकाउँछ ।
बुद्ध शिक्षाले अत्यधिक धन सम्पत्तिको सञ्चय र अत्यधिक उपभोगबाट मानिसमा लोभ र तृष्णाको जन्म हुने तर्क गर्दछ । तृष्णाबाटै मानसिक अशान्ति र दुःखको जन्म हुन्छ । अतः अत्यधिक सम्पत्ति र अत्यधिक उपभोग पनि दुःखका कारणहरू हुन् । त्यसैले बुद्धले दुःखका कारणहरूको अन्त्यका निम्ति आर्य अष्टाङ्गिक मार्ग र मध्यम मार्गको प्रतिपादन गरे, जसले मानिसलाई नैतिकता, दया र परोपकारका आधारमा जीवनयापन गर्न प्रेरित गर्दछ । यिनै बौद्ध दर्शनहरूलाई आधार बनाई बौद्ध अर्थशास्त्रको अवधारणा प्रस्तुत गरियो ।
सन् १९७३ मा जर्मनी अर्थशास्त्री ई.एफ. शुमाकरको बौद्ध अर्थशास्त्रसम्बन्धी पुस्तक ‘स्मल इज ब्यूटीफूल’ प्रकाशित भयो । जसमा बौद्ध शिक्षाको आधारमा अर्थशास्त्रको नयाँ प्रारूप प्रस्तुत गरियो । यस प्रारूपमा आत्मिक र भौतिक विकासबीच सन्तुलन कायम गर्न प्रोत्साहन गरिएको थियो । यसैबाट बौद्ध अर्थशास्त्रको जन्म भयो । हामीले बुझ्दै आएको अर्थशास्त्र जहिले पनि बस्तुको उत्पादन, खपत, नाफा र त्यसबाट राज्यको ढुकुटीमा आउने राजस्वको हिसाव¬ किताबमा केन्द्रित हुन्छ । यसको उद्देश्य आर्थिक वृद्धि र भौतक विकास हो, जसले मानिसलाई उपभोक्तावादको दिशातर्फ धकेल्ने गरेको छ । अर्कोतर्फ बौद्ध अर्थशास्त्रले आर्थिक गतिविधिलाई मानिसको भौतिक एवम् मानसिक पक्षबीच सन्तुलनमा राख्न प्रोत्साहित गर्छ । यसका आधारभूत सिद्धान्तहरूमा आत्मसंयम, अहिंसा र दीगो विकास पर्दछन् । जबकि सामान्य अर्थशास्त्रको मापन धन र उपभोगमा आधारित हुन्छ, बौद्ध अर्थशास्त्रले मानिसको आन्तरिक शान्ति, सामाजिक न्याय र पर्यावरणीय स्थायित्वमा ध्यान दिन्छ ।
कसरी उत्पादन भयो र उत्पादित वस्तु कसले प्रयोग ग¥यो भन्ने कुरामा परम्परागत अर्थशास्त्रले कुनै चासो राख्दैन । तर यसको बिपरित बौद्ध अर्थशास्त्रले भने बस्तुको उत्पादन गर्दा जहिले पनि समुदायको हितलाई ध्यानमा दिनुपर्ने र दीर्घकालीन लाभमा जोड दिनुपर्ने कुराको वकालत गर्दछ । साधनहरूको प्रयोग गर्दा दीगो विकासको अवधारणालाई पनि बौद्ध अर्थशास्त्रले कहीँ न कहीँ प्रयोग गरेको मान्न सकिन्छ । बौद्ध अर्थशास्त्रको प्रयोग विश्वका विभिन्न देशहरूमा हुँदै आएको छ । दीगो विकास, सामाजिक समानता र पर्यावरणीय संरक्षणको क्षेत्रमा विभिन्न मुलुकहरूले बौद्ध अर्थशास्त्रको प्रयोग गरेको पाइन्छ थाइल्याण्डका राजा भूमिबोलले ‘पर्याप्त अर्थशास्त्र’ सिद्धान्त प्रतिपादन गरे जसले आत्मनिर्भरता, सामाजिक सन्तुलन र पर्यावरणीय दायित्वलाई प्राथमिकता दिएको छ । उनको पर्याप्त अर्थशास्त्रको अवधारणाको प्रयोगबाट १९९७ मा एसियाली वित्तीय संकटको सामना गर्नु परेको थाइल्याण्डको अर्थतन्त्रमा सुधार ल्याउन सफल रह्यो । १९५६ मा एस.डब्लू.आर.डी. बण्डारनायकेको सरकारको पालामा बौद्ध विचारधारालाई राज्य नीतिमा समाहित गर्ने कार्य सुरु गरिएको थियो । श्रीलङ्कामा बौद्ध अर्थशास्त्रको प्रयोग ग्रामीण विकास, कृषि सुधार र सामुदायिक परियोजनाहरूमा देखिएको थियो । विशेषगरी, निम्न आय भएका समूहहरूलाई आत्मनिर्भरता बढाउन र सामाजिक समानता स्थापित गर्न बौद्ध आदर्शहरूलाई प्राथमिकता दिइयो । यी परियोजनाहरूले पर्यावरणीय सन्तुलन र नैतिक व्यापारलाई पनि प्राथमिकता दिएका थिए । तर आधुनिक विश्वव्यापीकरण र आर्थिक प्रतिस्पर्धाका कारण यो सिद्धान्तलाई पूर्णरूपमा अपनाउन चुनौतीहरूको सामना गर्नु परेको छ ।
भौतिक सम्पन्नतामा आधारित कुल राष्ट्रिय आयले मानव जीवनको वास्तविक सुखलाई मापन गर्न सक्दैन भन्ने निश्कर्षसहित सार्क मुलुक भुटानबाट कुल राष्ट्रिय खुशीको अवधारणा अगाडि ल्याइयो । पुर्वराजा जिम्मे सिम्मे वान्चुकको पालामा कुल राष्ट्रिय खुशीलाई बौद्ध गहनतम विचारधारामा आधारित आर्थिक मोडल प्रयोगमा ल्याइयो, जसले आधुनिक अर्थशास्त्रका नविनतम् विषयहरूको खोजमा लागेका अर्थशास्त्रीहरूका लागि सोचमग्न बनायो र बौद्ध अर्थशास्त्रप्रति चासो जगायो । यही क्रममा सन् २००८ जुलाईमा लागू भएको भुटानको संविधानमा भुटान सरकारको लक्ष्यका रूपमा ‘कुल राष्ट्रिय खुशी’ (जीएनएच) उल्लेख गरियो ।
नेपालको सन्दर्भमा अर्थतन्त्र विप्रेषणमा आधारित रहेको हुँदा अर्थतन्त्रलाई अन्तनिर्भर बनाउन नेपालमा बौद्ध अर्थशास्त्रको प्रयोग प्रासांगिक देखिन्छ । बुद्ध जन्मेको देश नेपालमा सामूहिक कृषि, सामूहिक रूपमा होम स्टे मार्फत् पर्यटनको विकास र आम मानिसको न्यूनतम लगानी सहभागीताबाट साना ठूला जलविद्युतका आयोजनाहरूको उपयोगबाट स्वाधीन अर्थतन्त्रको विकास गर्न सकिन्छ । नेपालको हिमाली र पहाडी क्षेत्रमा स्रोतको सम्भावना पनि अथाह छ । यस्ता स्रोतको उपयोग गर्दा सजगता अपनाउनु जरुरी छ । त्यसैले नेपालमा आर्थिक विकासका कार्याक्रमहरू ल्याउँदा पर्यावरणीय संरक्षण, कृषि र सामुदायिक विकासमा ध्यान दिनु आवश्यक देखिन्छ । यसका साथै सन्तुलित उपभोग र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न बौद्ध शिक्षालाई आधार बनाइ, ग्रामीण अर्थतन्त्रलाई दीगो बनाउन सकिन्छ । यसो गर्न सके मात्र विपे्रषणमा आधारित हाम्रो अर्थतन्त्रलाई अयात प्रतिस्थापन मार्फत् टेवा दिन सकिन्छ । बौद्ध अर्थशास्त्रका आधारभूत सिद्धान्तहरूलाई ग्रामीण क्षेत्रमा कृषि, साना उद्यमहरू र पर्यावरणीय संरक्षणका कार्यक्रमहरूमा लागू गरेर स्थानीयस्तरमा दीगो विकासको उदाहरण प्रस्तुत गर्न सकिन्छ । यसको सुरुवात स्थानीय सरकारहरू मार्फत् गर्नु जरुरी छ । बौद्ध अर्थशास्त्रमा बुद्धको प्रतीत्यसमुत्पादको सिद्धान्तको प्रयोग गरिएको छ । यस सिद्धान्तले मानिस र प्रकृतिको बीच पनि घनिष्ट सम्बन्ध रहने हुँदा विकासको नाममा प्रकृतिलाई नष्ट गर्नु हुँदैन, यदि यसो गरियो भने प्राकृतिक विपत्तिद्वारा मानिसको अस्तित्वलाई नै संकटमा पार्दछ भन्ने कुरा गर्दछ । त्यसैले पनि बौद्ध अर्थशास्त्रले पर्यावरणीय सन्तुलन र दीगो विकासलाई समेटेको पाइन्छ ।
नेपालमा हालै आएको बाढी र पहिरोले दीगो विकास र बौद्ध अर्थशास्त्रको महत्वलाई एक पल्ट फेरि स्मरण गराएको छ । वातावरणीय सतुलनको अभाव, वनजङ्गलको विनाश र अव्यवस्थित निर्माणका कारण बाढी–पहिरो जस्ता विपद्हरू बारम्बार दोहोरिरहेका छन् । देशको राजधानी सहरमा नदीनालाहरू अतिक्रमण गरी सहरी वस्ती वसाइनु र रुखविरुवा रोप्नेभन्दा पनि काट्ने प्रवृत्ति बढ्नु साथै उद्योग तथा कलकारखानाबाट निस्किएका फोहोरहरूको सही व्यवस्थापन हुन नसक्दा प्रदूषण बढ्दै जानुले प्राकृतिक प्रकोपको जोखिम बढाएको छ भने पर्यावरणीय पक्षमा चुनौति खडा गरेको छ । त्यसैले बौद्ध अर्थशास्त्रको दृष्टिकोणले यस्ता समस्याहरूलाई नैतिक उपभोग, प्राकृतिक स्रोतहरूको सदुपयोग र समाजको समग्र कल्याणमा आधारित योजनाहरूबाट समाधान गर्न सुझाव दिने भएकाले हालको सन्दर्भमा नेपालमा पनि बौद्ध अर्थशास्त्रको अवधारणालाई नीतिगत रूपमा लागू गर्न सकिने कुराको वहस हुनु जरुरी छ ।