© २०२३
शैक्षिक सफलताका लागि केही विश्वब्यापी र केही स्थानीय मुद्दाहरू जिम्मेवार छन् । शिक्षा मानसिक अन्तरक्रियामा आधारित हुन्छ । यसकालागि अनुकूल भौतिक वातावरणले महत्वपूर्ण भूमिका खेल्दछ । राज्यको नीतिगत स्पष्टता र प्राथमिकताका आधारमा लगानी गरिएको हुन्छ । सरकारले शिक्षालाई कसरी लिएको छ ? उदाहरणका लागि विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूमा शिक्षामा लगानी बढाउने र २० प्रतिशत बजेट शिक्षामा लगाउने हस्ताक्षर नेपाल सरकारले गरेको छ तर संघ, प्रदेश र स्थानीय सरकारको बजेटमा शिक्षा १०—१२ प्रतिशतमा सिमित छ । विशेषगरी राष्ट्रिय रूपमा एसइई र एसएलसी नतिजामा समस्या देखिएका गणित, विज्ञान र अंग्रेजी विषयको शिक्षक अभाव रहेको छ । नेपालको विद्यालय शिक्षामा ५६ हजार शिक्षक अभाव रहेको बताइन्छ । विद्यालयमा राहत शिक्षक, निजी स्रोतका शिक्षक र कम पारिश्रमिक सुविधामा नियुक्त गरिएका शिक्षकहरू छन् । सरकारले बि सं. २०५७ देखि शिक्षकको दरबन्दी थप गरेको छैन तर विद्यालयको स्तरोन्नति, कार्यक्रम विविधीकरण गरेर कक्षा सञ्चालन गर्ने अनुमति भने दिइरहेको छ । विद्यालयहरू कक्षा थपिरहेका छन् । कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयमा सरकारले दुईजना शिक्षकको अनुदान दिएको छ । बाँकी तीनवटा विषयहरू विद्यालयको निजी ब्यवस्थापनमा सञ्चालन भैरहेका छन् । विद्यालयका तल्लो तहका शिक्षकहरूले कक्षा ११, १२ मा अध्यापन गर्नुपर्दा तल्ला तहका विद्यार्थीको सिकाई प्रभावित भएको छ । जम्मा ३५२२ सामुदायिक विद्यालयमा कक्षा १२ सञ्चालन भएकोमा कम्तीमा पाँचजनाका दरले १७६१० शिक्षक चाहिनेमा सरकारले पाँचहजार मात्र शिक्षकलाई अनुदान दिएको छ । यो २०४४ सालमा उच्च माध्यमिक (कक्षा ११—१२) तह कक्षा सुरू गरेको नेपाल सरकारले अहिलेसम्म दुई विषयकालागि अनुदान र कक्षा १२ को एसएलसी परीक्षा सञ्चालनबाहेक अन्य कुनै प्रकारको दायित्व बोकेको छैन । जब कि विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तह हटाएर कक्षा १२ सम्मको विद्यालय शिक्षामा मिलान गरेको छ । तसर्थ सरकारले गर्ने नीतिगत निर्णयहरू आवश्यक तयारी र प्रभावको मूल्याङ्कन विना हचुवा र गैर जिम्मेवारपना नेपालको विशिष्ट मुद्दा हो । शिक्षा क्षेत्र यस प्रकारको बेथितिबाट बढी आक्रान्त छ ।
नेपालको अर्को शैक्षिक मुद्दा पूर्वाधार हो । विद्यालय भवन, कक्षाकोठा, फर्निचर, ग्राउण्ड, खानेपानी र शौचालयको उपलब्धता भएको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न मान्ने गरिन्छ । तर अधिकांश विद्यालयमा यी सुविधा पनि छैनन् । विद्यालयमा पुस्तकालय, बुक कर्नर, विज्ञान तथा प्रविधि प्रयोगशाला, आवश्यकता अनुसार कम्प्युटर कक्ष, खेल मैदान, खेल सामग्री, खेल शिक्षक, नृत्य तथा संगीत सामग्री र शिक्षक, शिक्षण सामग्री, ग्लोब, नक्सा, चार्टहरू, पजल्स्, एबाकस लगायत गणितीय सामग्री करेसाबारी, बगैंचा तथा सजावट जस्ता थुप्रै भौतिक सामग्री एवम् पूर्वाधार आवश्यक पर्दछ । पूर्वाधारकै क्रममा कक्षाकोठामा मल्टिमिडिया प्रोजेक्टर, इन्टरनेट, मोबाइल र कम्प्युटरको प्रयोग गरी शिक्षणका लागि आवश्यक प्रविधि ग्याजेट्स् र सिप सिकाउने शिक्षकको आवश्यकता छ । दुर्भाग्य मोबाइल जफत गर्ने बानी परेका शिक्षकले कम्प्युटरको प्रयोग गरेर कसरी सिकाउलान् ? सिकाउने होइन आफूले सिक्नपनि नचाहने शिक्षकको जमात ठूलो छ । कहिलेकाँही सिकाउन चाहेको समयमा समेत प्रतिकूल विद्यालय वातावरणको बहानामा सिकाईप्रति विकर्षण देखाउने धेरै शिक्षकहरू छन् । कोभिड—१९ ताका विद्यालय बन्द रहँदा केही प्रविधिमैत्री शिक्षण—सिकाइको अभ्यास भयो । त्यसले निरन्तरता पाउन सकेन । उल्टै लकडाउनताका बालबालिकाले मोबाइल चलाउन सिके र बिग्रिए भन्ने भाष्य निर्माण गरियो । पूर्वाधार र प्रविधिको अभावमा हाम्रो शिक्षण कार्य निरन्तर रूपमा परम्परागत पढ्ने, लेख्ने, सुन्ने क्रियाकलापमा सिमित हुन पुगेको छ । तसर्थ शिक्षामा सुधार ल्याउने हो भने विद्यालयहरू भौतिक पूर्वाधार र सामग्री सम्पन्न हुनुपर्छ । यसकालागि तीन तहकै सरकारले शिक्षा विकासमा लगानी बृद्धि गर्नुपर्छ । त्यसैगरी प्रविधिको शिक्षा कार्यमा ध्यान दिनुपर्छ । उदाहरणका लागि अहिले मोबाइल लर्निङ्गलाई प्राथमिकताका साथ लागू गर्नुपर्छ । असी प्रतिशतभन्दा बढी मानिसहरूसँग स्मार्ट मोबाइल फोन छ । इन्टरनेट वाइफाइको सरल पहुँच बढाउनु आवश्यक छ । त्यसपछि हाम्रो औपचारिक शिक्षा र थप सामग्री मोबाइलमा उपलब्ध हुन्छ । विद्यालयमा समेत सामाजिक सञ्जाललाई ब्लक गरेर मोबाइल चलाउने गराउन सकिन्छ । विद्यार्थीलाई मोबाइलको सुरक्षित र उपयोगी प्रयोगकालागि अनुशिक्षण गर्ने र स्वयम्ले के हेर्ने र के नहेर्ने सही निर्णय गर्नसक्ने बनाउनु आवश्यक छ । सही र गलतबारे सचेतना बढाउने हो । मोबाइलको प्रयोग नै रोकेर न सम्भव छ न प्रगति नै हुन्छ । अब प्रविधियुक्त शिक्षण नगर्ने शिक्षकलाई अभिभावक, विद्यार्र्थी र ब्यवस्थापनले चुनौति दिनुपर्छ ।
वास्तवमा शिक्षाको प्रगति वा दुर्गति विद्यालय वा कलेजका प्रधानाध्यापक वा प्रमुख नेतृत्वको प्रभावमा परेको देखिन्छ । प्रधानाध्यापक दूरदृष्टि, लक्ष्य र उद्देश्य प्राप्तिका लागि नेतृत्व एवम् ब्यवस्थापकीय भूमिका खेल्ने नायक हुनुपर्छ । जुन विद्यालयको प्रधानाध्यापकमा कुनै नवीन विचार, सोंच र ईच्छाशक्ति प्रबल छ, त्यस विद्यालयको प्रगति भएको छ । तर जुन विद्यालयको प्रधानाध्यापक अल्छी वा यस्तै हो भैहाल्छ भन्ने सोंच वा सबै शिक्षकहरूलाई समान ब्यवहारले उत्प्रेरित गर्न सक्दैन भने त्यो विद्यालय बिग्रँदै जान्छ । मुख्यगरेर नेतृत्वमा दृष्टिकोण र सिर्जनशीलताको आवश्यकता पर्दछ । कुनै निश्चित स्वार्थकालागि बनेको नेतृत्वबाट कुनैपनि संस्थागत विकास सम्भव हुदैन । तसर्थ दक्ष प्रधानाध्यापकको नियुक्तिका लागि छनोट परीक्षा प्रणाली लागू गर्नु बाञ्छनीय छ । त्यसैगरी प्रधानाध्यापकको कार्यक्षमता अनुसार आवधिक पुनरावलोकन गरी निश्चित समयसम्म मात्र प्रधानाध्यापक बनाउने गर्नु राम्रो हुन्छ । प्रधानाध्यापकको नियुक्ति र कार्यक्षमता पुनरावलोकनको सँगसँगै शिक्षकका कार्यको सुपरिवेक्षण, उपचारात्मक पृष्ठपोषण, नतिजाका आधारमा प्रोत्साहन र सजाय, अवसर र जिम्मेवारीको सन्तुलन कायम गर्नु आवश्यक छ ।
नेपालमा विद्यालय शिक्षकको पेशागत दक्षता शिक्षा विकासमा अर्को प्रमुख चुनौतिका रूपमा देखापरेको छ । शिक्षकको विषयवस्तु सम्बन्धि ज्ञान र शिक्षण विधि प्रविधिको उपयोग कमजोर छ भने परिवर्तित ज्ञानसँग अद्यावधिक हुने र ज्ञानलाई कार्यक्षेत्रमा उपयोग गर्ने परम्परा छैन । सिकाइ एउटा निरन्तर प्रक्रिया बन्न सकेको छैन । शिक्षण पेशामा लाग्ने मानिसहरूमा अध्ययनशीलता, नयाँ नयाँ ज्ञानको खोजी गर्ने, अनुसन्धनात्मक कार्यमा संलग्न हुने बानी हुनुपर्दछ । शिक्षकहरूलाई स्वाध्ययन कार्यमा लगाई प्रतिबिम्बन लेखन गराउन सकियो भने विषयवस्तुको ज्ञान बढ्ने थियो । तालिम कार्यक्रममा अनलाइन अफलाइन सन्दर्भ सामग्रीहरू खोज्ने, अध्ययन गरी विश्लेषणात्मक टिप्पणी लेख्ने कार्य गराउन सकिन्छ । कार्यमूलक अनुसन्धानलाई अनिवार्य गर्ने, अन्य शैक्षिक अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने र प्रतिवेदन प्रकाशन गर्ने कार्यमा स्थानीय तहले भूमिका खेल्न सक्दछ । त्यसैगरी विद्यालय सुरक्षा पनि चुनौति बनेको छ । एकातिर बालमैत्री शिक्षणको सही प्रयोगका लागि वातावरण बनेको छैन । अर्कातिर शिक्षकले विद्यार्थीमाथि गर्ने शारीरिक, मानसिक र लैंगिक हिंसा र यातनाका कारण पनि विद्यार्थीको कार्यक्षमतामा प्रभाव परेको पाइन्छ । यी विभिन्न पक्षको समुचित ब्यवस्थापन हुन सक्यो भने मात्र गुणस्तर बृद्धि हुनेछ । वास्तवमा गुणस्तरका लागि आवश्यक शिक्षकको आपूर्ति, शिक्षक शिक्षा, भौतिक पूर्वाधार र सुविधाको प्रबन्ध, दूरदृष्टि भएको प्रधानाध्यापक, सुरक्षा र प्रमुखरूपमा लगानी बृद्धि नगरीकन गुणस्तरको गफ गर्नु उपयुक्त हुदैन ।
महान् नाटककार विलियम सेक्सपियरले भनेका छन कि कुनैपनि वस्तुको सुन्दरता हेर्नेको दृष्टिकोणमा निर्भर गर्छ । नेपालमा तथाकथित बुद्धिजीवी वा अभियन्ताहरू कुनै अदृश्य लेन्स्बाट हेर्छन् र सोही अनुसार ब्याख्या र ठोकुवा गर्दछन् । शिक्षा क्षेत्रमा हुने बहस वा सन्देश सम्प्रेषणले यस क्षेत्रमा लाग्नेहरूलाई उत्प्रेरणा होइन हीनताबोध गराउने प्रयत्न गरेका हुन्छन् । यो नेपाली समाजको विशिष्ट मुद्दा हो ।