© २०२३
दशैंको विदा सुरु हुन लाग्दैछ । गर्मीलाई विदाइ गर्दै चिसो यामलाई स्वागत गर्ने समय हो यो । त्यसैले घुमफिर गर्ने अनुकुल मौषम पनि । केटाकेटीको स्कूल विदा, जागिरेको सार्वजनिक विदा र आन्तरिक पर्यटनका निम्ति पाइने थप विदाको सदुपयोग गर्ने उचित समय पनि । त्यतिमात्र होइन, दशैं तिहारको मौका छोपी लामो विदा लिएर चाड मान्न फर्किने लाहुरेहरूको आगमन पनि यही समयमा हुने गरेको छ । यिनै कारणहरूले गर्दा दशैंको वरिपरिको समय आन्तरिक पर्यटनको लागि उचित समय बन्ने गरेको छ ।
तपाईं पनि यदि दशैंतिहारको समयमा घुमफिर गर्ने सोँच बनाउनु भएको छ भने काठमाडौंका चार योगिनीस्थल एउटा उचित विकल्प हुन सक्दछ । हिन्दू एवम् बौद्ध दुबैले आस्थाको रूपमा मानिने योगिनी तीर्थस्थल कला, संस्कृति, आध्यात्म र शान्ति मात्र होइन, ती स्थलको वरिवरि रहेका मनोरम प्राकृतिक दृश्यले जोकोहीलाई आकर्षित गर्न सक्दछ । काठमाडौंको नेवार तान्त्रिक बुद्धिजममा फर्फिङको (बज्रयोगिनी), साँखुको खड्गयोगिनी (बज्रयोगिनी), विजेस्वरी (आकासयोगिनी) र गुहेश्वरी गरी चार योगिनीहरूका मन्दिरहरू निकै महत्वपूर्ण मानिन्छ । बौद्ध मार्गीहरू मात्र होइन, यी मन्दिरहरू हिन्दूहरूका लागि पनि उत्तिकै आस्थाका क्षेत्र मानिन्छन् ।
योगिनीलाई बज्रयोगिनी पनि भन्ने गरेको पाइन्छ । प्रज्ञा र उपायको योग प्रज्ञोपाय पनि योग नै हो । यस किसिमको योग कसैले कसैगरी पनि तोड्न नसक्ने भएकोले बज्रसमान मानिन्छ । यसै सन्दर्भमा यी देवीलाई बज्रयोगिनी पनि भन्ने गरिएको हो । वज्रयोगिनी एक स्वभाविक, शुद्ध प्राकृतिक अवस्था हो । कमलको फूल जस्तै । त्यहाँ कुनै कृत्रिमता हुन्न । सत्यलाई कुनै आवरण नचाहिने अर्थमा वज्रयोगिनीका मूर्तिहरू वस्त्रविहिन हुन्छन् । बज्रयोगिनीको अवधारणा बज्रयानमा पाइन्छ । बज्रयोगिनीको अवधारणाले बौद्ध धर्ममा महिलाहरूलाई दिइने सम्मानलाई पनि जनाउँछ । वज्रयोगिनीको स्थान शरीर बाहिर होइन ।
१) फर्फिङको बज्रयोगिनी
फर्फिङको बज्रयोगिनीको मन्दिर काठमाडौँको उत्तरपूर्वी भागमा करिब २० किलोमिटर टाढा अवस्थित छ । गुँबाहा, जसको अर्थ नेवारी भाषामा ‘मनोरञ्जनात्मक वन स्थान’ हो, यही नै बज्रयोगिनीको मन्दिर रहेको छ । नामबाट पनि अनुमान गर्न सकिन्छ, केवल तीर्थ स्थल मात्र होइन, यो क्षेत्र मनोरन्जन पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । फर्पिङ्गमा अवस्थित बज्रयोगिनी मन्दिर समुद्री सतहदेखि लगभग १,५८५ मिटर (५,२०० फिट) उचाइमा अवस्थित छ । त्यसैले यहाँको हावापानी चीसो रहेको छ । फर्पिङ्गलाई तिब्बती भाषामा याङ्गलेशो भनिन्छ । यहाँ तिब्बती बौद्ध गुरु पद्मसंभवाले महामुद्रा विद्याधारा स्तरको बोध प्राप्त गरेका थिए । फर्पिङ्गमा असुर गुफा र याङ्गलेशो गुफा गरी दुई प्रमुख गुफाहरू छन् । असुर गुफामा जाने सिडीको आधारमा फर्पिङ्ग वज्रवाराही मन्दिर छ, जुन एक पुरानो र निकै महत्वपूर्ण वज्रयोगिनी मन्दिर हो ।
१७ औं शताब्दीको नेवारी भवनमा राखिएको यो वज्रयोगिनी वज्रयोगिनी तन्त्रका परम्परागत गुरुहरूसँग सम्बन्धित मानिन्छ । मन्दिरको भवन तीन तल्ले रहेको छ । भवनको माथिल्लो तलामा रहेको मुख्य मूर्ति साँघुरो घुम्ने बाटोले घेरिएको छ । वज्रयोगिनीको मूर्ति रातो रंगको छ, दाहिने खुट्टा जमिनमा र बायाँ खुट्टा सोझै आकाशतर्फ उठाइएको छ, जुन उनको बायाँ हातले तानेको जस्तो देखिन्छ । बज्रयोगिनीलाई फाम्थिङ्ग योगिनी, उद्धपाद योगिनी, इन्द्र योगिनी, वा नील तारा भनेर पनि चिनिन्छ ।
काठमाण्डौं दहलाई आफ्नो तरबारले डाँडा काटी पानी बगाएर बस्न योग्य बनाउने मन्जुश्रीले पनि बज्रयोगिनीबाट आशिर्वाद लिएका थिए भन्ने मान्यता रहेको छ । यस पवित्र क्षेत्रमा दिनहुँजसो स्वदेश एवम् विदेशबाट पर्यटकहरू आउने गर्दछन् । खास गरी यहाँको मन्दिर र मन्दिरदेखि गुफासम्मको बीचमा रहेको सुन्दर प्राकृतिक दृश्य एवम् फूलहरूले जो कोहीलाई स्वागत गरेको जस्तो देखिन्छ । तान्त्रिक साधना एवम् ध्यान गर्ने साधकहरूका लागि त यो क्षेत्र निकै पवित्र मानिएको छ ।
२) साँखुको बज्रयोगिनी
साँखुको बज्रयोगिनीको मन्दिर प्रचीन मन्दिर हो । दोस्रोदेखि नवौँ शताब्दीसम्मको लिच्छिवीकालको साँखुको बस्ती काठमाडौँ उपत्याकाको उत्तर पूर्वी कुनामा तिब्बत जाने प्राचीन व्यापारिक मार्गमा अवस्थित छ । बज्रयोगिनीको मूर्तिको उत्पतिको विषयमा धार्मिक ग्रन्थमा पनि उल्लेख गरिएको छ । ती ग्रन्थअनुसार पृथ्वीमा भर्खर भर्खर भीमयुग सुरु भएको थियो । हाल यो मन्दिर रहेको स्थानमा ढुँगाको कापबाट पाँच रंगको आगोको ज्वाला उत्पन्न भयो । त्यहि आगोको ज्वालाबाट ज्वालामुखीदेवि उत्पत्ति भइन् । कालान्तरमा यिनै देवी बज्रयोगिनी देवीको रूपमा प्रसिद्ध भइन् ।
काठमाठौंको उत्तरी भेगको सुन्दर मणीचुड पर्वतको दुई पहराको बीचमा स्थापना गरिएकी देवी हुन् बज्रयोगिनी । यहाँ भएको बौद्ध चैत्य काठमाडौंको बौद्ध चैत्यको भन्दा पनि निकै पूरानो मानिएको छ । तिब्बती सम्राट संगचङ गम्पो र भृकुटीको विवाह पनि यही मन्दिरमा भएको मानिन्छ । छैठौँ शताब्दीतिर भृकुटीसँग विवाह भएपछि सम्राट गम्पोले बौद्ध मूर्ति एवम् ग्रन्थहरू यही मन्दिरबाट तिब्बत लगेको पनि मानिन्छ ।
खड्ग योगिनी बज्रयोगिनी कै एक प्रतिरूप हुन् । उनको एक हातमा खड्ग रहेको छ । यो खड्ग अज्ञानता र भ्रान्तिलाई काट्ने अस्त्रको रूपमा रहेको मानिन्छ । खड्गले सत्वहरूको रक्षा र खराब तत्वको नाश गर्ने पनि मान्यता छ ।
प्रत्येक वर्ष यहाँ बज्रयोगिनीको जात्रा निकाल्ने चलन छ । जात्रा निकै रमाइलो र हेर्न लायक रहन्छ । यो जात्रा चैते दशैँका दिनबाट सुरु हुन्छ । जात्रा आठ दिनसम्म मनाइन्छ ।
जात्रा सुरु भएको दिनदेखि साँखु नगरभित्रका बासिन्दाले छाला जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्ने गर्न नपाउने मान्यता छ । मल्लकालमा जात्रा अवलोकन गर्न राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ । राजा रानीले समेत महत्व दिएबाट यस जात्राको निकै ठूलो गरिमा रहेको प्रष्ट हुन्छ ।
३) विजेस्वरी/आकासयोगिनी
बज्रयान बौद्ध धर्ममा स्त्री शक्तिलाई विशेष महत्व दिएकोे छ । तीमध्ये विजयश्वरी अर्थात् आकाशयोगिनी पनि एक मानिएको छ । आकाशमार्गबाट आएको विश्वांसमा विजयश्वरी योगिनीलाई आकाशयोगिनी पनि भनिन्छ । प्रसिद्ध स्वयम्भू महाचैत्यबाट पूर्व र मध्य काठमाडौँ निर्मलतीर्थको नीलगिरि (नीलकूट) तथा उदयाञ्चल पर्वतको डाँडामा विजयश्वरी योगिनीको मन्दिर स्थापना गरिएको छ । काठमाडौं उपत्यकाको उत्तरी भागमा विजेश्वरी नामक एक नेवार बौद्ध मन्दिर छ । तिब्बती बौद्धहरू र नेवार हिन्दूहरू पनि यो मन्दिरमा विजेश्वरी अर्थात् आकाशयोगिनीको पूजा गर्न आउँछन्, जो यस मन्दिरकी मुख्य देवी हुन् । मन्दिरको मुख्य सभाहलमा तीन अन्य योगिनीहरू पनि प्रतिष्ठित छन्, वज्रयोगिनी, वज्रवाराही, र खड्गयोगिनी ।
विजयश्वरीको स्थापना वज्रपाद वज्राचार्यले गरेका हुन् । उनले आफ्ना शिष्यलाई ज्ञानबाट पारङ्गत गर्ने कार्यमा जीवन अर्पण गर्दा पनि कहिल्यै जस पाउन नसकेकाले खिन्न भएर पनौती देश छोडी कान्तिपुरको निर्मलतीर्थ भचाखुसि छेवैमै बस्न आएछन् ।
दिनहुँ बिहानीपख त्यस नदीमा नुहाई धुवाई श्री स्वयम्भूको दर्शन गरी नदीबाट ल्याएको बालुवाकोे चैत्य बनाई पूजाआजा गरी पीपलको पातमा ‘ओँं मणि पद्मे हुँ’ लेखेर खोलामा सेलाउने र साँझमा त्यसैमाथि रहेको करवीर श्मशानमा बसी ध्यान योग गर्ने दिनचर्या बन्यो वज्रपादको । छ वर्षपछि एकदिन वज्रपाद सधैँझैँ योगसाधनामा बसिरहँदा रातो वस्त्रधारण गरेकी, दायाँ हातमा कर्ति र बायाँ हातमा चाँदीको पात्र आदि लिएर उफ्रेजस्तो मुद्रामा आकाशयोगिनी विद्याधरी देवीकोे ज्योति रूप प्रकट भई वज्रपादलाई दर्शन मिल्यो । देवीले वज्रपादको पुरश्चरणबाट प्रसन्न भई अष्टसिद्धिको वरदान दिई अब उप्रान्त खिन्न हुनुपर्दैन र तिमीले गरेका हरेक कार्य सफल हुँदै जानेछन् भनी आशिर्वाद दिइन् । वज्रपादले देवीलाई सदैव त्यहीँ बसिदिन प्रार्थना गर्दा उनले आकाशमार्गमै विचरण गर्दै सम्पूर्ण प्राणीलाई रक्षा गरी हिँड्नुपर्ने भएकाले आफ्नो ज्योति छोडी त्यस ज्योतिलाई सधैँ पूजा गर्नु भनी अन्तध्र्यान भइन् । यही ज्योति र आकाशमा आफूले देखेको आकृतिअनुसार वज्रपादले विजयश्वरी देवीको स्थापना गरे ।
४) गुहेश्वरी
स्वयम्भू पुराणमा लेखिए अनुसार बिश्वभूले नागबास दहमा प्रज्ञा स्वरूपमा गुह्येश्वरी उत्पन्न हुने छन् भनी भविष्यवाणी गरेका थिए रे । उनले एक जना बोधिसत्वले गुह्येश्वरीलाई पानीबाट उकाली प्रकाशमा ल्याउने छन् अनि त्यो ठाउं स्वयम्भूको आशिर्वादले बस्तीयोग्य बन्नेछ भन्ने कुरा पनि उल्लेख गरिएको छ ।
स्वयम्भू पुराणमा बर्णित बोधिसत्व भनिएको मंजुश्रीलाई गुह्येश्वरीको दर्शन मिल्यो उनले गुहेस्वरीको बन्दना गरे । त्यहाँको पानी निकाली वस्ती योग्य बनाए । साथै कमलको डॉठ समातेर लगी नजिकको डॉडा पद्मगिरि (स्वयम्भू डॉडाको चार नाउ)ं राखे । यसप्रकार गुह्येश्वरीलाई महायानी योगिनीहरू मध्ये एक प्रमुख योगिनी मानिन्छ । माहायानी बौद्ध धर्ममा गुहेस्वरीलाई नैरात्माको रूपमा लिइन्छ । त्यसैगरी हिन्दूहरूले पनि देवीको रूपमा पूजा पाठ गर्ने प्रचलन छ । नैरात्मा हेबज्रको स्त्री शक्ति हुन् । बज्रयानी हरूको लागि हेबज्र पुरुष शक्ति हुन् । नैरात्मा स्त्री शक्ति प्रज्ञा स्वरूप हुन् । गुह्येश्वरी शक्ति पीठलाई बज्रयानी हरूले चार योगिनीहरू मध्येकी पाताल– योगिनी पनि भनेर मान्दछन् । गुह्येश्वरी बारेमा हेरुकचक्रसंबर भन्ने बज्रयानी ग्रन्थमा बिस्तृत बिवरण दिइएको छ ।
गुह्येश्वरी शक्ति पीठको जात्रा नेपाल सम्बत् ७७४ ( बिक्रम सम्बत् १७११) सालतिर राजा प्रताप मल्लको पालामा बार्षिक जात्रा चलाउने शुरु भयो भन्ने मान्यता छ । यस जात्रामा खटमा राखिने मूर्ति हनुमान ढोका तलेजु भवानीको गेटबाट बाहिर निकालेर ल्याएर खटमा राखेपछि मात्र दर्शन गर्न पाईन्छ । यस मूर्तिलाई खटमा राखेर सानो बाजागाजा को साथ गुह्येश्वरीका गुठीयारहरूबाट गुह्येश्वरी शक्ति पीठ मा लगेर राखिन्छ । सो सॉझदेखि भोलिपल्ट दिउसो करिब पाँच बजेसम्म सो मूर्तिलाई शक्ति पीठमा नै राखेर पूजा हुन्छ । भोलिपल्ट सॉझतिर पूजामा चढाइएको सम्यह्यबजी सबैलाई बॉधेर खुवाउने चलन छ । यो प्रसाद ग्रहण गर्नाले शक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ ।
बज्रयान एवम् तिब्बती बौद्ध धर्ममा योगिनीको आध्यात्मिक र प्रतीकात्मक अर्थ रहेको छ । हिन्दूहरूका लागि पनि उत्तिकै महत्वका यी देवी उच्च तान्त्रिक साधना गर्ने महिला हुन् । उनीहरूमा आध्यात्मिक ऊर्जा रहेको हुन्छ, जसले साधकलाई तान्त्रिक साधना गर्ने समयमा प्रोत्साहन प्रदान गर्दछन् । पूरातात्विक एवम् आध्यात्मिक दुबै दृष्टिले यी स्थलहरू पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान गर्नसक्ने सम्भावना बोकेका क्षेत्रहरू हुन् । तर, यिनको प्रचार प्रसारको कमीका कारण स्वयम् देशभित्र पनि मानिसहरूलाई त्यति जानकारी छै्रन । यिनको बारेमा बज्रयानी बौद्ध धर्म मान्ने तिब्बत, चीन, जापान लगायतका मुलुकका बौद्धमार्गीहरूसम्म प्रचार प्रसार गर्ने हो भने नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्न सक्दथ्यो । अतः काठमाडौंको नेवारी बौद्ध धर्म, संस्कृति र पूरातात्विक महत्वलाई उजागर गर्ने यी क्षेत्रहरू आध्यात्मिक एवम् पर्यटकीय दुबै दृष्टिले महत्वपूर्ण मानिन्छन् । यस्ता क्षेत्रको संरक्षण, प्रवर्धन र प्रचारप्रसार गर्न सके धार्मिक एवम् सांस्कृतिक पर्यटनमार्फत् मुलुकको आर्थिक विकासमा समेत ठूलो टेवा पुग्न सक्दथ्यो ।
[email protected]