© २०२३
बुटवल, ८ कार्तिक ।
भारतले ट्वान्टी २० विश्वकप सुपर–१२ को समूह–२ मा आइतबार पाकिस्तानमाथि सनसनीपूर्ण चार विकेटको जित निकालेको छ । जितका लागि १ सय ६० रन पछ्याएको भारतले अन्तिम बलमा विजयी रन बटुलेको थियो । रविचन्द्रन आश्विनले विजयी रन बटुले र भारत ६ विकेट गुमाएर जितसम्म पुगेको हो । भारतको जितमा विराट कोहली नायक रहे । उनले हारको संघारमा रहेको भारतलाई सम्झनालायक जित दिलाएका थिए । कोहलीले ५३ बलमा ८२ रनको योगदान दिए । उनले ६ चौका र ४ छक्का प्रहार गरेका थिए । भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको थियो । कोहलीले १९ औं ओभरको अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै भारतलाई खेलमा फर्काएका थिए । कोहलीले पान्ड्यासँग चौथो विकेटका लागि १ सय १३ रनको साझेदारी गरे । पान्ड्याले ३७ बलमा ४० रन बनाए । भारतले १० रन बनाउँदासम्म कप्तान राहुल शर्मा र केएल राहुललाई गुमाएको थियो । टस जितेर भारतले पाकिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । त्यसक्रममा पाकिस्तानले ८ विकेटमा १ सय ५९ रन बनाएको थियो । सस्तोमै प्रारम्भिक ब्याटर जोडी गुमाएको पाकिस्तानका लागि सन मसुदले ५२ र इफटिखर अहमदले ५१ रन बनाए । उनीहरूले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । मसुदले नटआउट रहने क्रममा ४२ बलमा पाँच चौका प्रहार गरे । अहमदले भने ३४ बलमा दुई चौका र चार छक्का प्रहार गरे । भारतीय बलरमध्ये पान्ड्याले ३० रनमा तीन विकेट लिए ।