© २०२३
हरेक विषयवस्तुमा समय अनुसार नविनताको खाँचो पर्दछ । त्यसैले होला विशेषगरी नेपाली त्यसमा पनि हिन्दु महिलाहरूले तामझामका साथ मनाउँदै आएको तीज पर्व फरक ढाँचामा देखिन लागेको छ । आजभन्दा पाँच दशक पहिले महिलाहरूले लगाउने पोशाक र आजको पोशाक (फेसन) मा जमिन आकासको फरक छ । त्यतिवेला लगाउने गरगहना र आजभोली लगाउने गरगहनामा पनि उस्तै फरक आएको छ । पहिले लगाउने गहनामा पनि सुन र चाँदीका थिए र आज लगाइने गहना पनि सुन र चाँदीबाट बनाइएका हुन् । तर, यसको ढाँचामा निकै फरक आएको छ । त्यतिवेला खेलिने पिङहरू आज धेरै लोपोन्मुख अवस्थामा पुगेका छन् । पहाडी प्रदेशमा केही बचेको हुनसक्छ भने तराई र भित्री मधेशमा लोपोन्मुख अवस्थामा पुगेका छन् । अरू त अरू तीजमा प्रयोग गरिने जमिन पनि फरक आएको छ । कतिपय त्यस्ता सार्वजनिक स्थलहरू आज धेरै ठाउँमा कसै न कसैको कब्जामा परेका छन् या ती उपयोगविहीन बनाइएको छ । हिंजो भएका वस्तुहरू धेरै फेरिएका छन् । आज महिलाहरू नृत्य गर्ने स्थान सार्वजनिक स्थान त होलान तर कतिपय गाउँठाउँमा विद्यालय वा मन्दिर परिसर रहेका छन् । धेरैजसो जमिन साँगुरो भएको छ ।
कुनैपनि मुलुकको समृद्धिका निम्ति महिलाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । तीजको दिन महिलाहरूको सम्मान गर्ने दिन पनि हो । परापूर्व कालमा हरेक दिन महिलाहरू घरको काममा व्यस्त रहे पनि तीजको दिनमा उनीहरूलाई पूर्ण स्वतन्त्रता रहन्छ । उनीहरू स्वछन्द हिसाबले यो पर्व मनाउने गर्दछन् । यसकारण तीज पर्व परापूर्वकालदेखि मनाउँदै आइएको एउटा विशिष्ठ पर्व हो भन्न सकिन्छ । तीज पर्वलाई राम्रो लगाउने र नाचगान गरेर मनाउने र शिव पार्वतीको पूजा गर्ने गरिन्छ । तीजको अघिल्लो दिन अर्थात द्वितीया तिथिका दिन साँझ मिठा परिकार पकाएर खाने अनि दोस्रो दिन ब्रत बस्ने प्रचलन रहेको छ । द्वितीयाको दिन खाइने परिकारलाइ दर भन्ने गरिन्छ । दर खासगरेर खिर वा ढाक्नेलाई भन्ने गरिन्छ । यसको साथमा विभिन्न थरिका तरकारी तथा अचारविचार रहने गर्दछन् । दर रातको समयमा खाने गरिन्छ । सन्ध्याकालमा गाउँ छिमेकका महिलाहरू जुटेर नाचगान गरेर रमाइलो गर्ने अनि रातमा दर खाएर आराम गर्ने, भोलीपल्ट अर्थात तीजका दिन ब्रत बस्ने, दिउँसोपख नाचगान गरेर रमाउने प्रचलन छ । यसरी पहिले पहिलेका दिनमा तीजको दिनको नाचगान गर्ने समयमा आफूलाई परेका पीडा तथा मर्मका कुराहरूसंग सम्वन्धित गीतहरू गाउने समेत गरिन्थ्यो ।
तीजमा खासगरेर माइत जाने चलन छ । त्यसैले चेलीलाई लिन जाने चलन छ । पहिले पहिले आफै छोरीको घरमा बाबु पुगेर छोरीलाई लिएर आउने गरिन्थ्यो । आफू जान नसक्ने अवस्था भए घरका अरू कुनै सदस्यलाई पठाउने त्यो पनि नभए बाबुले चिठी लेखेर छोरीको घरमा गाउँ छिमेकको सहयोगमा लिएर पठाउने गरिन्थ्यो । आज समय फेरिएको छ । एकातर्फ हात हातमा भएका मोवाइल फोनबाट निम्तो दिने वा कुनै साधन पठाएर लिएर आउने गरिन्छ । अझ त्यसमा पनि कतिपयका छोरी विदेशमा पुगेका छन् । उनीहरूलाई तीजको शुभकामना दिने भन्दा अरू केही सम्भव छैन । नयाँ प्रविधिको प्रयोग गरेर छोरीले आफू विदेशमा नाचे, गाएको आफ्ना बाबुलाई पठाइदिने पनि गरिन्छ । कतिपय छोरीहरू विदेशमा यस्तै गरेर रमाएका छन् । पहिले पहिले छोरीलाई लिन बाबु उनको घरमा गएनन् भने अति बिलाप गरेर रुने गरेको सुन्न पाइन्थ्यो । तर आज ंंंं……?
तीजमा खासगरेर ब्रत बसेर दिनभर नाचगान गरेर रमाइलो गरेपछि साँझमा शिव पार्वतीको पूजा गर्ने चलन छ । तर, सबै ब्रत बस्नेहरूले यसरी पूजा गर्दैनन् । कतिपय महिलाहरूले दिनमा कुनै मन्दिरमा गएर शिवको पूजा आराधना गर्ने गर्दछन् । तीज पर्वको वर्तलाई विवाहित महिलाहरूले पतिको दिर्घायूको कामना गर्ने र अविवाहितले सुयोग्य बर पाइयोस् भनेर ब्रत बस्ने गर्छन भनिन्छ । यसमा कति सत्यता छ ? यो भन्नेहरूले जानुन । तर यो आज भनिएको कुरा होइन परापूर्व कालदेखि भनिदै आएको कुरा हो । यसले तीजको गरिमा उँचो छ र एक प्रकारले महिलाहरूको संगठित हुने दिन पनि हो भनेर भन्न सकिन्छ ।
वर्तमानको कुरा गर्दा हिंजो परम्परागत रूपमा गाइने तीजका गीतहरू करिव लोपोन्मुख अवस्थामा पुगेका छन् । कतिपय गीतहरू अलिक कर्ण अप्रिय पनि रहेका छन् । तीज भने पछि महिलाहरू मिलेर नाच्ने गाउने भन्ने बुभिन्छ तर अव त बीच बीचमा पुरुषहरू पनि नाच्न तम्सेको देखिन्छ । यता दर खाने नाममा एक महिना पहिलेदेखि कहिले समूहले त कहिले क्लवको नाममा दिनहूँ विताउने गरेको देखिन्छ । जसले समाजलाई नयाँ रूप दिनुपर्छ भन्ने गर्दछन् । यस्ता कार्यमा बढ्ता उनीहरूको उपस्थिति देखिन्छ । यस्तो नयाँपन भए विकृति के हो ? हाम्रो परम्परा र संस्कृतिलाई हामी आफैले भुत्ते पार्दै छौं । निर्जल ब्रत बस्ने भएकाले र तीजपर्वमा नाचगान गर्दा शरीरको उर्जा खर्च हुन्छ भनेर सायद यसको आरम्भमा दर खाने प्रचलन थालिएको हुनु पर्दछ । तर हामीले यसलाई कहाँ पु¥यायौं ?हामीलाई नै थाह पत्ता हुन छोडेको छ । आजभोली हातले मादन मुरली वा अन्य संगीतका सामग्रीहरू बजाएर नाच्ने प्रचलन हटेको छ । खाली ताली मात्र बजेको छ । यो प्रचलन कहाँबाट कहिले प्रवेश ग¥यो थाहा छैन । यो मामलामा हामी उठन नसक्ने गरी फसेको छौं । हाम्रो कला संस्कृति कता लोप भयो भयो ? हामी नै जानकार छैनौं । शिव मन्दिर भएका स्थानमा सायद दिनमा कसैले पूजा आजा गर्छन होला धेरै ठाउँमा यो पूजा आजा पनि कमी हुँदैन गएको छ । पूजाआज गर्नै पर्छ यो पनि होइन तर तीजको मर्म अनुसार पालन गर्नुपर्ने सामान्य काम कुरा त नछोडेको भए राम्रो हुन्थ्यो भन्ने मात्र हो । आजभोलीको पहिरन मन पराउनेहरूले पहिलेका पहिरन प्रयोग गर्नेहरूलाई असभ्य भन्छन होला । आजभोली हरेक कुरा जमानामा लगेर जोडने गरेको पाइन्छ ।
हामीले नस्वीकारेको भए जमानाले जवरजस्त भिराउने थियो र ? यो त सबै हाम्रो विचारमा भर पर्ने कुरा हो । यसका वारेमा एकपटक सबैजना घोत्लिन पर्दछ । हामीले जमाना भनेर कस्तो शिल स्वभाव र सभ्यता हुलिरहेका छौं ? जमानाको कुरा गरेर हामीले आफ्नोपन त्याग्दै गयौं भने भोली कहाँ पुगौंला ? समय परिवर्तनशील छ । यसलाई सही तरिकाले परिवर्तन गरेर देखाउन सक्नु हाम्रो महानता हो । यस बर्षको तीज पर्व यही भाद्र २१ गते शुक्रबारका दिनमा परेको छ । यस पर्वमा रमाउने र पर्वलाई पर्वको रूपमा मनाउने सम्पूर्ण दिदी बहिनीहरूमा हार्दिक शुभकामना । यहाँहरूले आफ्नो स्वास्थ्यको अति ख्याल गरेर यो पर्वमा रमाउनु होला । स्वास्थ्यको ख्याल गर्नु भएन भने शरीर कमजोर हुन सक्छ । शरीरको माध्यमबाट धर्म कर्म गर्नुपर्छ भनेर हाम्रो शास्त्रले भनेको छ । अरू घोडा चढेको देखेर मुढा नचढ्नु होला । तपाईको क्षणिक रमाइलोको कारणले र जमानाको गफले हाम्रो कला संस्कृति र परम्परा लोप हुने अबस्थामा नपुगोस् । यही कामना साथ पुनः यहाँहरू सबैमा हार्दिक शुभकामना ।