© २०२३
जाजरकोट भूकम्प प्रभावितहरूमाथि प्रकृतिले पनि सास्ती दिएको छ । भुकम्प गएको करिब १० महिना हुँदा पनि अस्थायी टहरामै बस्न बाध्य भएका भुकम्प प्रभावितहरू अहिले पहिरोको जोखिममा परेका छन् । जाजरकोटको म्यान्मामा गएको पहिरोमा परी उक्त गाउँका १० घर परिवार विस्थापित भएका छन् । अस्थायी टहरा बनाएकै स्थानमा पहिरो गएपछि भुकम्प पीडितहरूको पीडा झनै बोझिलो बनेको छ । त्यसै त सरकारको ढिलासुस्ती र गैरजिम्मेवारीले भुकम्प पीडितहरूले सास्ती पाउन बाध्य भए । अझैपनि अधिकांश भूकम्प प्रभावितहरू अझै टहरामै बस्न बाध्य छन् । जाजरकोटमा अव फेरी जाडो मौसम सुरू हुने बेला भैसकेको छ । तर, भुकम्प प्रभावितहरूको पीडा सकिएको छैन । विभिन्न राजनैतिक दलका कार्यकर्ताहरूले भुकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काममा संलग्न हुने भनिएपनि उनीहरू अझै अस्थायी टहरामै दिनरात कटाउन बाध्य छन् । पहिरोमा प्रभावित भुकम्प पीडितहरूलाई राहतको खाँचो छ । तर, अहिलेसम्म राज्यको ध्यान गएको छैन । राजनीतिक दल तथा नेताहरूले भूकम्प पीडितहरूलाई निकै सपना बाँडे तर उनीहरूको अवस्था जस्ताको त्यस्तै छ । त्यहाँ अहिले पनि प्रभावकारी पुनर्निर्माणको खाँचो छ । त्यसतर्फ सरकार र राजनैतिक दलहरूले बढी चिन्ता गर्नुपर्ने छ । भुकम्प प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने काम भनेको स्थानीय जनतालाई अव बाढी पहिरोबाट बचाउनु हो । पहिरोको कारण १० घर परिवार विस्थापित मात्रै भएका छैनन, अरू दर्जनौ घर जोखिममा परेका छन । त्यसैगरी चिसोका कारण त्यहाँ अहिलेपनि सयौं स्थानीय भुकम्प प्रभावित विरामी परेका छन । सुत्केरीले पोषण पाएका छैनन, उनीहरूको नाबालक बालबालिकाहरूका लागि औषधीको समेत ब्यवस्था छैन । त्यसतर्फ सरकारको ध्यान जानु जरुरी छ । पहिरोबाट विस्थापित भएकाहरूलाई सरकारले राहत सामाग्री उपलब्ध गराउन ढिलाई गर्नु हुँदैन । त्यसतर्फ सरकारको ध्यान पुगेको छैन ।
तत्कालका लागि त्यहाँ अझैपनि राहतलाई प्रभावकारी बनाउनु जरुरी छ । पहिरोका कारण अधिकांश घर भत्किएकोले तत्कालै सवै घर बनिसक्ने अवस्था नभएको अवस्थामा उनीहरूलाई बसोबासको बैकल्पिक व्यवस्था गर्नु जरूरी छ । भूकम्प पीडितहरू त्यसैपनि पीडामा थिए, त्यसमाथि उल्टो पीडा थप्ने काम प्रकृतिले पनि गरेको छ । विगतमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भुकम्प पीडितहरूलाई आश्वासको पोका बाँड्यो । बदलामा भुकम्प प्रभावितलाई भेटन प्रधानमन्त्री प्रचण्ड एकपटक भुकम्प प्रभावित क्षेत्रमा पुगेपछि दोहोरिएर गएनन् । सरकारले सहयोग गरेजस्तो गर्ने र पीडित जनतालाई आश्वासनमा भुलाउने काम भएकै हो तसर्थ त्यस्तो आश्वासनको पोका बाँड्ने काम बर्तमान सरकारले नगरोस् । अहिले उक्त क्षेत्रका विस्थापित भएका जनतालाई राहतको खाँचो छ । पहिरोबाट विस्थापित भएकाहरू छिमेकीको सहारामा आश्रय लिएर बसेका छन् । उनीहरू पानी परिरहेको कारण चिसोले विरामी हुने अवस्था पनि छ । सरकारले भुकम्प र त्यसपछि पहिरो प्रभावितहरूलाई तत्काल पुनर्वासको व्यवस्था गरोस् । उनीहरू विरामी पर्दा निशुल्क औषधी उपचारको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जाओस् । पहिरोले ल्याएको विपत्तिबाट थप भुकम्प पीडितहरूलाई प्रभावित हुन नदिनेतर्फ सरकारले अव कुनैपनि ढिलाई गर्नु हुँदैन ।