© २०२३
‘आजको एकदिन फोटोग्राफरका लागि’ भन्ने नाराका साथ विश्व फोटोग्राफी दिवस आज विश्वभरी मनाईदैछ । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस मनाउन थालेको धेरै भएको छैन । फोटाग्राफीको महत्व दर्शाउन यो दिवसले निकै ठूलो सहयोग पु¥याएको छ । अझैपनि फोटोग्राफीप्रति आम मानिसहरूको धारणा सकारात्मक बन्न सकेको छैन । फोटो खिच्ने काम र पेशालाई सानो काम भनेर तुच्छ बनाउने गरिएको छ । फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरूलाई प्रोत्साहन गर्न र व्यवसायिक रूपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरूको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ । आजको दिन विश्वभरका फोटोग्राफरहरूले खिचेका ऐतिहासिक र उत्कृष्ट फोटोहरू प्रतिष्पर्धामा राख्ने प्रचलन पनि रहेको छ । फोटोग्राफीलाई अवहेलना गर्ने गरिएपनि वास्तवमा एउटा फोटोले दिने सन्देश र महत्व एकहजार शब्दले ब्यक्त गर्न सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन ।
नेपालमा फोटोग्राफीको महत्व अझै जनजनमा पुग्न सकेको छैन । यद्यपि विश्वमा भने यसको महत्व निकै ठूलो र ब्यापक छ । पछिल्लोसमय फोटोग्राफीप्रति रूची हुनेहरूको संख्या बढ्दै गएको छ तर विविध कठिनाईका कारण अझै पर्याप्त भैसकेको छैन । अर्को चुनौतिको कुरा के हो भने फोटोग्राफीमा लागेका फोटोग्राफरहरूको जीवन यो पेशाले सुरक्षित गर्न सकेको छैन ।
फोटोग्राफीमा रुची हुनेहरूले यसलाई जीवनको अभिन्न अंग बनाउन सकेका छैनन् किनभने यो पेशाबाट आत्मनिर्भर बन्न ग्राहो छ । दैनिक जीवन चलाउन फोटोग्राफी पेशा चुनौति र धौ धौको पेशा हो । अहिले त हरेक नागरिकको हातमा मोबाइल भएका कारण फोटोग्राफी पेशा समस्यामा पर्दै गएको छ । फोटो खिच्नकै लागि स्टुडियोमा जानु नपर्ने अवस्थाले फोटोग्राफी जोखिममा परेको छ । जसका कारण यो पेशा लोप हुने हो कि भन्ने चिन्ता पनि छ । एक सेकेण्डमा मोबाईलबाट खिचेको फोटो वा तस्वीर इण्टरनेटको माध्यमबाट विश्वभर पुग्ने अवस्था सिर्जना भएको छ । फोटोग्राफी आधुनिक बन्दै गएको अवस्थामा यसको विकासमा रिलवाला क्यामराले खेलेको भूमिकालाई पनि स्मरण गर्नैपर्दछ ।
रिलभन्दा अगाडीपनि क्यामराको काम भएको थियो । त्यसबेला सूर्यको किरणबाट फोटो निकाल्ने गरिन्थ्यो । विश्व फोटोग्राफीको इतिहास करिव दुईसय बर्षभन्दा पुरानो छ । संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्फोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए । तसर्थ यो दिवस मनाईरहँदा उनलाई सम्झिनैपर्ने हुन्छ । त्यतिबेला बोलेर ब्यक्त गर्न नसकिने कुरा तस्वीरको माध्यमबाट प्रस्फुटन हुन्थ्यो । तस्वीर पनि अभिव्यक्तिको महत्वपूर्ण माध्यम हो । फोटोग्राफीको माध्यमले थुप्रै अब्यक्त कुरा ब्यक्त गर्न मद्दत पु¥याएको छ । फोटोग्राफी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो ।
विश्व फोटोग्राफी दिवसको अवसरमा यसको महत्वलाई अझै बढाउने तथा उजागर गर्नेतर्फ हामी सवैको ध्यान जानु जरूरी छ । नेपालमा विभिन्न कार्यक्रम गरि यो दिवस मनाईदैछ । खासगरी सञ्चारकर्मीहरूले यो दिवस मनाईरहँदा फोटोग्राफीलाई मर्यादित, प्रतिवद्ध र निष्ठाको पेशाको रूपमा यसको गरिमा अभिबृद्धिमा भूमिका खेल्नु जरूरी छ ।