© २०२३
सल्यान, २६ साउन ।
घोगा लाग्न नपाउँदै मकैबालीमा जंगली जनावरले नष्ट गर्न थालेपछि सल्यानका किसान चिन्तित बनेका छन् । वनजंगल नजिकका बस्तीमा किसानले लगाएका मकै तथा अन्य बालीमा बर्सेनि बँदेल, दुम्सी, बाँदर, खरायोले क्षति पुर्याउने गरेका छन् । कतिपय किसानको बाली त जंगली जनावरले सखाप नै पार्ने गरेका छन् । आफूहरूको मुख्य बाली मकैमा बंदेलले नोक्सानी पु¥याएपछी जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का किसानहरूले वन कार्यालय संग क्षतिपूर्ति माग गरेका छन् । वडा नम्बर ५ का देवीलाल भण्डारीले बल्ल तल्ल मिहेनतका साथ हुर्काएको मकै रातीमा आएर बंदेलले क्षति गरेपछि अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको बताए ।
उनले भने, ‘पहिले देखि नै बाँदरले सधै सताउने गथ्र्याे, खरायो, दुम्सीले पनि बालिनाली खाइदिन्थ्यो । यो बर्षदेखि मेरो बारीमा पनि बंदेलले क्षति गर्न थाल्यो ।’ यो बर्ष आफ्नो ६ वटा बारीमा मकै रोपेकोमा मकैमा घोगा लाग्न नपाउँदै बंदेलले क्षति सुरु गरिसकेको भन्दै दुःख पोखे । “भट्ट, धान, गहुँ, आलु, प्याज जे लगाउँछौ सबै जंगली जनावरले खान्छ । निकै समस्यामा पा¥या’, उनले भने, ‘सरकारले कि त यो देश जनावरहरूको मात्र देश हो भनेर घोषणा गरेर हामीलाई अन्यत्र कतै पठाउन पर्यो । होइन भने किसानको बालिनालिको सुरक्षा गरिदिन पर्यो ।’ छत्रेश्वरी ५ कै किसानहरू सुकलाल घर्ती, संगीता बस्नेत, उमलाल घर्ती, शुक्रराज वली लगायतका किसानले आफुहरूले बर्सेनि भोग्ने समस्याको दीर्घकालीन समाधानको माग गरे ।
मकै खेतीमा जनावरको क्षति देखिएपछि छत्रेश्वरी ५ नयागाउँ, दियारगाउँ लगायत विभिन्न बस्तीका १० जना किसानको मकै बाली क्षतिको प्रहरी मुचुल्का तयार संगै क्षतिको विवरण तयार गरिएको छ । वडा नम्बर ५ का विभिन्न स्थानमा बिहीबार छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित वडाका जनप्रतिनिधि, सब डिभिजन वन कार्यालय छत्रेश्वरीका कर्मचारी, कृषि विकास शाखा प्रमुख, प्रहरी लगायतको टोलीले किसानको बारीमा पुगेर मकै बालीमा जंगली जनावर बँदेलले पु¥याएको क्षतिको बारे अवलोकन, अनुगमन गरेको हो ।
मकै बालीमा क्षति व्यहोरेका किसानहरूलाई राहत उपलब्ध गराउनका लागि अनुगमन टोलीले सर्जिमिन मुचुल्का तयार गरेको हो । प्रहरी मुचुल्का, कृषि विकास शाखाको क्षतिको मूल्यांकन, वडाको सिफारिस लगायतको आधारमा डिभिजन वन कार्यालय मार्फत १० हजार रूपैयाँ सम्म किसानले राहत प्राप्त गर्ने गरेको सब डिभिजन वन कार्यालय छत्रेश्वरीका फरेस्टर कमल बोहोराले जनाए । कृषि बालीमा जनावरले क्षति गरेमा नजिकैको प्रहरीबाट सर्जिमिन मुचुल्का, कृषि प्राविधिकको क्षति मूल्यांकन सहित जग्गा धनी पुर्जा, नागरिकता, क्षतिको फोटो सहित सब डिभिजन वन कार्यालयमा पीडित किसानले निवेदन दिएपछि उक्त फाइल डिभिजन वन कार्यालय सल्यान हुँदै प्रदेश वन निर्देशनालय सुर्खेतले संघीय मन्त्रालयमा पेश गरेर बजेट व्यवस्था भएपछि मात्र क्षतिको आधारमा यससम्बन्धी कार्यविधि बमोजिम १० हजार रूपैयाँसम्म राहत उपलब्ध हुने गरेको बोहराको भनाइ छ । गत आर्थिक बर्षमा पनि छत्रेश्वरी गाउँपालिकाका १४ जना किसानले राहत प्राप्त गरेको सब डिभिजन बन कार्यालय छत्रेश्वरीले जनाएको छ ।
अनुगमनको क्रममा क्षतिको आधारमा तोकिएको मापदण्ड अनुसार छिटो राहत प्रदानका लागि भूमिका खेल्न गाउँपालिका उपाध्यक्ष खत्रीले कर्मचारीहरूसँग आग्रह गरेकी थिइन । छत्रेश्वरी गाउँपालिकाकै वडा नम्बर २,३,४ लगायतका क्षेत्रमा पनि बांदर, बँदेल लगायतका जिवजन्तुले मकैमा क्षती गरेपछी बाली संरक्षणको उपाय दिन किसानहरूले सरकार संग माग गरेका छन् ।
वनजंगलको विनास, वन डढेलो लगायतका कारण पनि जंगलमा कुनै खाने आहारा नहुने भएपछि जंगली जनावरहरू गाउँ पस्ने गरेको वन कार्यालयका प्रतिनिधिहरूको भनाइ छ ।