© २०२३
बाढीले घरबासविहीन भएका लमही नगरपालिका–९ अमेलियाका बाढीपीडितलाई लमही नगरपालिकाले आबास निर्माण गरि हस्तान्तरण गरेको छ । २०७४ साउन २७ गतेको बाढीले वडा नम्बर ९ का विभिन्न स्थानमा २२ घर भत्काउँदा पूर्णरूपमा बस्न नमिल्ने गरी विस्थापित भएका थिए । घर भत्किएपछि तत्कालका लागि राहत वितरण गर्दै दीर्घकालिन रूपमा बसोबासको समेत नगरपालिकाले व्यवस्था गरिदिएको लमही नगरपालिकाका मेयर कुल बहादुर केसीले बताए । नगरपालिकाले उनीहरूका लागि स्थानीय तहले बाढी पीडित बस्तीको पूनर्निर्माण अभियान संचालन गरि आवास निर्माण गरिदिएको पनि मेयर केसीले बताए । नयाँ घर पाएपछि ती परिवारहरूले स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूति गरेको बताए । बाढीको कारण घरविहीन बनेकी पुनकला भुसाल घरधनीको रूपमा नयाँघरमा पुनस्र्थापित हुँदाको खुसी व्यक्त गर्न नसक्ने बताइन् । त्यसैगरि मोहन डाँगीले स्थानीय तहको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुसी व्यक्त गरे । ‘पीडामा मलम बनेको छ खुसी छौं । काठको लागि सहयोग भए राम्रो हुनेथियो,’ डाँगीले भने । लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि पुनकला र मोहन सहित २२ घर परिवार पुनस्र्थापित भएका हुन् । ‘बाढी घरभित्रै पस्दा मुस्किलले बाँचेका थियौं,’ यसपालिको वर्षामा ढुक्कसँग बस्न पाइएको छ, पुनकलाले भनिन् ।लमही नगरपालिकाले पूर्णक्षति भएका परिवारलाई प्रति परिवार घर निर्माणका लागि दुई लाख सहयोग गरेको थियोे ।
नगरपालिकाको सहयोग र स्थानीयको सक्रियतामा भान्छा र शौचालय सहितको २ कोठे नयाँघर निर्माण गरिएको लमही नगरपालिकाले जनाएको छ । बाढी पीडितलाई स्थानीय सरकारको अनुभूति हुनेगरी राष्ट्रिय वनको खाली जमिनमा बसोबासको व्यवस्था गरिएको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले बताए ।
लमही नगरपालिका–९ मैनेमा ४, तेल्लेमा ३, रिहारमा ६, हात्तीखाल, अमेलिया र वाङ्गेतालमा ९ वटा पक्की घर निर्माण गरिएको छ । घरहरू निर्माण भए लगत्तै पीडितहरूलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।à