© २०२३
पाल्पा, २ जेठ ।
तानसेन वराङदीका खेमबहादुर नेपाली उमेरले सात दशक पूरा गरे । उनी सानै उमेरदेखि नै सदरमुकाम तानसेनसंग परिचित छन् । अमरनारायण मन्दिरको पर्खालमा आफुले बोकेको भारी बिसाउँदै टोपीले पसिना पुछ्दै गर्दा नजिकैका ठुला ठुला रुखहरुमा चमेरा आएर झुम्मिएको हेर्दाहेर्दै थकाइ लागेको पत्तै पाउँदैनथे ।
मन्दिरको फुलबारी परिसरमा रहेका अग्ला अग्ला रुखमा आफ्नो बासस्थान बनाएका सयौंको संख्याका चमेरा पछिल्ला दिनहरुमा हराउँदै गएपछि खेम बहादुरको मन नराम्रो संग दुखेको छ । दिनभरि रुखमा झुण्डीनी र जव दिन ढल्दै जान्छ रात पर्ने समय संगै आफ्नो आहारा खोज्न टाढा टाढा पुग्ने चमेरा तानसेन घुम्न आएका विदेशी पर्यटकको क्यामेरामा कैद हुन्थे । यसले तानसेनको पर्यटन व्यवसायलाई महत्वपूर्ण योगदान दिएको भए पनि २०४० ÷०४२ तिर ती स्तनधारी पंक्षंीहरु केही मदनपोखराको दमकडामा त केही अर्गली पुगे । शान्त वातावरणमा बस्न रुचाउने यस्ता प्रजातिका पंक्षीहरु बढ्दो शहरीकरणको विकासका कारण बजार भन्दा टाढा पुगेको डिभिजन वन कार्यालयका प्रमुख नारायण देव भट्टराई बताउँछन् ।
तानसेनबाट बसाई नै सरेर अर्गली र दमकडाका ठुला ठुला पिपलका रुखमा बासस्थान बनाएको स्थानीयहरुले देखेको बताउँछन् । हेर्दा र देख्दा सामान्य लाग्ने चमेरा न हो भन्ने गरिन्छ तर चमेराले बासस्थान सारेको ठाउँमा विकासले फड्को मार्ने, यो लक्षिनको पंक्षंी हो भन्ने जनविश्वास रहेको स्थानीयहरु बताउँछन् ।
दमकडाका स्थानीय हेमलाल गैरे भन्छन्, “जब तानसेनबाट दमकडामा ठूलो संख्यामा चमेराहरु आए । त्यसपछिका दिनहरुमा यहाँको विकासले फड्को नै मा¥यो । “यो अचम्मको पंक्षी हो । यसको संरक्षण हुन नसक्दा तानसेनबाट हराउँदै गयो । अब दमकडाबाट पनि हराउने क्रममा छ”–उनले भने ।
स्तनधारी कालो रंगको चमेरा तानसेन बजारमा कहिले कहाँबाट आएर बस्यो भन्ने विषयमा त्यहाँका स्थानीयहरुलाई थाहा नभएको बताउँछन् । जबजब तानसेन बजारमा कोलाहल बढ्दै गयो तब बजारबाट अन्यत्र गयो । दमकडाका पिपल, बरका रुखहरुमा बासस्थान बनाएका थिए । तर पछिल्लो समयमा रुखको तल खनजोत गर्न लागेपछि यहाँबाट पनि बसाई सर्ने काम गरेको स्थानीयहरु बताउँछन् । अन्य पंक्षीका विषयमा विभिन्न निकायबाट खोज अनुसन्धान भएका छन्, तर चमेराको विषयमा सरकारी तहबाट खोज तथा अनुसन्धान भएको छैन । पहाडी भेगमा ठुला ठुला रुखमा आश्रय लिने बाँदरे प्रजातिका र ठुला ठुला पहरा, ढुंगा, गुफामा आश्रय लिने र साना साना जिव्रो फड्काउने प्रजातिका पाइन्छन् । नेपालमा ५३ प्रजातिका चमेरा भेटिएको डिभिजन वन कार्यालयका सूचना अधिकृत संयोग बस्नेत बताउँछन् ।
वर्षमा एक पटकमा एउटा मात्र बच्चा जन्माउने चमेरा दिनमा आँखा देख्न नसक्ने र रातमा कृयाशिल हुन शान्त स्वभावका हुन्छन् । यसको मुख्य आहार भनेको किरा तथा फलफुल हो । वातावरणीय हिसावले अत्यन्तै महत्वपूर्ण ठानिने यस पंक्षीको विषयमा एउटा विदेशी संस्थाको सहयोगमा अध्ययन भएको थियो । त्यसबाहेक थप अध्ययन हुन नसकेको उनी बताउँछन् । चमेराको मुख्य आहार भनेको फलफुल, किरा नै हो । फलफुलको क्षेत्रमा यसले परागसेचनमा समेत सहयोग गर्दछ । यसैगरी यसको आहार लामखुट्टे हो । लामखुट्टे यसको आहारा भएका कारणले कालाजार,डेंगु, मलेरिया, जापानीज इन्सेफ्लाइटिस् जस्ता महामारी जन्य रोगलाई पनि नियन्त्रण गर्न सहयोग पु¥याउने विभिन्न अध्ययनबाट पुष्टि भएको वन प्राविधिकहरु बताउँछन् ।
लामो समयदेखि दमको रोगीले थलिएका रोगीका लागि चमेराको मासु अत्यन्तै उपयोगी भएको पुराना पुस्ताहरुको अनुभव छ । यस्तो बहुउपयोगी स्तनधारी पंक्षी बासस्थानको अभावका कारण लोप हुने अवस्थामा रहेको छ । बढ्दो शहरीकरण र बढ्दो यान्त्रीकरणका कारण सँगसँगै पुराना ठुला रुखहरु एकपछि अर्को हराउने क्रम बढ्दा चमेरो लोप हुने अवस्थामा पुगेको पुराना पुस्ताहरुको भनाई छ ।