© २०२३
बुटवल,३ फागुन । आधुनिक बुटवलको आर्थिक, शैक्षिक र पर्यटन विकासको अगुवा थिए द्वारिका उदय । तत्कालीन लुम्बिनी अञ्चल अस्पताल, कान्ति मावि,सिद्धार्थ क्याम्पस, परिवार नियोजन संघको भवन उदयकै अगुवाई र मेहनतमा बनेका हुन् ।
कुनै समय जनावर मरेपछि फाल्ने ठाउं भएको जंगललाई मणिमुकुन्दसेन उद्यान (फूलबारी) को रुपमा विकास गरी वर्षेनी लाखौं पर्यटक आउने थलो बनाउने परिकल्पनाको अगुवाई पनि उनै उदयले गरेका थिए । वडाध्यक्ष समेत रहेका उदयले इलाका प्रहरी कार्यालय बुटवलको एकतले भवन निर्माणमा पनि योगदान गरेका थिए ।
बुटवलमा घुम्ती चलचित्र प्रदर्शन र पछि फिल्म हल खोलेर सर्वसाधारणलाई फिल्म हेर्न नौतनवा जानुपर्ने वाध्यताको अन्त्य गराउने उदय नेपाल चलचित्र संघको २ कार्यकाल अध्यक्ष समेत भएर काम गरेका थिए ।
आफ्नो निजी जीवन र स्वार्थ त्यागेर समाजको हितका लागि काम अहोरात्र गर्दै आएका उदय अहिले भने गुमनाम छन् । २०५९ सालमा काठमाडौंबाट पोखरा जाने भनी घरबाट हिंडेर भैरहवा हुंदै सुनौली पुगेका ६२ वर्षका उनको २१ वर्ष बित्दासम्म कुनै अत्तोपत्तो नहुदा परिवारका सदस्य पीडामा छन् ।
उनको अवस्था जिवित वा मृत के छ भन्ने थाहा नपाउंदा परिवारका सदस्य मात्र हैन बुटवलवासी पनि एकखालको बेचैनीमा छन् ।
द्वारिकाका छोरा प्रदीप कुमार उदय बुवाको अवस्था थाहा नहुंदाको पीडा असह्य भएको बताउंछन् । २०५९ साल माघ मसान्तको दिन काठमाडौं छोरीको घरमा बस्न गएका द्वारिका विहानै प्रदिपको कोठामा आएर पोखरा जाने भनेर हिंडेपछि कहिल्यै फर्किएनन् ।
‘अघिल्लो दिन दिदीकोमा बस्न जानुभएको थियो, विहान मेरो कोठामा आउनुभयो, म त्यहि दिन फिल्म मिलन बिछोडको लागि मुम्बई जाने तयारीमा थिएं, बुवाले पोखरा जाने भन्नुभयो, गाडी लिएर जानुस् भन्दा प्लेनमा जान्छु भन्नुभयो प्लेनको टिकटपनि लिइसक्नुभएको थियो तर त्यसपछि कहिल्यै फर्किनुभएन’–२१ वर्षअघिको उक्त घटना सम्झिदै प्रदिप भन्छन्–‘हामीले उहां जिवितै हुनुहुन्छ होला आशा गरेका छौं, तर उहांबारे कुनै अत्तोपत्तो नहुंदा वर्षौंदेखि मन बोझिलो हुँदै गएको छ, हाम्रो परिवार मात्र हैन सिंगो बुटवल दुखी छ ।’
द्वारिकाका सहकर्मी बुटवलका अग्रज व्यवसायी जीवनप्रसाद वझा द्वारिका बुटवलको विकासका पर्यायवाची र निस्वार्थ समाजसेवी भएको स्मरण गर्छन् । ‘उनी व्यक्तिगत लाभ र स्वार्थ नहेरी त्यसबाट टाढा रहेर आधुनिक बुटवल बनाउन अहोरात्र खटिने व्यक्ति थिए’–वझाले सम्झिंदै भने–‘बुटवलमा सरकारी क्याम्पसमा पढाई राम्रो भएन भनेर सामुदायिक स्तरबाट सिद्धार्थ क्याम्पस बनाई गुणस्तरीय शिक्षाको शुरुवात गर्न उनी नखाई नखाई भवन बनाउन आफै खटिन्थे ,त्यसले धेरैलाई सामाजिक काम गर्न प्रेरणा दिएको थियो ।’
द्वारिकाले बुटवलको विकासमा अतुलनीय योगदान गरेपनि उनको खोजी र उनलाई सम्मान दिने कुरामा बुटवल चुकेको वझाको टिप्पणी छ । ‘समाजलाई निस्वार्थ सेवा गर्नेलाई बुटवल उपमहानगरपालिकाले उच्च सम्मान दिनुपर्ने, सम्झिनुपर्ने हो तर गरेको देखिएन’–वझाले भने–‘सुर्यप्रसाद प्रधान दाईले नै सम्मान गर्नुपर्ने हो, गर्नुभएन, त्यसपछिकाले पनि गरेनन्, यो दुखद हो, योगदान गरेको ंमान्छेको कदर नहुंदा सामाजिक काम गर्ने अरुलाई पनि जांगर मर्छ ।’
द्वारिकाका समकालीन अग्रज पत्रकार डा. बालकृष्ण चापागाईले मणिमुकुन्द सेन उद्यानको परिकल्पनाकार मध्येका एक , कान्ति मावि र लुम्बिनी अञ्चल अस्पतालको खाली जग्ग्गामा सटर बनाएर भाडामा लगाई त्यसको आम्दानीबाट शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउन द्वारिकाले नै अगुवाई गरेको सम्झन्छन् । फूलबारी त्यो समय जनावर मरेपछि फाल्ने ठाउं र जंगल थियो, एक दिन आफूले कान्तिपुर दैनिकमा ‘फूल विनाको फूलबारी’ शिर्षकमा फिचर समाचार लेखेपछि त्यसबारे द्वारिकाले चासो राखेर आफूसंग छलफल हुंदा हामी दुबैले फूलबारीलाई रमणीय पर्यटकीय स्थल बनाउनु पर्छ भन्ने परिकल्पना भएको र पछि द्वारिका भारत भ्रमणमा गएर ब्रम्हकुमारीले बनाएको पार्क देखेर फर्केपछि फूलबारी अहिलेको स्वरुपमा विकसित भएको डा. चापागाईले बताए ।
उदय मिडियामैत्री व्यक्ति समेत भएको चापागाईको अनुभव छ ।
‘उहां बुटवलको सच्चा समाजसेवी र अभिभावक हो, धेरैलाई समाजसेवामा लाग्न प्रेरित गरेका मान्छे हो’–डा. चापागाईले भने–‘आफ्नो काम व्यवसाय छाडेर समाजको लागि विना स्वार्थ काम गर्ने मान्छे विरलै हुन्छन्,त्यसमध्ये उहां हो ।’
सरकारले समाजका लागि कुनै योगदान ननगरेका मान्छेलाई समेत राजनीतिक पहुंचको आधारमा सम्मान गर्ने गरेपनि द्वारिका जस्तो असल समाजसेवीको अवस्था पत्ता लगाउन र उचित सम्मान दिन चुकेको चापागाईको टिप्पणी छ ।