© २०२३
विधेयक अधिवेशनको रूपमा रहेको संघीय संसदको हिउँदे अधिवेशनबाट यसपटक देशले धेरै आशा र अपेक्षा राखेको छ । संसदपनि धेरैभन्दा धेरै विधेयकहरू पारित गर्नुपर्ने दबाबमा छ । संविधान कार्यान्वयनसँग जोडिएका कैयौँ विधेयकहरू पारित हुन नसक्दा आवश्यक कानुन निर्माण हुन सकेका छैनन् । खासगरि टिआरसी विधेयकप्रति सिंगो देशको ध्यान गएको छ । यो अधिवेशनबाट यो बिधेयक पास गर्नुपर्ने सरकारसंगै सत्ताधारी दलहरूको दलहरूको कसरत छ । त्यसमाथि अहिले देशमा विकास निर्माणका काम अस्तव्यस्त छ । प्रतिनिधि सभाका बैठक सञ्चालनमा कमजोरी देखिएका छन् । तिनलाई व्यवस्थित गर्नुपर्ने दायित्व छ । अर्कोतर्फ संसदले छुट्टै क्लयालेण्डर बनाउनु पनि जरुरी छ । अहिले हरेक निकायले क्यालेण्डरमार्फत कामकारवाही अघि बढाउँदै आएका छन । संसदीय क्यालेन्डरमार्फत संसदीय अधिवेशन र बैठकका सत्रहरू पहिल्यै निर्णय गरेर प्रकाशन गर्ने गरेको अवस्थामा त्यो बैज्ञानिक हुनसक्छ । क्यालेण्डर नहुँदा बैठकहरू अनिश्चयमा रूपान्तरित हुने अवस्था बढेर गएको छ । संसदमा तयारी बिनाको उपस्थितिले खासै प्रभाव देखाउन सकिरहेको छैन । एजेन्डासहितको क्यालेन्डर निर्माण गरेपछि सांसदले आम नागरिकसँग अन्तरक्रिया गर्ने र सल्लाह सुझाव लिने अवसर समेत पाउँछन् । यस्तो अभ्यासले संसदमा नागरिकको प्रतिनिधित्व अझ प्रभावकारी बनाउँछ र लोकतन्त्रलाई सुदृढ गर्छ । यसका साथै सांसदहरूले तोकिएका दिनमा बैठकमा उपस्थित हुने र अन्य दिनमा नीति निर्माणसम्बन्धी अन्य कार्यक्रममा सहभागी हुने लगायतका योजना बनाउन पाउनेछन् । जुन प्रतिनिधि सभालाई थप उत्पादक बनाउन मद्दत गर्दछ । समग्रमा संसदीय क्यालेण्डरले सांसदको अर्थपूर्ण र क्रियाशील सहभागिता, जवाफदेहिता र उत्तरदायित्व सुनिश्चित गर्नुका साथै संसदभित्रको लोकतन्त्र सुदृढ गर्न मद्दत गर्छ ।
यस पटकदेखि संसदमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । प्रतिनिधि सभा नियमावलीमा विद्युतीय उपकरणको विकल्प भए पनि व्यवहारमा भने कलमले कागजमा नै हस्ताक्षर गरेर हाजिरी जनाउने गरिएको थियो । यसलाई पूर्णरूपमा बायोमेट्रिक विद्युतीय हाजिरीले विस्थापन गर्नेतर्फ ध्यान दिनु आवश्यक छ । विद्युतीय हाजिरी बैठकमा आसन ग्रहण गर्नुअघि र बैठकबाट निस्किसकेपछि दुईपटक गर्ने नियम बनाएको अवस्थामा बैठक अवधीभर सांसदहरू संसदीय कृयाकलापमा सहभागी हुन सक्छन । त्यसले अग्रगामी भूमिका बढाउन मद्दत गर्दछ । सांसदहरूले नै हो संघीय संसदलाई बढीभन्दा बढी चलायमान बनाउने । तसर्थ यो अधिवेशनलाई केवल औपचारिकतामात्रै होइन, चलायमान र धेरै भन्दा धेरै विधेयकमार्फत कानुन निर्माणको काममा उपयोग गरियोस् । अहिले टिआरसीमात्र होइन धेरै कानुन आवश्यक छ । ती कानुन बनाउन विधेयक जरुरी छ । विधेयक पास गर्न संसदीय समितिहरूको भूमिका हुन्छ । तसर्थ धेरैभन्दा धेरै कानुनहरू बनाउनका निम्ति सरकारलाई दबाब दिने गरि संसदीय समितिहरू समेत चलायमान बन्नु आवश्यक छ । संसदले आम नेपाली जनताको चासोमा पनि ध्यान पु¥याउनु पर्ने जिम्मेवारी र दायित्व छ । अहिले जनजीविकाको सवाल जर्जर छ । मह.गी बढेको छ । सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिएको छ । जनताको सरोकारका मुद्दाहरू एकपछि अर्को गर्दै ओझेलमा परेका छन् । विकास निर्माणका कामहरू ठप्प छन् । तसर्थ यो हिउँदे अधिवेशनमा जनताका मुद्दाहरूलाई प्रभावकारी ढंगले उठाउनेतर्फ सवै सांसदहरूको ध्यान पुग्नु आवश्यक छ ।
कानुन बनाउनको निम्ति सरकारलाई दबाब दिने र जनतालाई डेलिभरी दिने कुरामा सरकारको भूमिकालाई प्रभावकारी वनाउन सहयोगीको भूमिका पनि सांसदहरूले खेल्ने कुरा बिर्सन मिल्दैन । यसपटक सरकारले पनि यो अधिवेशनलाई विधेयक अधिवेशनको रूपमा लिएको छ । धेरै भन्दा धेरै बिधेयक पास गरेर मुलुकलाई आवश्यक कानुन निर्माणमा सांसदहरूले सशक्त भुमिका खेल्नु जरुरी छ । अतः यो अधिवेशनलाई दूरगामी सन्देश दिने अधिवेशनका रूपमा उपयोग गर्नेकुरामा कहिँकतैबाट चुक्ने काम नहोस् । खासगरी जनताको जनजीविकामा परेका समस्या उठानमा संसदलाई उपयोग गरियोस् ।