© २०२३
भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ– यस पृथ्वीमा जब जब सनातन धर्मको अपहेलना भई अधर्मको बृद्धि हुनेछ, तब म त्यस समयमा पृथ्वीमा अवतरित भई साधुको रक्षा एवम् पापीहरूको नास गर्नेछु । हो, शास्त्रले चारवटा युगको कुरा गरेको छ । त्यसमापनि अन्तिम युग कलि, यसमा त झनै पाप र अधर्मको प्रकोप भई सत्य चिज असत्यद्वारा ढाकिँदा मानिसहरूले असत्य, अधर्मलाई नै धर्म ठानी त्यही अनुरूप व्यवहार गरिरहेका देखिनेछन् । सनातन धर्मको वरिपरि कमाईधन्दाका विभिन्न किसिमका झारपात उम्री सनातन धर्मको रहस्यलाई व्यक्तिहरूले बुझ्ने छैनन् । जान्ने छैनन् । यस्तै किसिमका कालनेमीका व्यक्तिगत हाउभाउबाट प्रभावित भई साधारण मानिसहरू कालनेमीलाई नै गुरु स्वीकार गरी तिनैका पछि लाग्नेछन् । यी यस्तै विभिन्न कुराहरूबाट शास्त्रले हामीलाई सतर्क हुन सिकाएको छ । तर पनि शास्त्रका कुरा बुझाउने असल गुरु नहुँदा हामी अहिले पनि सनातन धर्मको मर्म नबुझी व्यक्तिगत लाभकालागि बनाइएका गोरेटाहरूमै अल्झिरहेका छौँ ।
कलियुग सुरुवात भएको केही समयपछि नै सनातन धर्मको मर्म अनुसार व्यक्तिहरू कर्तव्य पथमा नलागी अन्यत्र मोडिन थाले । शास्त्रका गुह्य कुराहरूलाई बुझ्नको साटो शास्त्रलाई व्यक्तिगत लाभकालागि प्रयोग गर्नेहरूका पछि भौँतारिन थाले । सनातन धर्मको मूल वृक्षलाई ढाकेका पातपतिङ्गरको पछि कुँद्न थाले । अनि भगवानको इच्छाअनुरूप शङ्कराचार्यको जन्म हुनपुग्यो । शास्त्रका भनाईको सही व्याख्या भयो । सनातन धर्मको खास मर्मलाई सरल ढङ्गमा व्याख्या गरियो । अहं ब्रह्मास्मि, अयमात्माब्रह्मआदि वेदवाणीहरूको सही व्याख्यान भयो । शास्त्रको अपव्याख्या गर्ने कालनेमीहरूको पराजय भयो । उनीहरूका पसल बन्द भई सनातन धर्मको उत्थान भयो । सनातन धर्मको व्याख्याका लागि पीठहरूको स्थापना भयो । पुरातन समयदेखि वेदानुकुल व्यवहार गरिरहेका ब्रह्मबोधी ब्राह्मण वर्णमा जन्मलिई आबाल ब्रह्मचारीको तपस्यामा रही वेदादिशास्त्रको व्यवहारपरक अध्ययन गर्नेहरूलाई शङ्कराचार्य पदमा पदासिन गराई उनीहरूलाई पृथ्वीमा आइपर्ने अधर्मका प्रकोपलाई धर्मको उदघोषद्वारा हन नगर्ने जिम्मेवारीका साथ गुरु परम्परा बसाइयो । यही परम्परा अनुरूप भगवानले आद्य गुरु शङ्कराचार्यको समयपछि पनि कहिले ब्रह्मानन्द सरस्वतीको रूपमा त कहिले करपात्री महाराज आदिको रूपमा जन्मलिई धर्मानुकुलको आचरणको पुनर्जागरण गराउनुभयो ।
त्यस्तै नेपालमा पनि भविष्यमा आउने अधर्मको प्रकोपलाई नास गरी धर्मानुकुल व्यवहारका लागि भगवानको जन्म राष्ट्रसन्त परमानन्दको रूपमा भएको थियो । स्वामीको जन्म समयमा त्यसैरी देखिनेगरी पूर्णरूपमा अधर्मको प्रकोप नभएपनि समाज धर्मानुकुल व्यवहारका लागि धेरै पछि परेको थियो । सनातन धर्म अनुसारको मर्मका बारेमा समाज अनभिज्ञ नै थियो । एकातिर धार्मिक भन्ने समाजमा धामी, झाँक्री, फुकफाक, एकलोटे नुहाइँ आदिलाई मात्र धर्म मान्ने चलन थियो भने अर्कातिर २००७ सालको प्रजातन्त्र पछि यहाँका धर्म, सम्प्रदायलाई विकासको बाधकका रूपमा जनाई विदेशीहरूको गोटीका साथ प्रगतिवादी भनाइने कुप्रथाको सुरुवात हुन लागेको थियो । राष्ट्रगुरु योगी नरहरिनाथले भन्नुभए जस्तै स्वदेशीहरू पनि शास्त्रको अध्ययन गर्नुको साटो विदेशीकै सिको गरेर उनीहरूले लेखिदिएका उपन्यासलाई असली इतिहासको संज्ञाका साथ दिमागमा उल्टापुल्टा कुराहरू खेलाई समाजमा आफूलाई विद्वान् देखाउने प्रयास गर्दै थिए । त्यसैले भगवानलाई पनि सायद आफैले बनाएको कलियुगको प्रकोपबाट नेपाली समाजलाई धर्मपरक असल मार्गनिर्देशन गर्नकालागि स्वामी परमानन्दको रूपमा आउनु परेको थियो । जसरी भगवान् शङ्कराचार्यले विभिन्न मठहरूको स्थापना गरी धर्मको रक्षाकालागि कदम चाल्नुभयो । त्यसरी नै स्वामी परमानन्दले पनि यहाँ सनातन धर्मको रक्षाकालागि पुराना देवस्थलहरूको पुनरुत्थान एवम् केही नयाँ देवगृह र विद्यागृहको स्थापना गर्नुभयो । बेद पढाइने पाठशालाहरूमा विद्यार्थीहरूलाई अध्ययन÷अनुसन्धानन गराई सनातन धर्म संस्कार र संस्कृतिको रक्षा नहुने देखेर वैदिक विद्यालयहरूको स्थापना गर्नुभयो । गुल्मीको दिब्रुङ् मावि.संबत २०२८ सालमा एवम् २०३३ सालमा बाग्लुङ्गको रामकोटमा गुरुकुल स्थापना भए । नेपालमा सामूहिक धान्याचल महायज्ञको प्रथम प्रयोक्ता नै स्वामी परमानन्द मानिनु हुन्छ । आबाल ब्रह्मश्चर्यमा रही तपस साधनाबाटै सिद्ध सरस्वती प्रसाद बन्नुभएका स्वामी कसैसँगबाट अक्षरारम्भ समेत गर्नुभएन भनिन्छ । तर उहाँका प्रत्येक प्रवचन वेदादि शास्त्रका गहनतम कुराहरूले भरिपूर्ण हुन्थे । उहाँले गर्नुभएका कुनैपनि कुरा शास्त्र अनुकुल नै हुन्थे । धर्मशास्त्रका प्रत्येक विषय उहाँलाई कण्ठस्थ हुन्थे । एकपटक स्वर्गद्वारी महाप्रभुको शतवार्षिकी समारोहमा गएर प्रवचन गर्ने सिलसिलामा उहाँलाई तात्कालिक महारानी ऐश्वर्याले प्रवचनको समय बढाउन आग्रहपनि गरेकी थिइन् । धाराप्रवाह शास्त्र अनुकुल गरिने उहाँको प्रवचन सुन्न राजा, प्रजा सधैँ लालयित नै हुन्थे ।
गुल्मी, बाग्लुङ्, चितवन, नवलपरासी, रूपन्देही, पाल्पा, स्याङ्जा आदि विभिन्न स्थानमा मन्दिर, गुरुकुल खोली धर्म जागरण गराउनु भएका राष्ट्रसन्तले जीवनको उत्तरोत्तर समय देवघाटमा विताउनु भयो । वि.सं. २०४६ सालमा देवघाटको गलेश्वर आश्रममा पीठाधीशको रूपमा अभिसिक्त स्वामीले २०४८ मा शङ्कराचार्य परम्पराको वैदिक विधिले स्वामी सत्यप्रकाशानन्द सरस्वतीबाट सन्यास दीक्षा ग्रहण गर्नुभयो । धर्मरक्षार्थ स्थापित सबै परम्पराका मानिसहरूद्वारा उहाँ पूजित हुनुभयो । शङ्कराचार्य परम्परामा दीक्षित भएपनि उहाँले वैष्णवादि महात्माहरूलाई पनि उत्तिकै श्रद्धा गर्नुहुन्थ्यो । के सनातनी, के वैष्णव, के शैव सबैका प्यारा हुनुहुन्थ्यो । सन्यास धर्म लिएरपनि गृहस्थहरूलाई पनि उत्तिकै मायाका साथ उनीहरूको दुःख, सुखमा ध्यान दिनुहुन्थ्यो । भोकालाई भोजन गराउन पाउँदा अत्यन्तै खुशी हुनुहुन्थ्यो र सबैलाई भन्नुहुन्थ्यो– हेर परमात्मापनि जीवात्माका रूपमा आएको हुन्छ । सन्त, महात्मा एवम् सज्जनहरूलाई भित्रैदेखि चिन्ने खुबी थियो । आफ्ना चेला, अर्काका चेला, अथवा फल्नो सम्प्रदायको मानिस भन्ने खालको सङ्कुचित सोँच उहाँमा कत्तिपनि थिएन । त्यसैले आफ्ना पनि अनगन्ती चेलाचपेटाहरू भएतापनि शङ्कराचार्य पद्धतिद्वारा नै दीक्षित अनन्त श्रीविभूषित स्वामी आत्मानन्द गिरिको व्यक्तित्व र खुबी देखेरै गलेश्वर आश्रमको पीठाधीशमा च्यादर ओढाउनु भई, धर्म रक्षार्थ एउटै मात्र आश्रम, थोरै यतिगण भन्दापनि धेरै आश्रम, धेरै यतिगणहरूको भविष्यमा टड्कारो आवश्यकता देखी आफुले हरिहर सन्यास आश्रमको स्थापना गर्नुभयो । त्यस्तै नेपालमा सन्तमहात्माहरूको बसोबास भई वैदिक विद्याको रक्षाहोस् भन्ने मनसायका साथ डा. स्वामी रामानन्द गिरिलाई पनि देवघाटमा बस्ने, गुरुकुल खोल्ने प्रेरणा दिनुभएको थियो । स्वामी परमानन्दको नजिक जाने जो कोहि नास्तिक मानिस पनि उहाँको तेजोबलद्वारा आस्तिक भएरै छाड्थ्यो ।
सत्य सनातन धर्मको ह्रास भई अधर्मको बृद्धि हुँदा भगवान् अवतरित भई धर्मको रक्षा एवम् अधर्मको नास त गर्नुहुने रहेछ । त्यसै अनुरूप काम गरिसकेपछि भगवान् शङ्कराचार्य पनि ३२ वर्षको उमेर यस पृथ्वीबाट विदा लिनुभयो । पश्चिम नेपालमा वेदादिशास्त्रानुकुल वैदिकधर्म पालना गराउन अवतरित स्वर्गद्वारी महाप्रभु पनि आफ्नो काम सकी चाँडै नै परमधाम जानुभयो । त्यस्तै राष्ट्रसन्त स्वामी परमानन्दपनि आफूले गर्नुपर्ने कार्य ६० वर्षभित्रै पूरा गरी २०५३ माघ १८ गते तदनुसार माघकृष्ण अष्टमीका दिन भगवान् पशुपतिनाथको समीपमा ब्रह्मलीन हुनुभयो । भक्तका आँखा रसाउनु त सामान्य नै भयो, पृथ्वी समेत काँप्न पुगिन् । राष्ट्र नै शोकमा डुब्यो । तात्कालिक शोकावस्थामा कविहरूद्वारा काव्य रचना हुनपुगे । खेमराज केशवशरणद्वारा परमानन्द स्मृति रचना भयो । आचार्य जगन्नाथ स्वामीद्वारा गुरुचरित मानस शोककाव्यको रचना हुनपुग्यो । त्यसपछि पनि कवि चातकद्वारा परमानन्दका व्यामृत रचना हुनपुग्यो भने कवि गोविन्द विनोदीद्वारा खण्डकाव्यकै रचना हुनपुग्यो । यो क्रम अझैपनि निरन्तर रूपमा चलेको छ । उहाँले स्थापना गर्नुभएका विभिन्न आश्रममा वैदिक विधि अनुसारका यज्ञ अनुष्ठानहरू चलिआएका छन् । साधु एवम् गृहस्थीहरूद्वारा सेवा गरिएका छन् । लाखौँ विद्यार्थीहरू वैदिक धर्मका मर्मज्ञ भएर निस्किएका छन् । प्रधान आश्रम हरिहर सन्यास आश्रममा उहाँकै मर्मलाई बुझेका श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले आफ्ना गुरु राष्ट्रसन्तकै पदानुसार अत्यन्तै ठूला ईश्वरीय कार्य गर्दै आउनुभएको छ । विद्यालय एवम् आश्रमका माध्यमले नेपाल आमाको सेवाका साथ वैदिकधर्मको रक्षार्थ अहोरात्र खटिरहनुभएको छ । अन्त्यमा राष्ट्रसन्तले गरेका ईश्वरीय कार्य यो सानो लेखमा यी नमिलेका वाक्य गठनद्वारा के पो लेख्न सकिन्थ्यो तर पनि प्रयास चाहिँ गरियो । अस्तु ।