© २०२३
पाल्पा, २० पुस ।
तानसेन–तम्घास सडक खण्डमा पर्ने पश्चिम गाउँमा सडक किनारामा पुराना पुस्ताले सार्वजनिक जमिनमा निर्माण गरेको पानी पोखरी नयाँ पुस्ताका लागि एकादेशको कथा जस्तै भएको छ । तानसेन बजारमा मत्र होइन जिल्लाका दर्जनौ गाउँ बस्तीमा निर्मित पानी पोखरी एकपछि अर्को गरी हराउँदै गएको छ । वन जंगलका पशुपंक्षी तथा घरमा पालिएका गाईवस्तुहरुको तिर्खा मेटाउने उद्देश्यले बनाइएका पोखरीको संख्या असंख्य थिए । पुराना पुस्ताले निर्माण गरेका पोखरी विकासको आवरणमा ध्वस्त भएको रिब्दिकोट गाउँपालिका देउरालीका पुराना पुस्ता खिमानन्द पोखरेल बताउँछन् ।
पुराना पुस्ताले वन जंगलको किनारामा पोखरी निर्माण गराए । महिनौ दिन लगाएर, स्थानीय सिप र प्राविधिक प्रयोगबाट पोखरी निर्माण भएका हुन् । गाउँ बस्तीमा पशुपालन गर्नेहरु ठुलो जमातमा थियो । पहिले पहिले सबेका घर घरमा पानीका धाराहरु थिएनन् । दिनभर वनमा चराएका पशुहरुलाई बेलुका पख पानी खुवाएर घरमा ल्याउने चलन थियो । यस्ता पोखरीहरु घरपालुवा जनावरलाई मात्र नभई वन्य जिव जन्तुलाई समेत पानीको भरपर्दो माध्यम भएको थियो । पछिल्लो समयमा घरमा पाल्ने पशुहरुको संख्या पनि घटेसंगै यस्ता पोखरीहरु हराउँदै गएको देउरालीकै पुराना पुस्ता कविराज अधिकारी बताउँछन् ।
पुराना पुस्ताले कठोर मेहनत गरेर महिनौं दिन लगाएर निर्माण गरिएका पोखरी समथर भूभागको तुलनामा पहाडी भेगका डाँडा, डाँडामा निर्माण भएका थिए । पछिल्लो समयमा सडक निर्माणका क्रममा भासिंदै र पुरिदै गए । गाउँबस्तीमा मोटर गुडाउन होडवाजी नै चल्यो । काम छिटो र सजिलोको लागि बाटो बनाउनको लागि डोजरको प्रयोग बढ्यो । अन्धाधुन्ध डोजरको प्रयोगका कारण वर्षायाममा बाढी पहिरो, भूक्षयको क्रम बढेको कारण यस्ता पोखरीहरु पुरिदै गएको पुराना पुस्ताको भनाई रहेको छ ।
वन जंगलमा रहेका यस्ता पुराना पानी पोखरीहरु पछिल्लो समयमा हराए । २०६२÷०६३ सालपछि गाउँगाउँमा विकासको आवरणमा डोजर भित्रिएपछि यस्ता पोखरी नासिएर भासिने क्रम बढ्यो । पहिले पहिले यस्ता पोखरीहरु गाउँमा आधा दर्जन भन्दा बढी थिए । तर आज यस्ता पोखरीहरु एकादेशको कथा जस्तै भएको रिब्दिकोट गाउँपालिका ठिमुरेका पुराना पुस्ताका चन्द्र बहादुर सोमै बताउँछन् ।
यस्ता पोखरीको संरक्षणको लागि तत्कालीन गाविस र पछिल्लो समयमा स्थानीय सरकारले समेत पहल नगरेको उनी बताउँछन् । यस्ता पानी पोखरीको आसपासमा पर्याप्त मात्रामा पानीका मुहानहरु थिए । पानीका मुहानका कारण खानेपानीको समस्या थिएन । पानी जता पनि थियो तर व्यवस्थित प्रणालीमा थिएन । यस्ता पोखरीका कारण पानीको रिचार्ज हुने हो यस्तो वैज्ञानिक कारण भएको जिल्ला वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेत बताउँछन् । यस्ता पोखरीले पानीको रिचार्जसंगै वन जंगल पनि हरियाली बनाउँछ । यस्ता पोखरीले वातावरण संरक्षणमा समेत ठुलो सहयोग पु¥याउँछ । पानीको पोखरीका कारण वन्यजन्तु वनमै आश्रित हुन्थे । पछिल्लो समयमा पानीका लागि भनेर गाउँ बस्तीमा बस्ने भनेको हो । वातावरणीय क्षेत्रमा समेत राम्रो हो । यसको महत्व त धेरै नै छ । यसको महत्व अपार पनि छ तर पछिल्ला दिनहरुमा यस्ता पानी पोखरी संरक्षणका लागि स्थानीय सरकारबाट कुनै संरक्षण नभएको वन कार्यालयका प्राविधिकहरु बताउँछन् ।
संघीय संरचना निर्माण पछिका समयमा तत्कालीन प्रदेश सरकारले तिनाउ गाउँपालिका र निस्दी गाउँपालिकामा करिव १० हजार लिटर क्षमताका दुई वटा भए । पछिल्ला वर्षहरुमा यो कार्यक्रमले निरन्तता पाउन नसकेको सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन् ।
यस्ता पोखरीका कारण गाउँका नाम समेत पोखरीसंग जोडिएका छन् । पुराना पुस्ताहरुले पानी पोखरी निर्माण गरेर गाउँको नाम समेत पोखरीलाई जोडेर नामाकरण गरे । तर नयाँ पुस्ताले यस्ता पानी पोखरी संरक्षण भन्दा पनि ध्वस्त बनाउने काम भयो । यस्ता पुराना पुराना वस्तुको संरक्षणको लागि होस् या पुनः निर्माणका लागि होस् सबैले आफ्नो आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने पुराना पुस्ताको माग रहेको छ ।
रिब्दिकोट गाउँपालिका ख्याहाका पुर्व वडाअध्यक्ष विष्णु गैरे पुराना पुस्ताले कठोर मेहनतबाट बनाएको तीनवटा पानी पोखरी संरक्षणका लागि वडाको बजेटबाट संरक्षण गर्दा वडाकै सुन्दरतासंगै हरियाली बढेको बताउँछन् ।