© २०२३
बुटवल, १६ पुस । छाडा चौपायाको रूपमा रहेका गाई गोरु व्यवस्थापन गर्न गौशालाको अवधारणा ल्याइएपनि त्यसको दीगोपनामा समस्या देखिने गरेको छ । नयाँ उर्जा र तामझामकासाथ शुरु भएका गौशाला स्रोत अभाव र राजनैतिक खिचातानीका कारण अस्तव्यस्त बनिरहेका छन् । तर सरोकारवाला निकायले भने नियमित आर्थिक स्रोत अभावका कारण गौशाला व्यवस्थित हुन नसकेको बताउने गरेका छन् ।
स्थानीय सरकारदेखि प्रदेश सरकारले गौशालामार्फत छाडा चौपायाको समस्या समाधान गरि किसानको खेतबारीको खेती जोगाउने र सडक दुर्घटनामा कमी ल्याउने प्रतिबद्दता जनाएपनि कार्यान्वयनमा भने समस्या देखिँदै आएको छ । रूपन्देही जिल्लाको दुर्घटनाको तथ्यांक डरलाग्दो छ । प्रहरीका अनुसार दुर्घटनाको तथ्यांकमा ३५ प्रतिशत दुर्घटना छाडा चौपायाको कारण हुने गर्दछ ।
रूपन्देहीको तिलोत्तमा गौशालाले गाईको मल र मूत्रलाई गौशालाको नियमित आम्दानी बनाउने प्रयास गरिरहेको छ । तिलोत्तमा वडा नम्बर १ र ८ को सिमाना पर्ने करैया र शंकरनगर सामुदायिक बन भित्र गौशाला निर्माण गरेको छ । ४ बिगाहा क्षेत्रमा संचालनमा रहेको गौशालामा ३७० वटा गाई छन् । त्यसमध्ये १५ वटा गाई दुहुनो छन् । गौशाला २०७२ सालमा निर्वाचन क्षेत्र बिशेष कार्यक्रम तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा स्थापना भएको थियो । २०७५ आश्विनदेखि गौशालाको व्यवस्थापन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपालले गरिरहेको छ ।
मल, मूत्र र घिउबाट नियमित आम्दानी गर्नका लागि सामग्री उत्पादन गरिरहेको छ । गौशालाले यी उत्पादित सामग्री बिक्रीबाट मासिक रुपमा करिब ७५००० रुपैयाँ आम्दानी गरिरहेको छ । गौशालामा उत्पादित मल, किटनाशक औषधी र औषधी बोट विरुवा र मानिसका लागि उपयोगी छन् । उत्पादित बस्तुहरूमा गड्यौला मल, गौंधन कीट नियन्त्रक, गौअर्क, गहुत, पन्चगव्य घृत लगायतका छन् । अब छिट्टै गोबरबाट अगरबत्ती उत्पादनको तयारी छ ।
गड्यौला मलले माटो हल्का गराउने, उत्पादन बढाउने हुँदा हुँदा गड्यौला मलप्रति किसानको आकर्षण बढेको बताए । यहाँबाट गड्यौला मल माग अनसार बुटवल, भैरहवा र स्थानीय तिलोत्तमाका साथै काठमाडौं र पोखरासम्म पठाउने गरिएको छ । गड्यौला मल दिनमा १ क्वीन्टल बिक्री भइरहेको छ माग पूरा गर्न नसकिएको गौशालाको व्यवस्थापन हेरिरहेका लोकमणि न्यौपानेले बताए । उनका अनुसार स्थानीय रूपमा गड्यौला मलको होम डेलिभरि समेत दिने गरिएको छ । विभिन्न तौलमा प्याकिङमा उपलब्ध गड्यौला मलको प्रतिकिलो ४० रुपियाँ मूल्यमा बिक्री गर्ने गरेको छ ।
गौशालाको मेकानिल इन्जिनियरीङ पढेका रन्तीदेव दासले सचिवको रूपमा रहेर व्यवस्थापन हेरिरहेका छन् । उनले गौशाला बच्न आफै उत्पादन गर्नुपर्ने बताउँछन् । पैसा मागेर मात्रै गौशाला चल्दैन उनले भने, आफै उत्पादन गर्नुपर्छ । त्यसबाट गौशालाको नियमित आम्दानी हुने र त्यसले गौशालालाई बचाउने उनी बताउँछन् । सहयोग गर्ने दाताले पराल, दाना र चापट किनिदिएको भरमा गौशाला नचल्ने उनले बताए । त्यस्ता सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा सहयोग गर्ने दातालाई पराल र चापट किनिदिनेभन्दा पनि उद्यमशील बनाउनेगरी सहयोग गर्न उनले सुझाव दिए ।
गौशालालाई अर्थसँग जोड्नुप¥यो र मात्रै चल्छ बाँच्न सक्छ, उनको जोड छ । गाईप्रतिको लगाव घट्दो छ, गाई किन पाल्नुप¥यो ? भन्ने प्रश्न जताजतै उठेको छ उनले भने, गाईलाई आर्थिक आम्दानीको रूपमा पनि जोड्न सकियो भने मात्रै त्यसको जवाफ हुनसक्छ । देशले मल पाएन भनेर भनिन्छ तर मल उत्पादन नै भइरहेको छैन । मल र मुत्रमै नेपालको पैसा बाहिर गइरहेको छ त्यसतर्फ सरकारको पनि चासो बढ्नुपर्ने उनी बताउँछन् । नेपालमा भएका गौशालाहरूलाई सरकारले गड्यौला मल र गौमुत्रको उत्पादनको केन्द्र बनाउनुपर्ने सके पैसा विदेश जानबाट रोक्न सकिने उनले संभावना देखेका छन् । सरकारले चाहेमा लक्ष्य किटान गरी गौशालालाई सरकारले गड्यौला मल, गौमुत्र र औषधीहरू उत्पादन गर्न लगाउन सक्छ, हामी त्यो काम गर्न तयार छौं । नेपालका गौशालाहरू त्यसो गर्न पक्कै सक्छन् । यसले छाडा चौपायाको रूपमा रहेका गाईको व्यवस्थापन, गौशालाको आत्मनिर्भरता, रोजगारी र गाईको मल मूत्रबाट बाहिरिने पैसा स्वदेशमै रहने वातावरण बन्न सक्छ ।