© २०२३
‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने नाराका साथ विश्व मानव अधिकार दिवस आज आईतवार मनाईदैछ । प्रत्येक वर्ष १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिनको सम्झनास्वरूप यो दिवस मनाउने गरिएको हो । विश्वमा मानव अधिकार घोषणापत्र सबैभन्दा बढी भाषामा अनुवादित तथा प्रकाशित भएको घोषणापत्र हो । तसर्थ मानव अधिकार आज विश्वव्यापी अधिकार बन्न पुगेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको छ तर विश्वमा मानव अधिकारको अवस्थामा भने सुधार आउन सकेको छैन । चाहे त्यो रुस युक्रेन युद्धको क्रममा भएको मानवीय विनास होस वा पछिल्लो इजरायल र गाजामा भैरहेको मानव नरसंहार होस । युद्धका बाछिटाहरूले मानव जीवनलाई ध्वस्त बनाउँदै लगेका छन । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने विगत १० बर्षको सशस्त्र द्वन्द्वले छोडेको अवशेष अझै जारी छ । १७ हजारको ज्यान जाने गरी भएको सशस्त्र द्वन्द्वका पीडितले अझै न्याय पाउन सकेका छैनन् । मर्ने त मरेर गए, बाँचेकाहरूले द्वन्द्वको अवशेष जीवनभर बोकेर बाँच्नुपरेको छ । द्वन्द्व पीडित र बेपत्ता परिवारले अझै न्याय पाउन सकेका छैनन् । बेपत्ताहरूको अवस्था राज्यले सार्वजनिक नगर्दा पीडित परिवारहरू न्यायबाट समेत बञ्चित भएका छन । अर्कोतर्फ नेपालमा अहिलेपनि जाति, धर्म, लिङ्ग, भाषा, राजनीतिक वा अन्य विचारका नाममा विभेद कायमै छ । आफ्नो अधिकारको वकालत गर्दा अरूको अधिकार हनन हुन्छ भन्ने बुझ्ने कसले ? सोचनीय बिषय छ ।
मानव अधिकार मानिसको जन्मपछि उसले पाउनु पर्ने अधिकारहरू हुन् । सम्मानित जीवनका लागि एउटा मानिसका लागि चाहिने सबै आधारभूत आवश्यकताहरू मानव अधिकारभित्र पर्छन् तर आज मानव अधिकारको उल्लंघन भैरहेको छ । संविधानले निर्दिष्ट गरेका अधिकारको रक्षाका लागि सरकार आफै नियममा रहनुपर्नेमा तोड्ने काम भैरहेको छ । मानव अधिकार तथा शान्ति समाजले मानव अधिकारका बिषयमा बर्षौदेखि बहस र पैरवी गर्दै आएको छ तर मानव अधिकारको अवस्थामा सुधार आएको छैन । मुलुकभरी अहिले कुनै न कुनै रूपमा हिंसाका घटना बढेका छन । चाहे त्यो प्रेमीले धोका दिएको रूपमा होस या गृहणीमाथिको अत्याचार वा विवाहपछिका दाईजो लगायतका घटना नै किन नहुन । शान्ति समाजले पनि यस प्रकारका घटनाको नियन्त्रणमा जोड दिएको छ । यो राम्रो कुरा हो तर जबसम्म हाम्रो समाज सभ्य, जिम्मेवार र नैतिक हुँदैन तबसम्म यस प्रकारका घटनाले निरन्तरता पाईरहने देखिन्छ । प्रसंग र सन्दर्भ के हो भने सम्वद्ध अधिकारबादी संघ संस्थाले समय समयमा विभिन्न कार्यक्रम गरेर अपराधजन्य घटना नियन्त्रणमा चासो दिनु जरुरी छ । महिला अधिकारको कुरा अहिले कागजमै खोज्नुपर्ने अवस्था आएको छ । तराईमा दाईजोको निहुँमा ज्यूँदै आगो लगाएर हत्या गरिएका घटना नै किन नहुन, आजको विश्व मानव समाजका लागि यस्ता घटना बर्बर र आततायी छन । मानव समाजका लागि कलंक हुन । यस्तो नियति अरू नेपाली अव भोग्नु नपरोस् । हाम्रो समाजमा रुढीवादी परम्पराका कारण हुने हिंसा हुन् या गाजा क्षेत्रमा भइरहेका हिंसा वा अफगानिस्तानमा महिलामाथि भइरहेका हिंसाहरू किन नहुन्, सबै मानव अधिकारका उल्लंघनका घटना हुन् । तसर्थ आजको दिन हामीले आफ्नो तर्फबाट पनि मानव अधिकार उल्लंघनतर्फ कदम नचाल्ने संकल्प लिऔँ । दिवसलाई औपचारिक भन्दा पनि संकल्प गर्ने उत्सवको रूपमा मनाऔं ।