© २०२३
गुल्मी, ५ मंसिर । तरकारी र फलफूलबालीमा प्रयोग हुँदै आएको थोपा सिंचाईं प्रविधि गुल्मीमा खाद्यान्न बालीमा पनि प्रयोग गरिएको छ । भिरालो जमिनमा पनि थोपा सिंचाई मार्फत खाद्यान्न उत्पादन भएपछि गुल्मीका किसान अहिले नमुना किसानको रूपमा पहिचान बनाउन सफल भएका छन् ।
मेहनत गरे बारी पनि सुन फलाउन सकिन्छ भन्ने उक्ति गुल्मीका एक कृषकले दिएका छन । रोजगारीको सिलसिलामा छ वर्ष दुवई बसेर फर्केका गुल्मी ईस्मा गाउँपालिका वडा नं. २ अन्र्तगत ताल्तुङ्गका अर्जुन कार्कीले मेहनत गरेर बारीमा धान खेती गरेपछि यतिबेला गाउँमा उनको चर्चा बढेको छ । अर्जुनले गुल्मी जिल्लामा पहिलो पटक थोपा सिँचाईको माध्यमबाट सुख्खा बारीमा धान खेती गरेका छन । धान खेती गर्नका पानीको स्रोत भएको समथर जमिन चाहिन्छ भन्ने मान्यतालाई चिर्दै उनले यस पटकदेखि थोपा सिंचाईको माध्यमबाट भिरालो बारीमा धान खेती गर्न शुरु गरेका हुन ।
जिल्लाको ईस्मा गाउँपालिका वडा नं २ अन्र्तगत ताल्तुङ्गका युवा कृषक अर्जुन कार्कीले भिरालो जमिन त्यसमा पनि पानीको स्रोत नै नभएको ठाउँमा पनि धान खेती गर्न शुरु गरेका हुन । उनले गाउँमा नयाँ प्रविधिको प्रयोगसँगै धान खेती गर्न लागेका हुन । बारीमा पनि धान खेती हुन्छ र ? भन्ने मानिसहरू यतिबेला उनले बारीमा फलाएको धान खेती देखेर आफैमा दंग परेका छन ।
ईस्मा ताल्तुङ्गका युवा कृषक अर्जुन कार्कीले थोपा सिंचाईको प्रयोगवाट पाखाबारीमा धान खेती गर्न थालेका हुन । पाखाबारीमा धान खेती गरेको देखेर त्यस क्षेत्रका अन्य कृषकहरू पनि उनको मेहनत र नयाँ प्रबिधि देखेर दंग छन । धान खेती गर्न समथर जमीन र प्रसस्त मात्रमा पानी भएको ठाउँ हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर समयको गतिसंगै प्रविधिको विकासका कारण धान फलाउनका लागि समथर जमिन र फाँटमा मात्रै होईन पहाडका भिरालो बारीमा समेत धान खेती गर्न सकिन्छ भनेर कार्कीले गुल्मी जिल्लामा यस पटकदेखि कृषकमाझ नयाँ सन्देश प्रवाह गरेका छन् ।
कार्कीले थोपा सिंचाइ प्रविधि र सघन धान खेती प्रणालीको माध्यमबाट जिल्लामै पहिलो पटक आफ्नो बारीको दुई रोपनी भिरालो जमिनमा सफलता पूर्वक धान खेतीको सुरुवात गरेका हुन । उनले यसपटक च्यानपियन हाईब्रेड नामक धान रोप्नु भएको थियो । उनले पहिलो पटक शुरु गरेको उक्त धान खेतीवाट यसपटक सात मुरी जति धान उत्पादन गरेको बताए । उक्त धानको चामल खानमा पनि स्वादिलो र अत्यन्तै मिठो हुने उनको भनाइ छ ।
खेतमा धान रोप्दा प्रसस्त पानीमा चाहिन्थ्यो भने बारीमा रोप्दा पानी नभए पनि सुख्खा जमिनमा थोपा सिंचाईको माध्यमबाट धान फलाउन सकिन्छ भनेर प्रमाणित गरिदिएका छन । यो धान खेतमा रोपेको धान भन्दा चाँडो पनि पाक्ने गर्दछ । थोपा सिंचाईको प्रयोगबाट बारीमा रोपेको धानको उत्पादन राम्रो भएको भन्दै कार्किले थोरै मेहनत गरेर धेरै धान फलाउन सकिने बताए । कार्किले आउँदा दिनमा यसैगरी धान खेती विस्तार गर्ने र अरूलाई पनि बारीमै धान खेती गर्न सकिन्छ भनेर सुझाब दिने योजना बनाएको बताए । दुवई बस्दा ग्रिन हाउस भित्र बालुवामा ईस्प्रीङकलले पानी राखेर धान खेती गरेको देखेपछि अर्जुनले पनि घर फर्केपछि त्यसैको प्रेरणावाट आफुले पनि बारीमा धान खेतीगर्न सकिन्छ भनेर कृषि कर्ममा लागेको बताए ।
अन्य खाद्यान्न बालीको तुलनामा धान धेरै फल्ने र धानमा बादर, बँदेल जस्ता जङ्गली जनावरले कम क्षेती गर्ने हुँदा बारीमा धान खेती प्रभावकारी हुने उनको भनाई छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले गुल्मीमा थोपा सिँचाइ प्रविधि र सघन धान खेती प्रणाली विधिबाट धान खेती सफल भएको बताएका छन । उनले आउँदा दिनमा जिल्लाका अन्य ठाउँहरूमा पनि यो प्रविधिलाई विस्तार गर्नका लागि कृषकहरूलाई यसको बारेमा जानकारी गराउने बताए ।
यसवाट परम्परा खेती प्रणालीबाट भन्दा आधुनिक प्रविधिको माध्यमबाट खेतीपाती गर्ने हो भने गाउँघरमा बाँझिएका जग्गाको पनि सदुपयोग हुनुका साथै कृषिमा आत्मनिर्भर बन्न समेत टेवा पुग्ने कार्यालय प्रमुख भण्डारीले बताएका छन ।