© २०२३
धान भित्राउँदै दशैं मनाउने किसानहरूको बर्षौदेखिको परम्परा हो । यो बर्ष भने धान भित्राउने बेलैमा हावाहुरीले किसानको सपनामाथि बज्रपात गरेको छ । सोमबार राती आएको हावाहुरीको बितण्डा कुनै एक प्रदेश वा क्षेत्रमा भन्दापनि देशैभरी फैलियो । जसका कारण मानो रोपेर मुरी उब्जाउने किसानको सपनामाथि आघात पुगेको छ । त्यसै त अहिले धान खेती गर्न सजिलो छैन । अनेक परिश्रम गरेर धान थन्क्याउने बेला परेको वर्षाले किसानको ठूलो क्षति भएको छ । पहिले दशैं नलाग्दै वर्षा थामिन्थ्यो । दसैं मनाएपछि बाली भित्राउने चटारो हुन्थ्यो । चरामुसा लागे पनि यसरी काटेर सुकाएको धानको पाँजा नै भिजाउने गरी पानी पर्दैनथियो । तर, केही वर्षयता जलवायु परिवर्तनका कारण बेला न कुबेलाको पानीले धान बाली बिगार्न थालेको छ । दुई बर्षअघि पनि यस्तै अविरल बर्षाले लाखौं किसानको धान खेतमा बिउ उम्रिने अवस्था आएको थियो । हावाहुरीसंगैको पानीले धानको पाँजा नै डुब्दा किसानमाथि असह्य पीडा थपिएको छ । यस प्रकारका कारणले आयातमा निर्भरता बर्सेनि बढाउँदै लगेको छ । केही वर्षसम्म अन्न निर्यात गर्ने मुलुक समग्रमा मात्र होइन ‘अन्नको भण्डार’ मानिने नेपालको तराईमा समेत चामल आयात गर्नुपर्ने अवस्था छ । यो कृषि प्रधान देश नेपालका लागि लज्जाजनक कुरा हो ।
त्यसै त किसानका लागि बेमौसमी बर्षा हरेकपटक समस्या बन्दै आएको छ । त्यसमाथि समयमै मल नपाउँदा किसानले उल्टो सास्ती खेप्नुपरेको छ । उत्पादनमा कमी हुने चिन्तामाझ किसानले बल्लतल्ल रोपेको धान स्याहार्ने बेलामा आएको पानीले उत्पादनमा समेत असर पुग्ने भएको छ । धान ढलेको छ । यस्तो अवस्थामा सरकारले दिने अनुदान किसानका लागि अर्थहीन हुँदैगएको छ । दुई बर्ष अघि पनि किसानको धान ढल्दा राहतको कुरा उठ्यो । सरकारले किसानलाई राहत दिने भन्यो । किसानको आँखामा छारो हाल्ने काम भयो । अहिलेपनि सरकारले धेरै क्षति भएको किसानको लागि राहतको आश्वासन दिएको छ तर आश्वासनले किसानको चुलो बल्ने अवस्था छैन । जलवायु परिवर्तनका कारण अहिले बेमौसमी बर्षाको समस्या उत्पन्न भएको छ । कुनै प्राकृतिक कारणले बाली नोक्सान भएपनि किसानलाई क्षति नहुने एउटा उपाय कृषि बिमालाई व्यापक र सहज बनाउनेतर्फ पहल जरुरी छ । यसैगरी मौसम विज्ञानमा भएको प्रगतिले धेरै हदसम्म मौसम पूर्वानुमान गर्न सकिने भएको छ । तर, बेलैमा किसानसम्म जानकारी पुग्ने संयन्त्र र अभ्यास छैन । मौसमको सही सूचना सकेसम्म चाँडै किसानसम्म पुग्ने व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक छ । राज्यले अब धान खेतीमा क्षति भएका किसानको लागि केही गरोस् । हरेक पटक नयाँ सरकार बन्ने वित्तिकै किसानका लागि ठूला ठूला आश्वासनका पोका आउँछन, बदलामा किसानले राहत पनि पाउन नसक्ने अवस्था छ । अब किसानलाई उत्पादन बढाउन अभिप्रेरित गर्न ठोस सहयोगको खाँचो छ । यसतर्फ नेपाल सरकारका साथै प्रदेश र स्थानीय पालिकाहरूले पनि सोच्ने बेला आएको छ । सरकारले किसानको सुरक्षा गर्ने हो भने बाली बिमा गर्ने व्यवस्था गरोस् । यसपटक तत्काल धानमा भएको क्षतिको विवरण संकलन गरेर किसानलाई भएको नोक्सानीको सरकारले क्षतिपूर्ति दिने व्यवस्था मिलाओस् ।