© २०२३
बुटवल, २ कात्तिक ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरका होम कार्की बुधबार करिव एक घण्टा लाइनमा उभिएर नयाँ नोट सटही गरे । राष्ट्रबैंकको सिद्धार्थनगर कार्यालयमा नयाँ नोट सटहीका लागि उनी करिव साढे ९ बजे नै पुगेका थिए । दसैंका लागि नयाँ नोट नै किन भन्ने जिज्ञासामा उनको प्रतिक्रिया थियो, “नयाँ नोट गन्न पनि सजिलो र दक्षिणा दिंदा पनि राम्रो देखिने भएककाले नयाँ नोट लिन लागेको हुँ ।”
त्यस्तै पाल्पाको जव्गादी घर भै बुटवल बस्दै आएका गमबहादुर गुरुङ पनि नयाँ नोट सटहीका लागि वर्सेनि राष्ट्रबैंक पुग्दा रहेछन् । नयाँ नोटका लागि लाइनमा देखिएका उनी घरकाले नयाँ ननोट ल्याउन भनेकाले नोट सटहीका लागि आएको बताए । नयाँ नोटको प्रयोगले राष्ट्रको करोडौं रकम छपाइबापत बाहिरिन्छ नि भन्ने जिज्ञासामा उनले यसबारे आफूलाई थाहा नभएको बताए ।
बुधबार धेरै सर्वसाधारण नयाँ नोटका लागि लामबद्ध थिए भने थुप्रै सरकारी कार्यालयका कर्मचारी नयाँ नोटका लागि राष्ट्रबैंक सिद्धार्थनगरका प्रमुखको कार्यकक्षमा नयाँ नोट पाउनका लागि तोक आदेश लिन गैरहेका देखिन्थे ।
नेपाल राष्ट्रबैंक सिद्धार्थनगर कार्यालयले यसवर्षको दसैंका लागि नयाँ नोटको सट्टा सुकिला नोटको लागि प्रोत्साहन गर्दै आएको छ । तर सर्वसाधारणले नयाँ नोट ननभई हुँदैन भनेमा प्रतिव्यक्ति १८ हजार ५ सय सम्म नयाँ नोट दिने गरेको छ । “नयाँ नोटको सट्टा सुकिला नोटको प्रयोग गर्ने र यसलाई प्रोत्साहन गर्ने राष्ट्रबैंक सिद्धार्थनगरको योजनामा केन्द्रीय बैंक पनि सकारात्मक देखिएको छ, आगामी वर्षदेखि यो योजना सबैतिर लागू हुनसक्छ”–राष्ट्रबैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सत्येन्द्रराज सुवेदीले भने ।
नोट छाप्न कति खर्च लाग्छ ?
राष्ट्र बैंकका अनुसार पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ ।
पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ ।
पछिल्लो पटक राष्ट्र ब्याङ्कलाई रु १ हजार भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । रु १ हजारको नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत पर्छ ।
गत वर्ष राष्ट्र बैंकले दसैँका लागि पाँच देखि १०० का २२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाएको थियो । यो वर्ष पनि यही हाराहारीमा नयाँ नोट बजारमा जान सक्ने राष्ट्र बैंकको आकलन छ ।
अघिल्लो वर्षको दसैँमा भने आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही भएको बताइएको छ । अहिले पनि बजारमा चलनचल्तीमा साना दरका नोट पर्याप्त छन् । तर, दसैं र तिहारका बेला ती नोट नचलाएर फेरि नयाँ नोट पठाउनुपर्ने बाध्यतामा राष्ट्र बैङ्क छ । नोट छपाइका लागि हरेक वर्ष औसतमा करिब साढे २ अर्ब खर्च हुने गरेको छ । यो बाध्यताले राज्यलाई वर्षको ५० करोडको नोक्सानी भइरहेको छ । त्यसैले यो पद्धतिलाई परिवर्तन गर्नु जरुरी रहेको राष्ट्रबैंक सिद्धार्थनगरका निर्देशक सुवेदी बताउँछन् । “यो छिटो पनि सम्भव छैन, बिस्तारै नयाँ माध्यमबाट नयाँ नोट वितरणमा नियन्त्रण गर्नुपर्छ”–उनको भनाई छ ।
बजारमा पुराना दरका नोट चलनचल्तीमा जति पनि हुँदाहुँदै राष्ट्रबैंकले फेरि नयाँ नोट दिइरहेको छ । “यसले गर्दा हाम्रो लागत बढेर गएको छ । किनभने पुराना नोट जति ढुकुटीमा राख्यो यसको लाइफ त्यति घट्दै जान्छ”–सुवेदी भन्छन् ।
अहिले नयाँ छपाई गर्दाको लागत कति जति पर्छ ?
औसतरुपमा भन्दा अहिले प्रतिनोटको छपाइ लागत झन्डै २ रुपैयाँको हाराहारी छ । त्यसैले नयाँ नोटको वितरणमा लगाम लगाउनै पर्ने सुवेदीको भनाई छ । अर्कोतिर नोट बोक्ने चलनलाई पनि निरुत्साहित गर्नुपर्ने र प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने उनको तर्क छ ।
आफ्नो स्टकमा सफा नोट हुँदाहुँदै नयाँ नोट नदिने नीति लिने हो भने नयाँ नोटको प्रयोग हटेर जाने सुवेदी बताउँछन् । “जब बजारमा सफा नोट चलनचल्तीमा ल्याइयो भने जनताले नयाँ नोटको माग नै गर्दैनन् । अहिले जसरी परम्परागत रुपमा नयाँ नोट भनेर दिइरहेको अवस्था छ, सबै नोट सफा भएपछि त नयाँजस्तै भएन र ? यस्तो भएपछि जुनसुकै समयमा नोट बजार पठाए भइहाल्छ”–उनी भन्छनत् । अहिलेको समस्या भनेको सफा नोट स्टकमा ढुकुटीमा हुने तर, त्यही दरका नोट बाहिर बजारमा पठाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । जबकि अहिले बजारमा गएका नोट चार महिनाभित्र फिर्ता आउँदा त्यसको आयु (लाइफ) सकिएर आउँछ ।
राष्ट्रबैंकले एक व्यक्तिलाई १८ हजार पाँच सय रूपैयाँसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ । सर्वसाधारणले पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्मका एक–एक प्याकेट नयाँ नोट पाउँछन् ।
यसरी सटही गर्न दसैंका लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्ब रूपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने गरेको छ ।
दसैंमा नयाँ नोट लिने÷दिने र साट्ने एउटा चलन नै बनिसकेको छ । लामो समयदेखि देशव्यापी रूपमै यो चलन चलेको पाइन्छ ।
दसैंमा नयाँ नोट साट्ने चलन कसरी सुरू भयो ?
यसका लागि नेपालमा मुद्रा प्रचलनसम्बन्धी इतिहास केलाउनुपर्ने हुन्छ । तत्कालीन प्रधानमन्त्री जुद्ध समशेरले २००२ असोज १ गते एउटा अध्यादेश जारी गरेका थिए । त्यस अध्यादेशमार्फत सदर मुलुकी खानाबाट नेपाली नोट जारी गर्ने र प्रचलनमा ल्याउन सकिने व्यवस्था गरे ।
फलस्वरूप त्यही समयदेखि ५, १० र एक सय रूपैयाँका नोट छापियो र चलनचल्तीमा ल्याएको राष्ट्र बैंकको विशेष प्रकाशन ‘सिक्स्टी इयर्स अफ नेपाल राष्ट्र बैंक’ मा उल्लेख छ ।
’तर यी नोट काठमाडौं उपत्यका र सीमित केही पहाडी जिल्लामा मात्रै चलनचल्ती आए,’ उक्त प्रकाशनमा लेखिएको छ ।
दस्तावेजहरूका अनुसार त्यतिखेरसम्म दैनिक र सरकारी कारोबार समेत भारतीय मुद्रामै हुन्थ्यो । त्यतिखेर नेपाल बैंक मात्रै सञ्चालनमा थियो । बिक्रम सम्वत् १९९४ कात्तिक ३० गते नेपाल बैंक स्थापना भएको थियो । बैंकमा सर्वसाधारणले खोलेका बचत खाताहरूमा रकम जम्मा गर्दा समेत भारतीय मुद्रामै हुन्थ्यो ।
पहिलो पटक छापिएका नेपाली नोटहरूको प्रचलन पनि खासै बढ्न सकेन । भारतीय मुद्राको यही दबदबा कम गर्ने उद्देश्यले २०१३ साल वैशाखमा नेपाल राष्ट्र बैंक स्थापना गरियो ।
मुख्य उद्देश्य नेपाली मुद्राको यथोचित व्यवस्थापन र प्रचलन बढाउनु थियो । सदर मुलुकी खानाले छापेको नेपाली मुद्राको दायित्व सबै नेपाल राष्ट्र बैंकले लियो । र, पहिलो पटक नेपाल राष्ट्र बैंकबाट २०१६ फागुन ७ गते एक, पाँच, दस र सय रूपैयाँको नोट छापियो ।
सरकारले २०१७ साल जेठबाट मुलुकभित्रको कारोबारमा नेपाली मुद्राको मात्रै प्रयोग गर्ने निर्णय ग-यो ।
त्यतिखेरदेखि नै छापिएका नयाँ नोट दसैंमा साट्ने सुविधा दिइएको हो । दसैं र तिहारजस्ता चाडबाडमा कारोबार र उपभोगमा वृद्धि हुन्छ । दसैंमा अर्थतन्त्र सहरबाट गाँउतिर सर्ने मानिन्छ । त्यसैले यही समय पारेर नयाँ नोट जारी गर्दा नेपाली नोटको प्रयोगमा व्यापकता आउने ठानिएको थियो । त्यतिखेर गरिएको यस्तो सुरूआतले मुलुकभित्र नेपाली मुद्राको चलनचल्ती बढाउन ठूलो योगदान पनि ग¥यो ।
त्यो समय चाडबाडलाई जोडेर यसरी चलाइएको चलनले नै अहिलेसम्म निरन्तरता पाइरहेको हो । नेपाली चाडबाड र रीतिरिवाजकै कारण पनि नेपाली नोटहरूको आयु चाँडो सकिने गरेको छ । चाडबाड र पूजामा नोटको प्रयोग हुँदा चाँडै मैलो हुने, च्यातिने, झुत्रा पर्ने गरेको छ ।
यसरी दसैंमा बाहिरिएका नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमै फर्किन्छन् ।े यी पुराना नोट जलाउने गरिन्छ । केन्द्रीय बैंकको अनुसार हरेक वर्ष ४० देखि ५० अर्ब हाराहारी झुत्रा नोटहरू नष्ट गरिन्छ ।
यसरी हरेक वर्ष नयाँ नोट नष्ट हुने र राष्ट्र बैंकले पुनः छपाउने प्रक्रिया निरन्तर चलिरहन्छ । राष्ट्र बैंकले नोट छाप्नको लागि ग्लोबल ट्रेन्डर गर्छ भने विदेशी कम्पनीमार्फत नोट छापिएर आउने गर्छ । पछिल्लो समय भने राष्ट्र बैंकले पुराना नोटबाट खाना बनाउन प्रयोग हुने ब्रिकेट समेत बनाएर बिक्री गर्ने गरेको छ ।
चलनचल्तीमा रहेका पाँच र दस रूपैयाँका नोट धेरै चाँडो पुरानो हुने गरेको छ । यस्ता नोटको आयु लगभग तीन वर्ष मात्रै हुन्छ ।
राष्ट्र बैंकले हाल एक र दुई रूपैयाँका नोट निष्कासन गर्न छाडेको छ । दसैंमा नयाँ नोटका रूपमा पाँच रूपैयाँदेखि एक सय रूपैयाँसम्मका साना दरका नोट साट्न प्रयोग गरिरहेको छ ।
कम खपत हुने पाँच सय र एक हजार दरका नोटको आयु भने सरदर पाँच वर्ष रहने गरेको छ ।
औसतमा सबै खाले मुद्रा छाप्न दुई रूपैयाँ ५० पैसा लाग्छ । त्यसैले नोटको जतन गर्न समेत राष्ट्र बैंकले सुझाउने गरेको छ । त्यसबाहेक चलनचल्तीमा रहेको नोट जलाउन, केरमेट नगर्न समेत आग्रह गर्दै आएको छ । नोट बिगारेमा तीन महिनासम्म जेल र ५ हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था समेत छ ।
तर, चाडपर्वमै नोट धेरै मैलो हुने, बिग्रिने र च्यातिने गरेका छन् । दसैं लगायत चाडपर्वमै चलनचल्तीमा रहने मुद्रामा वृद्धि हुने गरेको छ । यो समय लगभग ६ खर्ब रूपैयाँभन्दा बढी रकम चलनचल्तीमा रहने गरेको छ ।
राष्ट्र बैंकको गत साउनसम्मको तथ्यांक अनुसार बजारमा पाँच खर्ब १४ अर्ब रूपैयाँ बराबरका पैसा चलनचल्तीमा छ । दसैंमा रकम केही बढ्ने गरेको छ । चलनचल्तीमा थपिएको रकम १५÷२० दिनमै बैंकिङ प्रणालीमा फर्किन्छ भने पाँच खर्ब बराबरको रकम चलनचल्तीमै रहिरहन्छ ।