© २०२३
बुटवल, ३० असोज ।
रुपन्देही तिलोत्तमाका १७ वर्षीय रितेश सुनार साउन ३ गते राति दुर्घटनामा परे । सवारी हाँकेर घर जाँदै गरेका उनी योगीकुटी सडकमा बसेको गोरुसंग ठक्कर खान पुगे । फुडजोनमा बारटेन्डिर काम सिक्दै गरेका उनी त्यो दिन साथीको घरबाट फर्किदै थिए । अँध्यारो सडकमा एक्कासी छाडा चौपायाका कारण उनी दुर्घटनामा परेका थिए ।
टाउको बजारिएर फुटेको उनी गम्भीर घाईते भए । टाउको, हात र खुट्टामा चोट लागेका उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगियो । आकस्मिक कक्षमा प्राथमिक उपचारसंगै उनको सिटी स्क्यान गरेर थप उपचारका लागि रिफर गरियो । टाउको बजारिएका उनको होस गुमेको थियो । दाहिने हातको क्लाभिकल फ्याक्चर र खुट्टामा चोट लागेको अवस्थामा दाजु रिजन सुनारले भेटे । थप उपचार नहुने भएपछि उनीहरु अन्त लैजाने तरखरमा भए । नजिक, छिटो र न्यूरोे ट्रमा सेवामा नाम चलेको चौराह अस्पतालमा लग्ने निधो गरे । बिहानपख साउन ४ गते चौराह अस्पताल भर्ना गरियो ।
उनको तत्काल उपचार शुरु भयो । टाउकोमा दुई पटक शल्यक्रिया भयो । वरिष्ठ न्यूरोेसर्जन डा. केआईसिंह केसीले सफल उपचार गरे । यसैगरी डा. मदन ज्ञवाली र डा. सुनिल कुमार चौधरीको टिमले हड्डीको थप उपचार भयो । ४ दिनमा उनलाई होस आयो । शुरुवातमा डेढ लाख खर्च भएको दाजू सुनारले बताए । वडाबाट सिफारिस गरेर छुट समेत पाएको उनले बताए । यसैगरी विभिन्न कलेज र सामाजिक संस्थाबाट आर्थिक सहयोग भएको छ ।
उनको हातमा रड राखिएको छ जुन एक वर्षपछि निकाल्नुपर्छ । यसैगरी टाउकोमा लागेको चोटको थप ३ महिनापछि शल्यक्रिया गरेर हड्डी राख्नुपर्ने उपचार संलग्न चिकित्सक बताउँछन् । ‘हामीले बाँच्ने आशा नै मारेका थियाौं’—दुःखी हँुदै दाजु सुनारले सुनाए । चौराह अस्पतालमा समयमा उपचार र आर्थिक समेत सहयोग मिल्दा भाईले उपचार र जीवन दान पाएको उनी बताउँछन् ।
यता देवदह नगरपालिका वडा नं. ६, खैरेनीका २८ वर्षका अनिल बरल र प्रकाश ज्ञवाली साउन २ गते राति दुर्घटनामा परे । कच्ची बाटोमा सवारीमा रहेका उनीहरु कल्भर्टमा ठोक्किन पुगे । गम्भीर घाईते दुबैलाई बुटवल ल्याइयो । लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा लगियो । टाउकाको सिटी गरेर बिरामीको अवस्था बुझेपछि न्यूरोेको चिकित्सक नभएको भन्दै रिफर गरियो । आमा दिलमाया ज्ञवाली भने—‘यहाँ उपचार हुन नसक्ने भन्दै अन्त लैजानुस भने ।’ त्यसै त अत्तालिएका परिवारमा झन तनाव बढ्यो । कहाँ लैजाने, कता लैजाने भन्ने चिन्तामा डुबे । त्यस्तैमा एक जनाले उनीहरुलाई चौराह अस्पतालको बारेमा सुनाए । उनीहरु आवश्यक सोधखोजमा लागे ।
रिपोर्टहरु लगेर बुझ्ने काम भयो । रुवाबासीकै बिचमा उनीहरुले विकल्प भेटे । बिरामीलाई चौराह अस्पतालमा भर्ना गरियो । जहाँ अनिलको टाउकोको शल्यक्रिया भयो । दोस्रो दिन नै उनको होस आयो । उनको एक हप्ता आईसियुमा राखेर उपचार गरियो । एक हप्ताको अवधिमा कुनै जटिलता देखिएन । स्वस्थ्यमा धेरै सुधार भयो । उता टाउकाको छाला खुईलिएका प्रकाश ज्ञवालीको पनि उपचार गरियो । बाहिरी डरलाग्दो चोट लागेका उनको उपचारपछि ठिए भएको आमा दिलमाया ज्ञवालीले बताईन् । लुम्बिनी प्रादेशिक अस्पताल केवल रिफरल सेन्टरका रुपमा काम गर्ने गरेको सेवाग्राहीको गुनासो छ । सुविधासम्पन्न अस्पतालका अधिकांश चिकित्सकहरु निजी अस्पताल र क्लिनिकमा धाउने हँुदा पनि प्रादेशिक अस्पतालको सेवा गुणस्तरीय हुन नसकेको हो ।
चीनमा आफ्नो अध्ययन पूरा गरेर नेपाल फर्किएर डा. केआईसिह केसीले काठमाडौ वीर अस्पतालमा केही समयमा काम गरे । काठमाडौ केन्द्रित न्यूरोेसर्जरी सेवालाई मोफसलमा लग्ने काममा उनको महत्वपूर्ण योगदान छ । वि.सं २०७१ सालदेखि चौराह अस्पतालमा जोडिएका उनी उपचारमा प्रविधिको महत्व राम्ररी बुझेका छन् । करिव ३ हजार जनाको शल्यक्रिया गरेका उनी न्यूरोेसर्जरी जस्तो संवेदनशील उपचारमा समयसापेक्ष नयाँ नयाँ मेशिनहरु भित्र्याउन सफल भएका छन् । कतिपय गम्भीर दुर्घटनामा टाउकोको हड्डी फुटेको अवस्थामा पुनः राख्न्न नमिल्ने अवस्थामा यसको सट्टा टाइटानियमको जाली राखिने उनले बताए । आठ वर्षको अवधिमा ३ सय जनामा टाईटानियम जाली राखेको र यसको परिणाम राम्रो भएको उनी बताउँछन् । भर्खरमात्र अस्पतालले सिटी स्क्यान मेशिन सेवा शुरु गरेको छ ।
मोफसलमा न्यूरोे सर्जरीको ईतिहास
वर्षेनी देशभर सडक दुर्घटना हुने गर्दछ । प्रत्येक वर्ष दुर्घटनामा परेर समयमा उपचार नपाउँदा हजारौ मानिस मृत्युको मुखमा पुग्छन् । न्यूरोे सर्जरी सेवा काठमाडौ केन्द्रित हुँदा पनि तल्लोस्तरका धेरैले उपचार पाउन सकेका थिएनन् । हरेक वर्षजसो सुनिने यो समाचारको समाधान कतैबाट गरेको पाईदैन । केही आफ्नो पक्षबाट गर्ने लक्ष्य बोकेका डा. केसी मोफसलमा काम गर्ने सोच बनाएका थिए । सन २००५ सम्म चीनमा अध्ययन गरेर नेपाल फर्किएका डा. केआईसिह केसी ३ वर्षसम्म वीर अस्पतालमा न्यूरोेसर्जन विभागमा काम गरे । फेरि मास्टर्स थप अध्ययन गर्न सन २००९ मा चीन गए ।
अध्ययन सकेर २०१२ मा नपाल फर्किएका उनी २०१४ सम्म फेरि न्यूरोे सर्जरी विभागमा काम गरे । अब भने उनी नेपालकै सबैभन्दा धेरै दुर्घटना हुने क्षेत्रमध्येको एक लुम्बिनीलाई छनौट गरे । उनी लुम्बिनी मेडिकल कलेज, प्रवास केही समयमा काम गरे । मोफसलमा भने काम गर्न सहज थिएन । टाउकाको चिर्ने कुराबाट नै बिरामीको आफन्त डराउँथे । उनले यहाँ आएर रगत जमेको बिरामी चिन्तामणी शर्माको पहिलो शल्यक्रिया गरेका थिए । धेरै पटकको सहजीकरणपछि मात्र शल्यक्रिया भएको थियो । बिरामी काठमाडौ वरिष्ठ न्यूरोेसर्जन डा उपेन्द्र देवकोटासंग भेट्न गए । डा.देवकोटाबाट उपचारको विधि एउटै र खर्चमा फरक हुने जानकारी पाएपछि बल्ल उनी आफ्नै ठाउँमा उपचार गर्न माने । ‘मोफसलमा चुनौती नै यही थियो’—उनले भने ।
बिरामीलाई आफ्नै ठाउँको उपचारप्रति बिश्वास जगाउन उनले धेरै मेहनत गरे । यस अवधिमा नयाँ प्रविधिसमेत भित्र्याउन सफल भए । सन २०१५ देखि २०१८ सम्म जर्नल न्यूरोेसर्जरी सेवामार्फत शुरु गरेका थिए । त्यसपछि भने अहिले माइक्रोस्कप विधिबाट शल्यक्रिया गर्दै आएका छन् । माइक्रोस्कोपी आधारमा हुने शल्यक्रियामा सम्पूर्ण अटो मेशिन भित्रिएको छ । यो प्रविधि भैरहवा मेडिकल कलेज र बुटवलको चौराह अस्पतालमा छ ।
पूर्ण सेटअप गर्दा ३ करोड न्यूनतम लाग्ने भएकाले पनि निक्कै कममा अस्पतालमा जडान गरिएको छ । अर्कोतर्फ दक्ष चिकित्सक अर्को महत्वपूर्ण पाटो हो । धेरै उतारचढाव पार गर्दै उनको टिमले चौराह अस्पतालको ट्रमा सेवालाई उत्कृष्ट बनाउन सफल भएका छन् । अस्पताल सिटी स्क्यानसहित सबैजसो सुविधा दिने गरी सेटअप तयार भएको छ । न्यूरोे आफैमा जटिल मानिने शल्यक्रिया सफलतापुर्वक गर्न सफलता हासिल गरेका उनी चिकित्सकको निर्णय लिने कुरालाई प्राथमिकता दिन्छन् । ‘काठमाडौ उपचार गर्न जाने सोच परिवर्तन गर्न सफल भएका छौ’— उनले भने । हताहत भएर जटिल अवस्थामा ल्याईएका बिरामीको शल्यक्रिया गरिन्छ । हप्तादिनमा उसको होस आउँदा र अर्को जुनी पाउँदा धेरै खुशी लाग्ने उनी बताउँछन् । ‘मेरो कर्मको मेहनतबाट कसैको जीवन दिन सफल भएको ठान्छु’—उनले भने ।