© २०२३
शासन भन्ने बित्तिकै शक्तिको कुरा आउँछ । अर्थात शक्तिमा रहेकाले शासन चलाउँछ । आम हितलाई ध्यान दिई चलाइएको शक्ति सुशासन हो भने व्यक्तिगत हित वा स्वार्थलाइ केन्द्रमा राखी प्रयोग गरिएको शक्ति कुशासन हो । शासन मानव जीवनको एक अंग हो । यो बिना समाज चल्नै सक्दैन । देशले अङ्गालेको संविधान्, ऐन, कानुनको सिमाभित्र रहि देशका बिभिन्न अवयवहरूलाई चलायमान बनाउनु भनेको देशको शासन चलाउनु हो । नेपालमा राजतन्त्रले लामो समयसम्म शासन ग¥यो । यस युगलाई स्वर्णिम युग मान्ने केही जमात भएपनि यो भित्र सुशासन भन्दा कुशासन नै बढी थियो । ब्यक्तिबादी सोच अझ भनौ हुकुमी शासन यसको अन्त्र्यमा पाइन्छ । राजतन्त्र बिधि बिधान, ऐन कानुन, संबिधान भन्दा माथि रहने संस्थाको रूपमा रहन्थ्यो । नेपाली राजतन्त्रामक राज्य व्यवस्थाभित्र सुशासन खोजिनु आफैमा अल्पज्ञानी हुनु हो किनकि त्यो निगाहाबाट चल्ने शासन प्रणाली वाहेक अर्को केही थिएन । गणतन्त्रात्मक शासनभित्र सुशासनको खोजी हुनु आवश्यक छ, जो भईरहेको पनि छ ।
नेपालको राज्य प्रणाली गणतन्त्रात्मक राज्य व्यवस्थामा रूपान्तरित भैसकेपछि हरेक नेपालीले यतिखेर सुशासन खोजिरहेको छ । जनताको सेवा गर्छु भन्ने नेता, राजनीतिक दल, विभिन्न संगठनहरू एवं कर्मचारीहरूको बोली र व्यवहारलाई नियाल्दा सुशासन पूर्णरूपमा हराएको पाइन्छ जुन दुर्भाग्यपूर्ण छ । नेपालका राजनीतिक दलहरूबाट नै सुशासनको हत्या भईरहेको छ । केही दशकअघि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र हुने अबैध सुन ओसारपसारमा कडाइ गर्दा प्रधानमन्त्रीले पार्टी चलाउन सार्है्र गाह्रो भयो । कम्तिमा तीन महिनाको लागि भएपनि अबैध कारोबारलाई खुकुलो पार्नुपर्यो भनेको सन्दर्भ यहाँ उल्लेख गर्न लायक छ । चुनावमा अर्वौ खर्चने पार्टीहरूको आम्दानीको मुख्य स्रोत भ्रष्टाचार बाहेक अर्को हुनै सक्दैन । बर्तमानमा देखिएका मुख्य दलहरूले आफ्ना पार्टीका नेताहरूलाई नै कुशासनको मैदानमा खडा गरेको तथ्यले बोलिरहेको छ । केही पूर्वमन्त्रीहरू अहिले जेलमा छन् । उनीहरूले गरेको भ्रष्टाचारलाई गहिरो तरिकाले हेर्ने हो भने उनीहरूले कुकर्मबाट प्राप्त व्यक्तिगत लाभ ३० प्रतिशतको हाराहारी हुन् सक्छ भने पार्टीगत लाभ ७० प्रतिशत हुन् सक्ला । कर्मचारीले गर्ने भ्रष्टाचार नितान्त व्यक्तिगत हुन्छ भने नेताहरूको भ्रष्टाचार व्यक्तिगत भन्दा पार्टीगत नै बढी हुन्छ । संस्थागतरूपमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण खर्चालु चुनावलाई लिन सकिन्छ । हरेक प्रमुख दलहरूले भ्रष्टाचारलाई प्रश्रय दिइरहेका छन्, त्यसैको सिको कर्मचारीहरूले गरिरहेका छन् । सुशासनको बिधानभित्र जन्मिएका दलहरू नै कुशासनको पोखरीमा पौडिरहेको दृष्य घाम जत्तिकै छर्लंग छ ।
कैयौं बेथितीको बीचमा गत स्थानीय तहको चुनावमा नयाँ स्वतन्त्र अनुहार काठमाण्डौं महानगरपालिकाले हेर्न खोज्यो । प्रचुर मतकासाथ बालेनको जन्म भयो । बालेन प्रभावको बिट समाउँदै केही नयाँ दलहरू पनि जन्मिए । स्वतन्त्र शब्दकै फेरोमा झुन्डिएको एक दलले अपेक्षा गरे भन्दा बढी सफलता चुम्न पुग्यो । देशको राजधानीले नयाँ स्वाद फेर्दा समग्र देशको राजनीति कोर्ष बदल्ने दिशातर्फ उन्मुख भएको देखिदै छ । साँच्चै भन्ने हो भने बालेन प्रभाव नेपाली समाजमा सर्वशक्तिमान बन्न पुगेको छ । बालेनको बिरोध गर्ने जति प्रदेश र संघको चुनावमा नराम्ररी पछारिए । कतिपय बालेनको कटु बिरोधीहरू उनकै प्रशंसक बन्न पुगिरहेका छन । विभिन्न राजनीतिक दलहरूबाट जितेका काठमाण्डौं महानगरका वडाध्यक्षहरू उनको अगाडि नतमस्तक बन्न पुगेका छन । नगरका छलफलहरूमा मिडियामार्फत लाइूभ प्रस्तुत गर्नु उनको सबैभन्दा ठूलो बल बन्न पुगेको छ । नगरको लाइभ मिटिङमा भएका कुराहरूलाई कार्यान्वयन गर्न सक्नु नै उनको सफलता हो । केहि बर्ष अघिसम्म नाक थुनेर हिड्नु पर्ने दुर्गन्धित बागमती नदीमा अहिले ¥याफ्टिङमा मजा लिईरहेको दृश्य वास्तवमै हेर्न लायक छ । फोहोरले दुर्गन्धित हुने बाटाहरू फूलका थुंगाहरूले वासनादार बनेको समाचार आइरहेका छन् । बालेन धेरै बोल्दैन तर जे बोल्छ त्यहि गर्छ भन्ने भाष्य काठमाण्डौ नगरभित्र बनेको छ । बालेनको डोजर हुदै सुरु भएको बिकासको अभियान बालेनको शहरसम्म पुगेको छ । दुई बर्षको समय अवधिभित्र उनले चालेका कदमहरू प्रशंसनीय छन् । उनका नीति कार्यक्रम प्रष्ट छन् । तथापी कहिलेकाहीँ उनका व्यक्तिगत झोकहरू मिडियामा आएका हुन्छन । देशभरी राजस्व कम उठिरहेको वेला काठमाण्डौं महानगरले सोचे भन्दा बढी राजस्व उठाउन सक्नु बालेन प्रभाव नै हो ।
मुलुकमा तीन तहका शासनहरू छन । प्रदेश सरकारले आफ्नो औचित्य स्थापित गर्न सकिरहेको छैन । नेताहरू संघमै रमाउन खोजेकाले प्रदेश छायाँमा छ । देशमा हुने ठूला ठूला भ्रष्टाचारको जरो नउखेल्दासम्म संघीय सरकार कुशासनको उदगम स्थलवाहेक अर्को केही बन्न सकेको छैन । सबैभन्दा शक्तिशाली मानिएको संघीय सरकार कतिखेर ढल्ने थाहै हुदैन । सरकारमा रहँदासम्म सकेको कमाउने हो भन्ने मन्त्रीहरू र उनी आबद्ध दलको मनोविज्ञान देखिन्छ । कुनै कुनै स्थानीय सरकारको चर्चा अलि अलि सुनिन्छ तर बालेनकै चर्चा अधिक छ । कान्तिपुर, काठमाण्डौ, नेपाल शब्दबाट चिनिने राजधानी यतिखेर बालेनको शहरबाट परिचित हुन खोजिरहेको प्रतित हुदैछ । झन्डै सात÷आठ दशक अस्तित्वमा रहेका दलहरूबाट सिन्को नभाचिँदा बालेन लोकप्रियताको ग्राफ ह्वात्तै बढेको सहज अनुमान लगाउन सकिन्छ ।
आगामी तीन बर्ष बालेन प्रभाव घटेन भने देशको राजनीतिको स्वरूप नै बदलिन सक्छ । त्यसो त लौरो र घन्टीले अघिल्लो चुनावमा ठूला ठानिएका दलहरूलाई लखेटी रहेका थिए । आगामी चुनावमा नराम्ररी पछार्न सक्छन । अहिलेसम्म नेपाली राजनीति बाद र दर्शनको प्रयोगशाला बनिरहेको थियो । अव भने सुशासन राजनीतिको केन्द्रमा रहने पक्का छ । देश चलाउनका लागि संविधान काफी छ । आवश्यकताको आधारमा संशोधन गर्दै शासन गर्ने बाटो खुला छ । देश बिदेशको राजनीति बुझेको युवावर्ग भ्रष्टाचार बिरुद्ध उभिएको छ । अर्थ आर्जन एवं देशमा समृद्धी ल्याउनको लागि सुशासन अपरिहार्य छ । आगामी एक दशक सुशासनले बाटो लिन सकेन भने देशमा विश्वविधालयका भवन ठडिएका हुनेछन, बिद्यार्थी हुने छैनन्, बिद्यालय हुनेछन् तर पढ्ने तथा पढाउने कोही हुने छैनन् । भूगोल हुनेछ तर मानिस हुने छैनन् । उमेर ढल्किएका बुढाबुढी हुनेछन तर छोराछोरी नाति नातिना हुने छैनन् । युवा पलायनले देश हरिकंगाल हुदै विघटनको दिशातर्फ उन्मुख हुन् पनि सक्दछ । आशा गरौं यस्तो अनुमान यथार्थ नबनोस् । आशा गरौं सुशासनले नेपालमा अब बाटो पहिल्याउने छ । क्षितिजबाट देखिएको बालेनरूपी आशाले सफलता चुमोस् ।