© २०२३
नेपालगञ्ज, २१ असोज ।
बाँकेको राप्ती सोनारी –१ रानी गजेरीकी शान्ति भण्डारी खत्रीलाई कहिले बाख्रा चराउन त कहिले घाँस दाउरा काट्न बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको सामुदायिक वनमा गईरहनुपर्ने बाध्यता थियो । वन्यजन्तुको संख्यामा वृद्धि हुँदै गएपछि त्यो बाध्यतालाई हटाउने प्रयास गरिरहेको उनी बताउँछिन् ।
उनी भन्छिन् –‘पहिले त दैनिक दुई तीनपटक गईन्थ्यो अब त मुस्किलले एक पटक गईन्छ, त्यो पनि एकदमै सुरक्षा अपनाएर ।’ बाख्राको लागि चाहिने घाँस घर वरिपरि रोपेर सहज भएको उनी बताउँछिन् । ‘दाउराको विकल्पमा विद्युतीय चुल्हो भएपछि त झन् दाउराको लागि मात्र वनमा जाने कुरै भएन ।‘ बन्यजन्तुबाट आफै बच्नको लागि पनि जंगल जान हुँदैन भन्नेबारे सबै सचेत भईसकेको उनको भनाई छ ।
सामुदायिक वनमा मात्र नभएर यसअघि पशु चौपाया लिएर निकुञ्जभित्र सम्म जाने गरेकोे बताउने महिलाहरु अहिले आफ्नै खेतबारीको डिलमा रोपेको डाले घाँसले ठूलो राहत पुगेको बताउँछन् । राप्ती सोनारी १ कुसुमकी ईशा ओली भन्छिन् ‘पहिले त सामुदायिक वनको घाँस नपुगेर निकुञ्ज भित्र सम्म पनि बाख्रा लिएर जान्थ्यौं, अहिले कोही पनि जाँदैनौं ।’ अहिले सामुदायिक वनमा एकछिन चराउने र खोरमै राखेर पाल्ने गरेको उनी बताउँछिन् । ‘खेतबारीको डिलमा रोपेका डाले घाँस खुवाएर बाख्रा खोरमै बँधुवा रुपमा पाल्ने गरेका छौं ।’
ईशाजस्तै राप्ती सोनारी–८ ओभरीकी मैसरा खत्रीले पनि एक दर्जन बढी बाख्रा खोरमै बाँधेर पाल्ने प्रयास गरिरहेको बताउँछिन् । ‘सँधै बाँधेरै पाल्ने हो’, उनी भन्छिन्, ‘एकछिन मात्र बाख्रा फुकाए पनि राजमार्गको दक्षिणतर्फ सामुदायिक वनमा चराउने गर्छौ, निकुञ्ज तर्फ त जानै दिँदैनौं ।’
वनप्रतिको निर्भरता कम गर्न संरक्षणका क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थाले दाउराको विकल्पमा विद्युतीय तथा ग्याँस चुल्हो र पशु वस्तुको लागि घाँसका विरुवा तथा सुरक्षित खोरको ब्यवस्था गरिदिएको बताईएको छ । विद्युतीय चुल्हो प्रयोग गर्न थालेपछि दाउराकै लागि वनमा जानुपर्ने बाध्यता हटेको राप्ती सोनारी –१ कुसुमकी विमला परियार बताउँछिन् । “वनमा जाने भनेकै घाँस दाउराको लागि हो”, उनी भन्छिन्, ‘घाँस र दाउराको विकल्प घरमै भएपछि वनमा जाने कुरै भएन ।’
वनमा जाँदाखेरीको दुर्घटनालाई कम गर्न बाँके राष्ट्रिय निकुञ्ज राजकोट मध्यवर्ती क्षेत्र कुसुममा संरक्षणका क्षेत्रमा काम गरिरहेका साझेदार संस्था आयुसिएन, केएफडब्ल्यु र जेडएसएलको आर्थिक सहयोगमा हिमालयन नेचर मार्फत केही महिना अगाडि ५८ घरधुरीलाई विद्युतीय चुल्हो तथा १० घरधुरीलाई ग्याँस चुल्हो उपलब्ध गराईएको थियो । निकुञ्जसँग जोडिएका बस्तीमा विद्युतीय चुल्हो गराए पनि कतिपयले त्यसमा प्रयोग हुने भाँडा नभएर प्रयोग गर्न सकिरहेका थिएनन् । वितरण गरिएका विद्युतीय चुल्हो प्रयोगमा ल्याउनका लागि संरक्षणमा काम गरिरहेका साझेदार संस्थाहरुले शनिबार ५८ घरधुरीलाई उक्त चुल्होमा प्रयोग हुने एक÷ एक थान प्रेशर कुकर र कराई पनि वितरण गरेकाछन् । राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तर्गतका रानीतलाउ, बसेरी र कुसुमेश्वर मध्यवर्ती सामुदायिक वनका ५८ जना उपभोक्तालाई भाँडा, आयआर्जन मुलक समूह, कुसुम वैकल्पिक आयआर्जन समितिका दुईजना उपभोक्तालाई बोयर बोका र ६ जना ब्यावसायिक तरकारी खेती गर्ने कृषकलाई टनेल वितरण गरिएको हिमालयन नेचरका फिल्ड संयोजक श्रीराम घिमिरेले जानकारी दिए । उनले भने,–‘वन पैदावारमा परेको चापलाई कम गर्नको लागि विभिन्न साझेदार संस्थाले समुदायमा गरेको कामको प्रतिफल हेर्दा वनप्रतिको आत्मनिर्भरता कम हुँदै जानु पनि एक उपलब्धि हो ।’
जेडएसएल नेपाल तथा हिमालयन नेचरले राजकोट मध्यवर्ती क्षेत्रका करिव ८१ घरधुरीलाई लक्षित गरेर हाल विभिन्न किसिमका तालिम दिनुका साथै बैकल्पिक जीविकोपार्जनका लागि सहयोग गरिरहेको जनाएको छ । त्यस क्षेत्रका ८१ घरधुरी मध्ये ४५ घरधुरीलाई बाख्राको लागि सुरक्षित खोर ब्यवस्थापन गरिदिएको छ । यस्तै ४१ घरधुरीलाई समेटेर वैकल्पिक जीविकोपार्जन समिति बनाएर उन्नत तरकारी तथा फलफुल खेतीका लागि सहयोग गरिरहेको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले जानकारी दिए ।
निकुञ्ज मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने अधिकाँशले बाख्रा पालेर जीविकोपार्जन गरिरहेको बताउँछन् । पछिल्लो समय ब्यवस्थित तरिकाले पशु वस्तु पाल्न थालेकाले वन्यजन्तुबाट हुने क्षतिमा कमी आएको अध्यक्ष खड्काको भनाई छ ।
विशेष गरी पाटे बाघ संरक्षणका लगि विक्रम सम्वत् २०६७ सालमा स्थापना भएको सबैभन्दा कान्छो निकुञ्जको रुपमा परिचत बाँके राष्ट्रिय निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । जसमध्ये ३४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र पर्दछ । मध्यवर्ती क्षेत्रमा ७६ हजार जनसंख्या बसोबास गरिरहेको निकुञ्जले जनाएको छ । २०७८ सालमा करिव ७ महिनाको अवधिमा पाटे बाघको आक्रमणमा परी ५ जनाको मृत्यु भएको थियो भने ती सबै घटना वन क्षेत्रमा भएको निकुञ्जको दावी छ । त्यस घटनापश्चात आर्थिक बर्ष २०७९÷०८० को हाल सम्म मानवीय क्षति नभएको बाँके राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ ।