© २०२३
बुटवल, २० असोज ।
मधुमेह पहिचान भएपछि लामो समयदेखि उपचारमा लाखौ रुपैया खर्च गरेकी तिलोत्तमा नगरकी निर्मला थापा निराश थिईन् । २५ वर्षको उमेरमा नै उनलाई शरीर कमजोर हुने, निद्रा बढी लाग्ने जस्ता लक्षण देखिएपछि जाँच गर्दा सुगर देखिएको उनी बताउँछिन् । करिब एक वर्ष औषधि नखाई बसेकी उनी पछि झन समस्या बढेपछि क्लिनिक हुँदै विशेषज्ञ चिकित्सकसम्म उपचार गरेपनि उनको मधुमेहको समस्या कम भएन ।
काठमाण्डौ नियमित गएर उपचार गर्न कठिन थियो । शारीरिक र मानसिक रुपमा कमजोर उनी धेरै निराश भईन् । कोभिड संक्रमणले घरभित्रै लकडाउन गरेको बेला उनी विकल्प भेटाईन् । तिलोत्तमा नगरमा रहेको केन सेन्टरमा पुगिन् । जहाँ पुग्दाको स्मरण गर्दै धेरै कठिन अवस्थामा रहेको बताउँछिन् । नियमित ईन्सुलिन चढाउँदै आएकी उनी नियमित जाँच र उपचार, परामर्शबाट औषधि सेवनमा झरेकी छिन् । चिकित्सकको उपचारसंगै खानपान र ब्यायाममा ध्यान दिंदा धेरै फाईदा मिलेको उनी बताउँछिन् । उपचारको हिसाब गर्दा शुरुवातमा वार्षिक एक लाख रुपैयाँभन्दा बढी खर्च भयो उनको । अहिले भने चिकित्सक जाँच बाहेक औषधिमा सीमित भएको छ ।
यता बर्दघाट, चिसापानीकी राधा शर्मा नेपाल १४ वर्षदेखि मुधमेहबाट पीडित छिन् । खुट्टा झम्झम्याउने, कमजोर उनी अनावश्यक तौल बढेको समस्या देखिएपछि जाँच गराउँदा मधुमेह देखिएको बताउँछिन् । नियमित औषधि खाएकी उनी सुगर नियन्त्रण नहँुदा तौल घट्यो । रगतमा सुगरमात्र जाँच गर्ने तर अन्य चासो नदिंदा एचबिएवानसी बढेर झन थला परिन् । जुन ७ हुनुपर्नेमा १४ भएको उनी बताउँछिन् । उनी ईन्सुलिन चढाउँछिन् । अहिले केनमा उपचार शुरु गरेपछि भने केही परिवर्तन आएको उनी बताउँछिन् । “अहिले शारीरिक रुपमा स्वस्थ छु”–उनले भनिन् । केवल चिकित्सकको मात्र जाँच नभई खानपान, ब्यायामबारे सल्लाह पाए अनुसार अघि बढ्दा धेरै नियन्त्रणमा राख्न सफल भएको उनी बताउँछिन् ।
विश्वमा नै नसर्ने रोगबाट मृत्यु हुनेको संख्या बढ्दो छ । नेपालीको घरघरमा भित्रिरहेको मधुमेहलाई समयमा नै पहिचान गरेर यसलाई रोकथाम मात्र नभई भविष्यमा हुने जोखिम रोक्न सकिने विज्ञहरु बताउँछन् । मधुमेह रोग विशेषज्ञ डा जसमिन तुलाधरले रगतमा चिनिको मात्रा बढ्नुलाई सामान्य मधुमेह मानिने बताईन् । धेरै चिनी खाएर मधुमेह नभई शरीरमा हुने प्याङ्क्रियाज भन्ने ग्रन्थी जसले ईन्सुलिन निकाल्छ त्यसमा हुने घटबढ मधुमेहको एउटा कारण भएको उनी बताउँछिन् ।
धेरैलाई दुब्लाउँदै जाने, आँखा धमिलो देखिने, अल्छिपना आउने जस्ता लक्षण हुन्छ तर ५० प्रतिशतमा भने कुनै पनि लक्षण देखिदैन । मुख्यतः मधुमेह मुख्य टाईप वान टु र गर्भावस्थामा देखिने गरी ३ प्रकारका हुन्छन् । ५० प्रतिशत काम गर्ने क्षमता घटेपछि बल्ल मानिसलाई लक्षण थाहा हुन्छ जसले गर्दा प्याङ्क्रियाज कमजोर हुन्छ । प्रि डाईबेटिजको अवस्थामा नै उपचार शुरु गरे नियन्त्रण हुन्छ । ईन्सुलिनको मात्रा नहुने अवस्था टाईप वान हो । शरीरमा चिनि प्राप्त गर्न ईन्सुलिन आवश्यक पर्छ । अर्कोतर्फ शरीरमा ईन्सुलिन उत्पादनको मात्रा घटबढ हुने अवस्था हुने अवस्था टाईप टु डाईबेटिज हो । ईन्सुलिन रसिस्टेन्स हुने अवस्थाका कारण पनि बढ्छ । मधुमेह हुनुमा परिवारमा वंशाणुगत, खानपानको कमजोरी, ब्यायाम नहुनेमा देखिने गर्छ । यो रोग नभई यो जीवनशैली सिकाउने कला भएको उनी बताउँछन् । प्राकृतिक जिवनशैली, खानपानलाई जोड दिनुपर्छ । शारीरिक अवस्था अनुसार एक सेकेन्डमा २ पाईलाको गतिमा ब्यायाम गर्नुपर्ने उनी बताउँछिन् । सजिलो पाईने खाना नखाने, प्राकृतिक खानाको उपयोग गर्नुपर्ने उनले बताईन् । मधुमेह रोक्ने पाँच मुख्य आधार भनेको आहार, ब्यायाम, नियमित औषधि, निमयित जाँच र वर्षमा एकपटक आँखा जाँच गर्न उनी सुझाव दिन्छिन् ।
यसैबिच केन डाईबेटिज एण्ड थाइरोइड सेन्टरले तिलोत्तमामा मधुमेह बिरामीहरुलाई एक दिने विशेषज्ञ चिकित्सकबाट सचेतना तथा केन लोयल्टी रिवार्ड २०८० बितरण कार्यक्रम सम्पन्न गरेको छ । सेन्टरका अध्यक्ष तथा मधुमेह परामर्शदाता दिनेश कक्षपतिले मधुमेहको पहिचान समयमा गरेर खानपान र जिवनशैलीलाई ध्यान दिनुपर्ने बताउँछन् । चिकित्सकको सेवासंगै नियमित र उचित परामर्शबाट मात्र मधुमेह उपचारमा सफलता मिलेको उनले बताए । सेन्टरमा सेवा लिएर फाईदा मिलेका सेवाग्राहीहरुलाई विशेष रिवार्ड बितरण गरिएको उनले बताए । मधुमेह बिरामीमा नसाको समेत समस्या देखिने गरेको भन्दै निकट भविष्यमा न्युरोलोजी सेवालाई थप गर्न लागेको उनले बताए ।
कार्यक्रममा डा रोहितराज क्षेत्रीले बुटवलमा मधुमेहको निःशुल्क परीक्षण अभियान धेरै पहिले शुरु भएको भएपनि मानिसहरु यसलाई सामान्य रुपमा लिदा अवस्था गम्भीर बन्दै गएको बताउँछन् । मधुमेह थाहा लाग्नसम्म धेरै ढिला हुने हँुदा पनि जोखिम हुने उनी बताउछन ।
कार्यक्रममा वरिष्ठ पत्रकार मदन पौडेलले नसर्ने रोगका बिरामी बढ्दै गएको बेला सामाजिक भावका साथ गरिएको कार्यक्रम निक्कै उपयुक्त भएको बताए । तीन तहका सरकारबाट गरिनुपर्ने कार्यक्रम एउटा नीजि स्तरको संस्थाबाट चलाएर समाजलाई सचेत बनाउने गरि नमुना काम भएको भन्दै उनले अझ भविष्यमा नया ढंगबाट चलाउन सुझाव दिए ।
कार्यक्रममा पोषणविद कुबेर गिरिले एउटा स्वस्थ्य मानिसको खानपानको रुटिङ बारे जानकारी गराउँदै मधुमेह भएपछि खानपानमा कस्तो ब्यवस्थापन गर्ने विषयमा जानकारी दिएका थिए ।