© २०२३
राज्यलाई सही ढङ्गले सञ्चालन गर्न राजनैतिक सिद्धान्त अनि विधिको आवश्यकता हुन्छ । आधुनिक युगमा प्रजातन्त्रलाई राजनैतिक व्यवस्थाको महत्वपूर्ण माध्यम मानिन्छ । नेपालको सन्दर्भमा प्रजातन्त्रको उदय पश्चात् मुलुकले फड्को मार्ने विश्वास गरिएको थियो । प्रजातन्त्र स्थापना भएको आज सात दशकभन्दा बढि भइसक्यो । यसबीचमा अनेकौं राजनैतिक व्यवस्थाको प्रयोग नेपालमा भइसकेका छन् । बहुदलीय व्यवस्था, निर्दलीय पञ्चायती व्यवस्था, जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/०६३ सालको जनआन्दोलन, गणतन्त्रको स्थापना, मधेस आन्दोलन, संविधानसभाको निर्वाचन जस्ता राजनीतिक परिवर्तनहरू भइसक्दा पनि सामान्य नागरिकहरूले चाहेको र खोजेको पद्धति पाउन नसकिरहेको गुनासो व्याप्त छ । पछिल्लो समय राजतन्त्रको विरोधमा जनताहरू संगठित बन्दै गए । जनताहरूको मुख्य चाहना भनेको देशमा विकास र समृद्धि नै थियो । यद्यपि पछिल्ला राजनैतिक घटनाक्रमहरूले नेपालका राजनैतिक दल तथा तिनका नेताहरू कसैबाट पनि राष्ट्रिय परिस्थितिलाई बुझ्ने प्रयास नभएको सर्वत्र महसुस गरियो । परिणामस्वरूप जनतामा असन्तुष्टि फैलिएर विद्रोहको भावना जाग्यो । पुराना राजनैतिक दलहरूको विकल्पमा नयाँ शक्तिहरू देखापर्न थाले । फलस्वरूप पछिल्लो निर्वाचनमा स्वतन्त्र उमेदवारहरूले अत्यधिक मत ल्याएर विजयी हुने अवस्था आयो । देशमा शान्ति र सुशासनको अपेक्षा गरेका जनताहरूका लागि दिवास्वप्न जस्तै बन्यो । फलतः नेपाली नागरिकहरू स्वतन्त्र उमेदवार तथा नयाँ पुस्ताका नयाँ अनुहारहरूलाई नेतृत्व दिनमा अघि बढेको देखिन्छ ।
देशमा जनताहरूकै बलमा राजनैतिक परिवर्तनहरू नभएका होइनन् तर सक्षम एवं दूरदर्शी राजनैतिक नेतृत्वको अभावमा राजनैतिक परिवर्तनहरू अपेक्षाकृत उपलब्धिमूलक भने हुन सकेनन् । २०४६ सालको राजनैतिक परिवर्तनपछिको करिब ३४ बर्षको अवधिमा दर्जनौं सरकारहरू फेरिए तर देशको मुहार फेरिन सकेन । मुलुकले देश विकासको गति लिन सकेन । राज्यसंग विकास गर्ने स्पष्ट मार्गचित्र छैन । गरिवी, अभाव, बेरोजगारी लगायतका समस्याहरूले मुलुक ग्रस्त छ । विधिको शासन हराएको छ । भ्रष्टाचार, अत्याचार, नाताबाद, कृपाबाद र आफन्तवादले जरा गाडेको छ । वेरोजगार हाम्रो देशको अर्को ठूलो सामाजिक समस्या हो । युवाहरू स्वदेशमा रोजगारीका अवसरहरूको अभावले विदेश पलायन हुन बाध्य भएका हुन् । विभिन्न कालखण्डका राजनीतिक परिवर्तनका लागि मुख्य भूमिका खेलेको युवावर्ग राजनीतिक अकर्मण्यताका कारणले रोजगारीको लागि विदेश जान बाध्य हुनुपरेको तितो यथार्थ हाम्रो सामु रहेको छ ।
कुनै पनि देश विकास हुनको लागि त्यस देशका युवाशक्तिको भुमिका ठूलो हुन्छ । राज्यले युवाहरूको जोश, जाँगर र तागतलाई देश विकासमा लगाउन नसक्दा विकासको गति शुन्य हुन्छ । एकातिर देशमा ठूलो संख्यामा रहेको युवावर्ग अवसरको अभावले विदेश पलायन भएको छ भने अर्कोतिर स्वदेशमा भएका युवाहरूको मन पनि अवसरहरूको अभावले कुँडिएको छ । युवाशक्तिको अभावमा मुलुकको कुनैपनि क्षेत्रमा विकास हुन सकेको छैन । राज्यसंग नागरिकहरूलाई रोजगारीका अवसरहरू दिने कुनै स्पष्ट योजना देखिदैन । प्रजातन्त्रको करिब ३४ बर्षको दौरानमा एउटा पनि नयाँ उधोगधन्दा खोलिएको छैन । बरु भएका उद्योगहरू समेत राजनितिक हस्तक्षेपको कारणले बन्द भएका छन् । एकातिर यही युवावर्गले विदेशी भूमिमा बगाएको रगत र पसिनाले आर्जन गरेर पठाएको विप्रेषणले देश चलेको छ भने अर्कोतिर स्वदेशमा बाँकी रहेका बेरोजगार युवाहरूको निरासा, कुण्ठा र आर्थिक अभावलाई राज्यले टुलुटुलु हेरेर बसेको अवस्था छ । मुलुकको यस्तो विकराल समस्याको समाधानको लागि राज्यले स्पष्ट योजना बनाउनेतर्फ ध्यान दिन नसक्नु नेपाल र नेपालीको लागि विडम्बना नै भन्नुपर्छ । नेपालमा रोजगारीका अवसरहरू सिर्जना गर्नको लागि कृषि, पशुपालन, जलस्रोत र पर्यटनका क्षेत्रहरूमा विकास गर्न जरुरी छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण भएको हाम्रोजस्तो देशमा भिजन, मिसन र एक्सनको ईच्छाशक्ति भएको राजनेताको अभावले युवाहरू बेरोजगार हुन परेको हो । थुप्रो संख्यामा रहेका शिक्षित र अर्ध–शिक्षित युवा जमातलाई रोजगार दिई मुलुकलाई समृद्घिको बाटोमा हिंडाउन राज्यले स्पष्ट मार्गचित्र बनाउनु आवश्यक छ ।
स्वार्थले निर्लिप्त भएका राजनितिक दलहरू र तिनीहरूका कार्यशैलीले वास्तवमा देश र जनताको भावनालाई लत्याएको अवस्था छ । समयको माग र नागरिकहरूको चाहना बुझ्न नसक्ने राज्य अहिले काँसी जाने कुतिको बाटो भनेझैं उल्टो राजनीतिक अभ्यासमा अभ्यस्त छ । हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक व्यवस्था केही व्यक्ति र समूहको लागि मात्र दुहुनो गाई भएको छ । आम नागरिकहरूको जीवन दिन–प्रतिदिन कष्टकर बन्दै गइरहेको अवस्था छ । मुलकमा तीब्र राननितिक परिवर्तन त भयो तर नागरिकहरूको सामाजिक, शैक्षिक र आर्थिक जीवनमा आंशिक सुधार पनि आउन सकेन । राजनीतिले देश बनाउने होइन । देश त नागरिकहरूले बनाउने हो भन्ने यथार्थलाई बुझ्न अव राज्यले ढिला गर्नुहुँदैन । अबको सुन्दर नेपाल युवाहरूको मिहिनेतले मात्र निर्माण हुन सक्दछ । नयाँ नेपाल र नेपालीहरूको भाग्य र भविष्य परिवर्तन गर्ने हो भने विकासका संभावनाका क्षेत्रहरूमा योजनाका साथ कार्यक्रमहरू तय गरी नवीन जोश तथा जाँगरका सम्बाहक युवाहरूलाई स्थान दिइनु पनि आवश्यक छ ।
विभिन्न आकांक्षा राखि विदेश पलायनको मनोविज्ञानले ग्रस्त भएका युवाहरूलाई स्वदेशमा नै आयआर्जनका बाटाहरू खोल्नका लागि कृषि र पशुपालनमा आधुनिक तरिकाले व्यवसाय गर्नको लागि राज्यले योजना बनाउन आवस्यक छ । वैदेशिक रोजगारीले नेपाली समाजमा पारिवारिक विखण्डन तथा सम्बन्ध विच्छेद त बढाएकै छ, सँगसँगै राष्ट्रिय अर्थतन्त्रमा समेत यसका ठूला दुष्परिणामहरू देखापरेका छन् । अहिले देशले नराम्ररी भोग्दै गरेको व्यापार घाटा, मुद्रास्फीति र वैदेशिक मुद्रा सन्तुलन बिग्रनु विप्रेषणकै असर हो । किनकि यस्तोे कमाइको अधिकांश हिस्सा उपभोगका सामग्री, त्यो पनि आयातित गैरखाद्य वस्तुमा बढी खर्च हुने गरेको छ । र, यसको अर्को दुःखद पाटो पनि छ । युवा विदेश भासिँदा कृषि, निर्माण तथा अन्य विभिन्न कामका लागि हामी भारतीय श्रमिकमा निर्भर हुनुपरेको छ जसले गर्दा यहाँबाट विप्रेषण भारत जाने गरेको छ ।
युवावर्गको जोश, जाँगर र सीपलाई सहि ढंगले उपयोग नगरेसम्म देश विकासको कल्पना ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तै देखिन्छ । युवाहरूलाई आफ्नै देशमा आयआर्जनका अवसरहरू प्राप्त भएमा कुनैपनि युवा रहरले विदेश जाँदैन । स्वदेशमा नै काम, दाम र मामको व्यवस्था भएमा विदेशी भूमिमा श्रम र श्री वेच्न युवाहरू जाँदैनन् । उनीहरूको विदेश मोह स्वतः भंग हुन्छ । विदेशको भूमिमा काम गर्ने रहर नेपाली युवा युवतीहरूको होइन तर वाध्यता र जीवन यापनसंगको सरोकारले आज लाखौं लाख युवाशक्ति विदेश पलायन भइरहेका छन् । यस्तो अवस्थामा पूर्णविराम नलागेमा केही वर्षमै देशको हरेक क्षेत्र नराम्रोसंग थला पर्ने निश्चित छ । यसरी बिदेशिने युवाहरूलाई आर्थिक उन्नतिको मेरुदण्डको रूपमा रहेको कृषिमा आकर्षित गर्न सकेमा पनि भविष्यका दिनमा भोकमरीको समस्यालाई कम गर्न सकिन्थ्यो । युवाहरूलाई सीप र क्षमतामा विकास गरि सीप र क्षमता अनुसारको काममा युवालाई स्वदेशमै रोजगारी दिलाई उनीहरूका लागि दीगो र सुन्दर भविष्यको निश्चित गर्नुपर्ने भएको छ । हामीले आफ्नै देशमा पनि सुन्दर भविष्य बनाउन सकिन्छ भनेर सहज र सरल योजना पनि दिन सकिरहेका छैनौं । युवा जमात शिक्षित, अशिक्षित, अर्धशिक्षित, सीप सिकेका हुन या नसिकेका हुन् जो सुकैको पनि रोजाई किन विदेश नै हुन्छ ? अब भने कतिपनि विलम्ब नगरिकन युवाको आकर्षणको केन्द्र हुने खालको व्यवहारिक योजना ल्याई हाम्रा युवाहरूलाई काम दिन सकियो भने मात्र हाम्रो देश उँभो लाग्दछ । हामीले युवा जोश र जाँगरलाई सकारात्मक दिशातर्फ अग्रसर गराउदै देशमा पनि केही गर्न सकिन्छ भन्ने निर्धक्क गराउनुपर्ने अहिलेको आवश्यकता देखिएको छ । जनताहरूमा देखिएको राजनीतिप्रतिको वितृष्णा र पछिल्लो विकसित व्यवस्थाप्रतिको निराशाको कालो बादललाई अविलम्ब हटाउनुपर्ने देखिन्छ ।