© २०२३
पाल्पा, १७ असोज ।
पाल्पा जिल्लाको चुरे पहाडमा मुहान भई समथर भूभाग तथा खोलानालाको तटीय क्षेत्रमा यतिखेर बगर नै ढाकेर सेताम्मे फुलेको काँसले प्राकृतिक सौन्दर्य बढाएको छ । फुलेको काँसले सौन्दर्य मात्रै बढाएको छैन, वर्षायाम सकिएको पनि सङ्केत गर्छ । नेपालीको मुख्य चाडपर्व दसैँ, तिहार र छठपर्व आगमनको सङ्केत गर्दै सेताम्मे काँस (कस्यान) फुल्दा रोगव्याध हराउने र किसानले लगाएको बालीनाली सप्रिने विश्वास रहेको स्थानीय बताउँछन् ।
तटीय क्षेत्र हँुदै बग्ने खोलाका किनारमा फुलेका काँसलाई नयाँ सौन्दर्यप्रेमीहरुले क्यामेरामा कैद गर्ने, काँसलाई साक्षी राखेर टिकटक बनाउनेहरु समेत खोलाका तटीय क्षेत्रमा भेटिने गरेका छन् । “खोलाका किनारामा सेतै फुलेका काँस त्यसको वरपर हरियाली फाँटमा लहलह झुलेका धानका बाला देख्दा कस्को मन प्रफुल्लित हुँदैन र ?” स्वर्गको एक टुक्रा जस्तै भएको तानसेन नगर दमकडाका स्थानीय पुरन दुधराज भन्छन्, “पाल्पाको फाँट मध्ये सबैभन्दा ठूलो फाँट मानिने माडी फाँटमा यतिखेरको प्राकृतिक दृश्यले जो कसैको मन पनि लोभ्याउँदैन र ?” आन्तरिक तथा बाह्य पर्यटकको यो दृश्य मन खिच्न सक्ने प्रशस्त आधार भएको उनले बताए ।
हेर्दा र देख्दा सामान्य वस्तु हो काँस । खोला किनारमा सेताम्य फुलेका काँस, हरियाली फाँट त्यसैले सुन्दरता बढायो । त्यस्ता दृश्य सबै ठाउँमा र सधै हुँदैनन् । यसरी खोला किनारमा उम्रिएको काँस भदौ महिना सुरुवात भएसंगै फुल्न थाल्दछन् । पहिले पहिले यसको महत्व घाँसको लागि मात्र नभएर ढकिया, गुन्द्री पनि बनाइन्थ्यो । यसलार्र्र्र्र्र्र्र्र्ई पोषण युक्त घाँसको रुपमा लिने गरिन्थ्यो । बजारका भाँडाको प्रचलनसंगै ढकिया तथा गुन्द्रीको सिप पनि हरायो, गाउँमा बस्ती बाक्लो थियो । गोठमा धेरै बस्त्ु भएका कारण घाँसको समस्याका कारण काँस फुल्न नपाउने गरी काट्ने चलन थियो । आजभोलि यी सबै कामहरु हराएर गएकाले फुल्न पाए काँस हरियाली फाँटका तटीयहरुमा । हरियाली फाँटमा सेतो फुल देख्दा अत्यन्तै रमाइलो लाग्ने माथागढी गाउँपालिका झडेवाका पूराना पुस्ताका लालबहादुर आचार्यले आफनो अनुभव सुनाए ।
“यस्ता दृश्यले विदेशी पर्यटकको ध्यान केन्द्रित गरेर ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने प्रशस्त आधार भए पनि त्यसतर्फ कुनै पनि निकायको ध्यान पुग्न नसक्दा आफुमा मात्र सीमित हुन पुगेको हो”–उनले भने ।
यस्तो फुलले हिन्दु धर्मालम्बीहरुले मनाउने मुख्य पर्वहरु नजिकिदै छ है भन्ने संकेत पनि गर्दछ । पहिले पहिले काँस फुलेपछि अव पर्व लाग्यो । पर्वका लागि खाद्यान्न, नगद, लत्ता कपडा जम्मा गर्नु पर्दछ भन्ने हुन्थ्यो । यही दृश्यले पर्वको संकेत हुन्थ्यो । पर्व आएको सूचना दिने संवाहका रुपमा लिने गरेको तिनाउ गाउँपालिका दोभानका स्थानीय ईश्वरी प्रसाद पाण्डेले आफनो अनुभव सुनाए ।
यसको महत्व जति जति पछि भयो, त्यति त्यति बढ्दै गयो । पहिले पहिले प्रविधिको विकास भएको थिएन । त्यसले गर्दा यस्ता दृश्यहरु कैद हँदैनथे । यस्ता दृश्यलाई पछिल्लो समयमा भएको प्रविधिको विकासले महत्व बढायो । यस्ता दृश्यलाई साना ठुला चलचित्र म्यूजिक भिडियो, छायाँकनको लागि उत्तम भएपनि प्रचार प्रसारको कमीका कारणले गर्दा छायाँमा परेको पूर्वखोला गाउँपालिका पाल्पाका स्थानीय गीता खनाल बताउँछिन् ।
यो प्रजाति सौन्दर्यका लागि मात्र महत्व होइन, यसले भू–क्षय, पहिरो नियन्त्रणका लागि पनि यसको महत्वपूर्ण भूमिका रहेको छ । यसको जरा तलसम्म र चारैतर्फ फैलने भएकाले यसले जमिन बलियो बनाउँछ । यसले पहिरो नियन्त्रणमा सहयोग गर्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी संयोग बस्नेत बताउँछन् ।
सामान्यरुपमा लिइने काँसबाटै आयआर्जन गर्न सकिने आधारहरु छन् । पहाडी क्षेत्रमा यसको महत्व नबुझेर त्यसै खेर गएको हो । तराई क्षेत्रमा यसको डाँठबाट गुन्द्री, ढकिया जस्ता वस्तुहरु बनाउने गरिन्छ । सिप र जाँगर भएकाको लागि आयआर्जनको लागि राम्रो र बलियो माध्यम हो । पहाडी भेगमा त्यसै खेर गएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामचन्द्र लामा बताउँछन् ।
काँसलाई पहाडी क्षेत्रमा सामान्यरुपमा लिने गरिन्छ तर यस विषयमा थप अध्ययन र अनुसन्धान नभएका कारण खेर गएको हो । बहुउपयोगी नै बन्न सक्दछ । खोला किनार बगरमा उम्रने यस प्रजातिका विषयमा अध्ययन हुनु पर्दछ । यसले आय आर्जनका क्षेत्रमा सहयोग गर्न सक्ने भएकाले यसतर्फ लाग्नुपर्ने नयाँ पुस्ताहरुको भनाई रहेको छ । पहिले पहिले चरीचरन भएकाले यो फुल्न पाउँदैन थियो । पछिल्लो समयमा चरी चरन रोकिएपछि सेताम्य भएको हो । यस विषयमा थप अध्ययन गर्नुपर्ने स्थानीयहरुको भनाई रहेको छ ।