ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य
बुटवल उवासंघ अधिवेशन

लडाई : नेवार भर्सेज गैर नेवार, काँग्रेस भर्सेज कांग्रेससहित गठबन्धन

१७ आश्विन २०८०, बुधबार
१७ आश्विन २०८०, बुधबार

बुटवल, १७ असोज ।

बुटवलको पुरानो व्यवसायिक संस्था बुटवल उद्योग बाणिज्य संघको आसन्न चुनावबारे विभिन्न कोणबाट वहस र अड्कलबाजी भइरहेको छ । ७० वर्ष पुरानो इतिहास भएको संघको २५ औं अधिवेशन असोज १९ देखि २२ गतेसम्मलाई तय भएको छ ।

एक हजार ७ सय ७८ व्यवसायी मतदाता रहेको संघको अध्यक्षमा नेपाली कांग्रेस निकट व्यवसायी दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार तीब्र बनाएपछि प्रतिस्पर्धा पेचिलो बन्ने देखिएको छ । दुबै प्यानलका एजेण्डा उस्तै उस्तै छन् । तात्विक फरक छैन ।
एउटै दलबाट दुई जना अध्यक्षका उम्मेदवार भएपछि कांग्रेसको जिल्ला र क्षेत्रका नेतृत्वलाई पनि टाउको दुखाई भएको छ । यद्यपि पार्टीले कसैलाई पनि आधिकारिक उम्मेदवार घोषणा गरेको छैन ।

श्रेष्ठ नेपाली कांग्रेस लुम्बिनी प्रदेश परिषद सदस्य हुन् भने अर्याल जिल्ला कोषाध्यक्ष हुन् । श्रेष्ठको प्यानलमा दलीय हिसाबले नेपाली कांग्रेसमा आवद्ध व्यवसायीहरु मात्रै देखिएका छन् भने अर्यालको प्यानलमा कांग्रेस सहित नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी लगायतका दल निकट व्यवसायी उम्मेदवार छन् । दुबै प्यानलमा वरिष्ठ उपाध्यक्षमा टंक गैरे र वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई रहेका छन् । यसबारे भट्टराईले आफूहरुलाई दुईवटै प्यानलले माया र विश्वास गरेर राखेको प्रतिक्रिया दिए । ‘हामी दुबैले सहमतिमा जोड दिने, कसैको चित्त नदुखाउने, कसैको आलोचना नगर्ने भएकाले दुबै प्यानलमा परेका हौं’–भट्टराईले भने–‘अझै पनि सहमतिको प्रयासमा छौं त्यसैले चुनाव भइहाल्छ भन्ने हिसाबले बोल्न हतार हुन्छ ।’

अर्यालको प्यानलमा उद्योग उपाध्यक्षमा नेकपा एमाले निकट सुरज भट्टराई र कार्यसमिति सदस्यमा राप्रपाका इर्साद आलम मिया छन् । अर्याल प्यानलबाट एकीकृत समाजवादीका तर्फबाट लोकनाथ पाण्डेले सदस्यमा उम्मेदवारी दिने भएका छन् । संघको इतिहास केलाउंदा नेतृत्वमा हालसम्म रुद्रविलास तुलाचन र खेम हमाल वाहेक सबै नेवार समुदाय र कांग्रेस निकटले नेतृत्व लिएका छन् ।

यसअघि संघको नेतृत्वमा आउन चाहेका तेजकुमार पाठक नेतृत्व नपाउने भएपछि उपाध्यक्षबाटै बाहिरिएर रुपन्देही उद्योग संघमा गएका थिए भने वरिष्ठ उपाध्यक्ष रोहितराज क्षेत्रीलाई उपाध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले पराजित गरेर रोकेका थिए । तत्कालीन उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ पनि एमाले निकट भएकै कारण अध्यक्षमा पराजित हुनुपरेको थियो ।

संघको अधिवेशनमा जबरजस्त उठ्ने विषय नै नेवार भर्सेज गैर नेवार र कांग्रेस भर्सेज गैर कांग्रेस बीचको लडाई नै हो, यद्यपि यो कटु सत्यलाई नेतृत्वका आकांक्षीहरुले भोट बिग्रने डरले खुलाउंदैनन् ।

विगतमा गैर नेवार उम्मेदवार अध्यक्षमा आउन रोकिनुमा एउटा उनीहरु गैर कांग्रेस र अर्को गैर नेवार भएकैले हो भन्ने तीतो सत्य स्थापित छ । किनकी संघमा कांग्रेस निकट र नेवार समुदायका व्यवसायी मतदाताको वाहुल्य छ । तर यसपटकको चुनावमा फरक दृश्य छ । यसपटकको लडाई नेवार भर्सेज गैर नेवार र कांग्रेस भर्सेज कांग्रेससहितको गठबन्धन देखिएको छ । ‘यसपालीको लडाई संघको नेतृत्वमा जो आएपनि कांग्रेसकै मान्छे आउने हो तर खास लडाई नेवार भर्सेज गैर नेवार बीचकै हो– एक व्यवसायीले दावीका साथ भने । ‘यहां दलीय राजनीति भन्दा जातीयता बढी लाग्छ ।’

तर अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठले जातीय आधारमा मुल्याङकन गर्नु गलत हुने बताउंछन् । बुटवलको विकासमा योगदान दिएर यहांसम्म ल्याउनुमा नेवार समुदायको भूमिकालाई नजर अन्दाज गर्न नमिल्ने श्रेष्ठको तर्क छ । आफू नेवार समुदायको भएपनि जातीय आधारमा नभई संघमा कार्यसमिति सदस्य देखि वरिष्ठ उपाध्यक्षसम्म क्रमशः सबै पदमा योगदान गर्दै आएकाले नेतृत्वमा दावी स्वभाविक भएको बताउंछन् ।

‘संघमा झण्डै तीनदशक लामो यात्रामा मैले कसैलाई क्रस गरेको छैन,साथीहरुले जुन पद दिए पनि स्वीकार गर्दै यहांसम्म आएको हुं–श्रेष्ठले भने–‘यसपटक उम्मेदवार भएको नेवार भएर हैन, अध्यक्ष बन्न योग्य र अनुभवी भएर हो ।’ उनले आफ्नो प्यानलमा सबै समुदायलाई पदाधिकारीमा समेटेर समावेशी बनाएको बताए । श्रेष्ठले विगतमा संघ कुनै पार्टीको भातृ संस्था जस्तो भएको र नेवारिज्म हावी भएको आरोप लागेको धेरै हदसम्म सत्य भएपनि आफू निर्वाचित भएपछि यी दुबै कुरालाई चिरेर सबैको साझा संस्था हो भन्ने देखाउने दावी गरे । संघमा गरेको योगदान, व्यवसायीको मन जितेको, अधिकांश पुर्व अध्यक्षहरु र युवा व्यवसायीको साथ आफ्नो जितको आधार भएको श्रेष्ठको तर्क छ ।

उता अर्का उम्मेदवार अर्यालले संकटमा परेको बुटवलको व्यवसायलाई पुरानै अवस्थामा ल्याउन स्पष्ट भिजन र योजना आफूसंग भएको, सबै समुदाय र राजनीतिक आस्था राख्ने व्यवसायीको साथ पाएको र संघलाई साझा र समावेशी संस्था बनाउने आफ्नो एजेण्डा भएकाले यही नै जित्ने आधार भएको बताए ।

संघको नेतृत्व पाउन निश्चित जाति विशेषको हुनुपर्ने भन्ने सांघुरो सोंचलाई चिरेर उद्योगी व्यवसायीले भोग्नुपरेका नीतिगत समस्या समाधानमा जुनसुकै फोरममा वहस पैरवी गर्न सक्ने सक्षम व्यक्ति नेतृत्वमा पुग्नुपर्छ भन्ने व्यवसायीहरुको आग्रह अनुसार आफू उम्मेदवार बनेकाले जित निश्चित भएको अर्यालले बताए । यद्यपी यस भन्दा अगाडीको निर्वाचनमा उनले हार वेहर्नुपरेको थियो ।

‘लामो इतिहास बोकेको संस्थाको नेतृत्वले विचार निर्माण र सम्प्रेषण,नीति निर्माणमा सरोकारवाला निकायसंग प्रभावकारी पैरवी गर्न मेरो उम्मेदवारी हो’–अर्यालले भने । संघलाई सधैंभरि एउटै दल विशेषको जस्तो, जात विशेषको जस्तो र स्वागत र विदाई गर्ने संस्था मात्र हैन लामो इतिहास अनुसारको फराकिलो सोंच सहित व्यवसायीमा आशा जगाउने, समस्या समाधान गर्न सक्ने क्षमता आफ्नो जित्ने आधार भएको अर्यालले बताए ।

पार्टी भन्छ : कसैलाई आधिकारिक भनेका छैनौं

अध्यक्षमा दुबै जना कांग्रेस निकट उम्मेदवार भएकाले आधिकारिक को हो भन्ने प्रश्नमा कांग्रेस जिल्ला सभापति रामकृष्ण खांणले पार्टीले कसैलाई आधिकारिक नभनेको र नभन्ने बताए । ‘सकेसम्म मिलेर जानुस् भन्ने हो, यो आधिकारिक हो, त्यो हैन भनेर हस्तक्षेप गर्दैनौं – खांणले भने । तर पनि आन्तरीक रुपमा नेपाली काँग्रेसको समर्थन अर्याललाई रहेको एक जिल्ला सदस्यले बताए ।
रुपन्देही २ का कार्यवाहक क्षेत्रीय सभापति परशुराम ढकालले भने पार्टीले दुबैलाई राखेर एउटै उम्मेदवार बनाउन अधिकतम पहल गर्नुपर्ने अन्यथा पार्टी र स्वयं उम्मेदवारलाई पनि घाटा हुने तर्क गरे ।

अन्य पदाधिकारी उम्मेदवारको यस्तो छ व्यावसायिक योगदान

हरिप्रसाद अर्यालको प्यानलबाट उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएका सुरज भट्टराई नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् । औषधि व्यवसायको क्षेत्रमा लामो समय बिताएका भट्टराईले बुटवलका थुप्रै औषधि व्यवसायीहरुको मत तान्न सक्ने सामथ्र्य राख्छन् । उनले औषधि उद्योग पनि चलाइरहेका छन् । उनले बुटवलका विभिन्न संघसंस्थामा कुशल नेतृत्व समेत गरिसकेका छन् । उनी बुटवल उद्योग बाणिज्य संघमा खिमबहादुर हमाल नेतृत्वको कार्यकालमा कार्यसमिति सदस्य थिए ।
श्रेष्ठको प्यानलबाट भट्टराईको प्रतिष्पर्धीको रुपमा नविन श्रेष्ठ उद्योग उपाध्यक्षमा लड्दै छन्् । उनी हालका कोषाध्यक्ष हुन् । त्यसअघि संघको एशोसिएट सदस्य रहेका थिए । उनी साझेदारमा चाउचाउ र विस्कुट उद्योग सञ्चालन गरेका छन् ।

त्यस्तै अर्यालको प्यानलबाट महासचिवमा मुक्ति अधिकारीलाई अगाडि सारिएको छ । उनी हालका सचिव हुन् । त्यसअघि खिमबहादुर हमालको कार्यकालमा उनी कार्यसमिति सदस्य थिए । उनी मदिरा, फेन्सीलगायतका व्यवसायमा आवद्ध छन् । अधिकारीको प्रतिष्पर्धीको रुपमा श्रेष्ठको प्यानलबाट महासचिवमा बाबुराम बिकलाई अगाडि सारिएको छ । उनी अघिल्लो कार्यसमितिमा खुल्लातर्फबाट सदस्य जितेका थिए । उनी सुनचाँदी व्यवसायी हुन् ।

त्यसैगरी अर्याल नेतृत्वको प्यानलबाट कोषाध्यक्षमा वसन्त ढकाललाई अगाडि सारिएको छ । उनी रुपन्देही बचत तथा क्रृण सहकारी संघका अध्यक्ष हुन् । त्यस्तै उनको प्रतिष्पर्धीको रुपमा श्रेष्ठको प्यानलबाट कोषाध्यक्षमा प्रकाश कुमार श्रेष्ठले उम्मेदवारी दिंदैछन् । उनी चाँदनी साडी सेन्टर बुटवलका सञ्चालक हुन् ।

त्यस्तै सचिवमा अर्याल प्यानलबाट भेषराज गैरे उठ्दैछन् । उनी खिमबहादुर हमाल नेतृत्वको कार्यकालमा खुल्लातर्फबाट सदस्य जितेका थिए । उनी युवा व्यवसायीमाझ लोकप्रिय मानिन्छन् । उनी औषधि व्यवसायी हुन् भने बुटवल ६ मैत्रीपथमा अंकित मेडिकल हल सञ्चालन गरिरहेका छन् । उनको प्रतिष्पर्धीको रुपमा सचिवमा श्रेष्ठ प्यानलबाट प्रतिक पोखरेललाई अगाडि सारिएको छ । उनले खिमबहादुर हमाल नेतृत्वको कार्यकालमा कार्यसमिति सदस्य भई काम गरेका थिए । हाल उनी संघमा बाणिज्य सदस्य छन् । उनले प्रतिक अटो सेन्टर सञ्चालन गरिरहेका छन् ।

त्यस्तै अर्याल नेतृत्वको प्यानलबाट सहकोषाध्यक्षमा धनकुमारी खनाल (सविता) लाई अगाडि सारिएको छ । उनी पदाधिकारीमा पहिलो महिला उम्मेदवार समेत हुन् । उनी न्यु आर बि सप्लायर्स बुटवल ९ कालिका पथकी प्रोप्राइटर हुन् । बुटवल उद्योग वाणिज्य सङ्घमा २०६८ देखि दुई कार्यकाल सदस्य, महिला उद्योगी सल्लाहकार रूपमा काम गरेको अनुभव उनीसँग रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश ५ को महिला समिति सदस्य भएका कारणले उद्योगीहरूका समस्या तथा नीतिगतरुपमा ब्यवसायीका आवाज उठाउन सक्ने महिलाको रूपमा उनी परिचित छन् । रुपन्देहीको गैडहबा गाउँपालिका ८ मा मरासिनी एकीकृत कृषि एग्रो फर्ममा दर्ता भई माछा, कुखुरा, हाँस, बाख्रा पालन ब्यवसाय सञ्चालन पनि लामो समयदेखि गर्दै आएकी छन् । उनले बुटवलका विभिन्न सामाजिक सङ्घ संस्थामा जोडिएर काम गरेकी छन् ।

उता, श्रेष्ठको प्यानलबाट सहकोषाध्यक्षमा जाकिर हुसेनलाई अगाडि सारिएको छ । उनी शहनाज कस्मेटिक स्टोर्स बुटवलका सञ्चालक हुन् । उनी पदाधिकारीमा उठेका अल्पसंख्यक मुस्लिम समुदायका एकमात्र व्यवसायी हुन् । उनी विजयी भए पहिलोपल्ट संघको कार्यसमितिमा जानेछन् ।

अर्याल प्यानलका प्रतिबद्धता
१. बुटवल उपमहानगरपालिकासँगको सहकार्य
क. मुख्य बजार क्षेत्रभित्र रहेको पार्किङको समस्यालाई उपमहानगर, बार्ड समिति र टोल विकास संस्थासँग समन्वय गरी समाधान खोज्न प्रयत्न गर्ने ।
ख. बुटबलको घट्दो व्यापारलाई दृष्टिगत गर्दै उपमहानगरपालिकाले लिँदै आएको व्यबसाथ करको दर घटाउन प्रयत्न गर्ने । यसरी घटाउँदा कम हुन आउने रकम उपमहानगरभित्र व्यवसाय करको दायरामा नआएका व्यवसायीलाई करको दायरामा ल्याई नियमित स्रोतको सुनिश्चितताको प्रयत्न गर्ने ।
ग. सहरी सौन्दर्यका लागि बजार क्षेत्र भित्रका कालोपत्रे सडकहरूमा जेब्राक्रसिङ, सडकको सेन्टर लाइनमा एल्लो लाइन लगाई सड़क शृशर गराई आकर्षक बनाउन प्रयत्न गर्ने ।
घ. २०७२ को भूकम्प, नाकाबन्दी र कोभिडपछिको विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली अर्थतन्त्र र बजारमा देखिएको सुस्तताका कारण उपमहानगरले लिँदै आएको एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनर्मूल्याङ्कन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने ।
ड. सडकमा देखिने छाडा चौपायाको व्यवस्थापनमा सहकार्य गर्ने, बुटवल उपमहानगर र बुटवल उद्योग वाणिज्य सङ्घ सञ्चालकका रूपमा सहभागी हुने विभिन्न सहसंस्था र शिक्षण संस्थाहरूमा विश्वासिलो सहकार्य गर्ने ।
२. कर तथा राजस्व सम्बन्धमा
क. संघीय सरकार मातहत रहने आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान र भन्सार कार्यलयसँग समन्वय गरी व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रयत्न गने, छोटो दुरी र एउटा निश्चित रकमसम्मको मालवस्तुको खरिद विक्रीमा विलसँगै ख्ऋत्क् गर्ने पर्ने बाध्यात्मक व्यवस्थाको सहजीकरणको तत्काल प्रयत्न गर्ने ।
ख. कर, राजस्व र भन्सारका अधिकृतहरूसँग संघका पदाधिकारी, सदस्य तथा अन्य व्यवसायीको नियमित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरी सरकारले अवलम्बन गर्ने नयाँ नयाँ नीतिको नियमित रूपमाजानकारी गराउने ।
ग. एक दिन मात्र पनि ढिला हुँदा शतप्रतिशत जरिवाना लिने सरकारी प्रबन्धको संशोधनका लागि पहल र प्रयन गर्ने ।
३. तत्काल मोतीपुर औद्योगिक क्षेत्रको पूर्वाधार विकासका लागि पहल गर्न सम्बन्धित निकायलाई दबाब दिने र उच्च तहको सर्वपक्षीय भेला बोलाउने ।
४. अर्थ मन्त्रालयले अवलम्बन गर्ने कर राजस्व नीति र नेपाल बैंकले हरेक वर्ष जारी गर्ने मौद्रिक नीति साना तथा मझौला व्यवसायमैत्री भए नभएको अध्ययन गरी सुधारको लागि नेपाल उद्योग वाणिज्य महासङ्गमार्फत प्रयत्न गर्ने ।
५. उद्योग र व्यापार क्षेत्रका विशिष्टीकृत समस्याको पहिचान र निधानका लागि सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवाला व्यवसायी विच नियमितः अन्तक्र्रियात्मक कार्यक्रम गर्ने ।
६. पछि तीन वर्ष यताको दर रेटमा २०० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ विमा प्राधिकरण र अर्थमन्त्रालयविच समन्वय गरी समय सापेक्ष गर्न विशेष पहल गर्ने ।
७. भन्सार कार्यालयहरुबाट रु. १००÷– भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महसुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने ।
८. विद्युतको ३ फेश लाईनको जडानमा हुने झन्झटिलो प्रक्रिया र क्रोनिक बनेको ट्रंकलाईनको समस्यालाई व्यवसायीको पक्षमा हुने गरी सहजीकरण गर्न प्रयत्न गर्ने ।
९. सञ्चालनमा आइसकेको बुटवल–बसन्तपुर केबुलकार र सञ्चालनको संघारमा रहेको बुटवल नुवाकोट केबुलकार सञ्चालनले नेपालको आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा बुटवललाई स्थापित गराउन देशभर रहेका जिल्ला नगर उद्योग वाणिज्य संघहरूमार्फत बुटवल जाऔँ अभियान सञ्चालनमा साथ दिन आव्हान गर्ने ।
१०. लुम्बिनी प्रदेशको मुकाम बुटवलबाट राप्ती उपत्यकामा स्थान्तरण भएता पनि प्रदेश सरकारका महत्वपूर्ण विभाग तथा निर्देशनालय स्थापना गर्न पहल प्रयत्न गर्ने ।
११. बुटवल बजार क्षेत्रभित्रका व्यवसायीहरूको ढुवानीका कारण उत्पन्न समस्याको सहजीकरण गर्न प्रयत्न गर्ने ।

श्रेष्ठ प्यानलका प्रतिबद्धताहरुः
१. बुटवल शहरलाई मुलुकका अन्य क्षेत्रीय शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बजार बनाउन पहल गर्ने ।
२. बुटवलमा सवारी साधन पार्कीङ्ग स्थलको व्यवस्था मिलाउन पैरवी गर्ने ।
३. बुटवलको राजमार्ग चौराह देखि गोलपार्क सम्मको ढल यथाशीघ्र निर्माण सम्पन्न गरी व्यावसायिक वातावरण बनाउन सरकारसंग पैरवी गर्ने । ४. व्यवसायमैत्री वातावरण बनाउन पहल गर्ने ।
५. सिमावर्ती भारतिय बजारमा किनमेल गर्न जाने उपभोक्ताहरुमा जागरण ल्याई स्वदेशी बजारमा किनमेल गर्न प्रोत्साहन मुलक कार्यक्रम संचालन गर्ने । साथै यस सम्बन्धी सरकारी नितिलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गराउन पैरवी गर्ने ।
६. बुटवल शहर दिन प्रतिदिन विस्तार र विकास हुँदै गएको र जनघनत्व पनि बृद्धि हुँदै गएकाले शान्ति सुरक्षाको व्यवस्था थप सुदृढ बनाउन बुटवल ईलाका प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक (SP) को दरबन्दीको व्यवस्था मिलाउन पैरवी गनैँ ।
७. बुटवल उद्योग वाणिज्य संघले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी र व्यवसायी अनुकुल बनाउने ।
८. सरकारी र गैर सरकारी निकायसंग बुटवल उद्योग वाणिज्य संघको सम्बन्ध थप सुमधुर र कसिलो बनाउने ।
९. पुरानो बटौली बजार, ऐतिहासिक जितगढी र नुवाकोट गढी, मणिमुकुन्द सेन उद्यान र रामपिथेकस उद्यानको थप पर्यटकिय प्रबर्धनका लागि बुटवल उद्योग वाणिज्य संघको भुमिका अझ प्रभावकारी बनाउने ।
१०. बुटवललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न प्रभावकारी कार्यहरु अघि बढाउने ।
११. व्यवसायी र घरधनीको बिचमा समन्वयात्मक भूमिका निर्वाह गरी व्यवसायी मैत्री बनाउने ।
१२. कर, राजस्व, भन्सार समस्यालाई प्राथमिकताका साथ सम्बन्धित निकायसंग सहकार्य गरी समस्याको समाधान गर्ने ।
१३. उद्योगी तथा व्यवसायीहरु विस्थापित भएको वर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्था साथै सम्बन्धित निकायसंग समस्याको समाधानका लागि पैरवी गर्ने ।
१४. प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रलाई स्थापित गर्न सम्बन्धित निकायसंग चाडो भन्दा चाडो पहल गर्ने ।
१५. घरबहाल कर सम्बन्धी समस्या समाधान गर्न स्पष्ट कानूनी व्यवस्था मिलाउन सरकारको ध्यानानकर्षण गराउने ।
१६. रुपन्देही जिल्ला भित्र स्थापित उद्योग वाणिज्य संघहरुसँग सहकार्य र सम्बन्ध विस्तारमा विशेष जोड दिने ।
१७. बुटवल नगरसँग जोडिने नयाँ शाखा सडकहरुको निर्माण स्तारोन्नती गर्न स्थानीय सरकारसँग ध्यानाकर्षण गराउने ।
१८. बस्तुगत क्षेत्रगतरुपमा बजार व्यवस्थापनका लागि पहल गर्ने । १९. रात्रीकालिन बजारको सुङव्यवस्था मिलाउने ।
२०. कृषि क्षेत्रमा आधारित अनुदानको व्यवस्था मिलाउन पहल गर्ने । २१. मेला तथा प्रदर्शनी कार्यक्रम उद्योग व्यावसाय प्रवर्धनात्मक बनाउँनेछौं । साथै मेलालाई शिक्षाप्रद र अनुसन्धानमूलक बनाउँने ।
२२. औद्योगिक प्रबद्र्धनका लागि कच्चा पदार्थ उत्पादनमूलक उद्योग स्थापना गर्न प्रोत्साहनका लागि पैरवी गर्ने ।
२३. बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा विकास गर्दै यहाँ पर्यटकको बसाई अवधि लम्ब्याउने खालका योजना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउने ।
२४. करको दर भन्दा दायरा फराकिलो बनाउन पहल गर्ने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?