© २०२३
अर्यालले अर्जैमा शिक्षा र चेतनाको ज्योती छर्ने काममा महत्वपूर्ण योगदान दिए । उनले छोरा र छोरी बिचमा जन्मदेखि हुने विभेद रोक्न आफ्नै घरदेखि समाजसम्म अभियान चलाए । मलाम गएकालाई १३ औ दिनमा खाम दिने प्रचलन रोक्ने, नयाँ घर बनाउँदा श्रमदानबाट सहयोग गर्ने, गाउँघरमा हुने धार्मिक, सांस्कृतिक पर्वहरुलाई ब्यवस्थित गर्दै जातीय विभेद अन्त्य गर्ने काममा समेत उहाँ अग्रसर थिए । उहाँ कर्मयोगीका प्रतीक थिए भन्दा अतियुक्ति नहोला ।
जन्म तथा बाल्यकाल :
हालको मालिका गाउँपालिका ६ अर्जै मुख्य टोला निवासी स्व. पिता बलबहादुर अर्याल र स्व.ममतामयी माता तुलसा अर्यालको कोखबाट वि.स. १९९५ साल जेठमा खड्गबहादुर अर्यालको जन्म भएको थियो । उहाँ परिवारको माइलो छोरा हुनुहुन्थ्यो । मध्यमस्तरको परिवारमा जन्मेको उहाँलाई खान लाउन त्यति दुःख थिएन । सानै उमेरदेखि नै अनुशासित उहाँ जिज्ञासु स्वाभावका हुनुहुन्थ्यो । सात बर्षको कलिलो उमेर पिता गुमाउनुभएका उहाँलाई ममतामयी माता तुलसाले पालनपाषण गर्नुभयो । जीवनमा उहाँलाई कहिल्यै बुबाको अभाव महसुस हुन परेन । आमाको बात्सल्यमय काखमा हुर्किएका उहाँ राम्रो आचरण र सामाजिक कर्ममा सधै अगाडि हुन्थे । उहाँ सानै छँदा गाउँमा विफर रोगको महामारी फैलियो, वि.स. २०११÷१२ तिर विफरको खोपको व्यबस्था थिएन । गाउँमा धेरै मान्छेको मृत्युको कारण यो रोग बन्न पुग्यो । उनकै भाइ कान्छालाई समेत विफरले लग्यो । उहाँ पनि विफरबाट सख्त विरामी परे । करिब करिब मृत्युको नजिक पुगेर उहाँ फर्किनुभयो । उहाँको अनुहारमा विफरका डोभहरु थिए । जेठो दाजु थम्मन बहादुर र आमासंगै तीन जनाको परिवारले कृषि र पशुपालन व्यवसाय सञ्चालन गर्दै समाजमा अगाडि बढे ।
भनिन्छ, परिवार बालकको पहिलो पाठशाला हो र आमा बालककी पहिलो शिक्षिका हुन् । आमाबाटै नैतिक आचरण, आत्मानुशासन, माया ममता, असल आनीबानी र सेवा भाषाको शिक्षा प्राप्त गर्नुभयो ।
अर्यालहरुको पुरानो बस्ती थियो अर्जै । सम्भवतः यो अर्यालहरुको उत्पत्ति भएको क्षेत्र नै अर्जै थियो । अर्जै पोखरावारीका अर्यालहरु नै पछि गएर मरभूङ, अर्खवाङ, ह्वाङदी, मौरीभीर, दर्लिङ, आपचौर हुंदै देशभरी फैलिन पुगेका हुन् । अर्जैको पोखरावारीमा रहेका अर्यालहरुलाई मुख्य खलक पनि भन्ने गरिन्छ । धेरै लामो समयसम्म यिनै अर्यालहरुले त्यस क्षेत्रमा तालुकदारी, भट्ट सेवा गरेका थिए । अर्यालहरुको यही महत्वलाई बुझेर पृथ्वीनारायण शाहले गोर्खामै शासन गर्दा “६ थर घर“ को व्यवस्था मिलाएका थिए । यिनै ६ थर भित्र अर्याल पनि समावेश थिए अर्थात ६ थर घरभित्र अर्याल, थापा, पाण्डे, पन्त, खनाल, बस्नेत रहेका थिए । पछि रानाहरुलाई पनि समावेश गरिएको इतिहासले पुष्टि गर्छ । स्व.खड्ग बहादुर अर्याल यिनै मुख्य खलकका सन्तान हुनुहुन्थ्यो । सबैको स्नेहमा उहाँ त्यही समाजमा हुर्की, बढी सामान्य पढाई समेत गाउँघरमै पढ्नुभयो । उहाँलाई नेपाली सेना र तत्कालीन ब्रिटिश अर्थात भारतीय सेनामा भर्ती हुने इच्छा भएन अर्थात अवसर पाउनुभएन । उहाँले बाल्यकालदेखि नै ईस्मा क्षेत्र अन्तर्गत अर्जै, अम्मरपुर, छाप, अर्खवाङ्ग तथा दर्लिङ्ग क्षेत्रको विकास तथा समाजसेवामा आफ्नो अग्रसरता बढाउँदै लग्नुभयो ।
शिक्षा :
गुरुकुल शिक्षा पद्यति रहेको गाउँमा विद्यालय थिएन । टोलमा एकजना पढेलेखेको मान्छे बोलाएर गाउँका केटाहरु जम्मा गरी गुरुकुल पढाउने प्रचलन थियो भन्ने जानकारहरु बताउँछन् । चौर टोलमा १ जना धुर्कोट पण्डित बोलाएर सामान्य साँवा, अक्षर र अंक सम्बन्धी ज्ञान दिने व्यवस्था रहेछ । त्यही ठाउँमा गएर केही महिना उहाँले पढ्नुभएको थियो रे । उहाँमा चिठ्ठी तमसुक लेख्ने र रामायण, महाभारत जस्ता पुस्तक पढ्न सक्ने क्षमता विद्यमान थियो ।
वैवाहिक जीवन :
हालको इस्मा गाउँपालिका इस्मा रजस्थल वडाको सिरार बस्ने चन्द्र बहादुर घर्तीकी छोरी नन्दकला जि.सी.सँग उहाँको मागी विवाह भएको थियो । फुपाजु भिन बहादुर बस्नेतले मागी विवाह गर्न सहयोग गर्नुभएको थियो । वि.स. २०२० सालमा उहाँलाई पुत्रलाभ भयो । जसबाट एउटै मात्र छोरा यम बहादुर अर्यालको जन्म भयो ।
सामाजिक सेवा :
पक्कै पनि माताजीको प्रत्यक्ष निगरानीमा पाएको ब्यावहारिक शिक्षाकै कारण हुनसक्छ उहाँ सानैदेखि सामाजिक काममा अगाडि हुनुहुन्थ्यो । उहाँ १६ वर्षको उमेरदेखि नै सामाजिक सेवामा निस्काम कर्म योगको भावले खटिने गर्नुभएको थियो । उहाँका अभिन्न मित्र चन्द्रकान्त अर्यालसंगै अर्जैको विकास र श्रीवृद्धिका लागि रात दिन खटिरहनु भयो । वि. सं. १०१३ सालमा श्री चन्द्र प्रा.वि. का संस्थापक सदस्य रही अर्जैमा शिक्षाको दिप प्रज्वलन गर्नुभयो । त्यतिबेला अर्जै अमरपुर र घमिर एउटा गाउँ पञ्चायत थियो । उहाँ वडा सदस्य बनेर काम गर्नुभयो । स्थानीय संस्था बदलिंदा अर्जै अमरपुर एउटा गाउँ पञ्चायत र घमिर छुट्टै बन्यो । अर्जै अमरपुर एउटा गाउँ पञ्चायत बन्दा ओम प्रसाद गौतम प्रधान पञ्च र उहाँ (खड्गबहादुर) उप प्रधान पञ्च भई गाउँले जनताको सेवामा गरेको योगदानको अझै पनि गाउँघरमा कुरा चल्छ । उतिबेला गाउँमा सबै मानिस कृषि पेशा र पशुपालन मात्र गर्थे । शिक्षाको अभाव थियो । गाउँमा जग्गाको साँध सिमानामा अत्यन्तै झगडा भइरहन्थ्यो । ती झगडा मिलाउन धेरै समय खर्च गर्नु पथ्र्यो । वि.सं. २०२४ सालतिर अर्जैमा विरेन्द्र हाइ स्कुल नाम राखेर माध्यमिक विद्यालय स्व. चन्द्रकान्त अर्याल र उहाँको नेतृत्वमा स्थापना गर्ने कार्य भयो । स्थानीय जनतामा चेतनाको अभाव आर्थिक स्रोत गाउँबाट जुटाउन कठिन भएको कारण चार÷पाँच वर्ष संचालनपछि स्थगित गर्न विवश हुनुपर्यो । त्यसबेला शिक्षकलाई तलब खुवाउन नसक्दा शिक्षकले घर घेरा हालेको कुरा बेला बखत सुनाउने गर्थे । गाउँमा स्थापना भएका भवानी खड्गको मन्दिर, कालिकाको मन्दिर देवि भगवतीको मन्दिरमा वर्षे दशैं, चैते दशैंमा दिइने बलीको लागि कोष स्थापना गर्ने कार्य सहज थिएन । जनताबाट मोहर रुपैयाँ उठाएर बलीको व्यवस्था गर्न खट्नुपथ्र्यो । अर्जैमा रहेको खड्ग भवानी मन्दिरमा खड्ग भवानी स्थायी कोष स्थापना गरी दशैँ संचालन गर्ने कार्य गर्नुभयो । अर्जै र अमरपुर दुई गाविसमा बिभाजित भए । वि.स. २०३६ सालको जनमत संग्रह पछिको निर्वाचनमा अर्जै गाउँ पञ्चायत प्रधान पञ्च बन्नुभयो । उहाँकै कार्यकालमा पुनः अर्जै मावि स्थापना गर्न चन्द्रकान्त अर्याल, खड्गबहादुर अर्याल र तुल्सिराम अर्यालले नेतृत्व गरे । त्योबेला राज्यबाट विकास निर्माणको लागि गाउँमा पैसा कम आउँथ्यो । जिल्ला पञ्चायतबाट करिब २० हजार रुपैयाँ भवन बनाउन प्राप्त भएको थियो । पञ्चायतकालको सुनौला पक्ष जनश्रमदान थियो । गाउँका मानिसलाई जनश्रमदानमा संलग्न गराएर ७२ हात लामो विद्यालयको पूर्वाधार बनाउने कार्य भयो । उक्त विद्यालय वि.स. २०४२ सालतिर सरकारबाट स्वीकृती पायो । वि.सं. २०४१ सालतिर अर्जैमा जग्गाको नापनक्सा गर्ने कार्य समेत भयो । त्यसबेला गाउँमा जग्गाको जग्गा कर लिने र रसिद दिने काम गाउँका मुखियाको हुन्थ्यो । उक्त नापी कार्यमा जनताका जग्गाहरु नाप्ने कार्यमा उल्लेख्य योगदान रह्यो । नहली अर्जै खानेपानी, सामुदायिक वनको संरक्षण, गाउँमा हुने झैझगडाको मेलमिलाप गराउने जस्ता कार्यमा उहाँले उल्लेख्य भूमिका निर्वाह गर्नुभयो ।
कुलपूजा व्यवस्थापन :
अर्जै मुख्य टोलमा रहेका दाजुभाई र एक्ले आँपका दाजुभाई मध्ये धेरै दाजुभाईहरु कुलपूजाको लागि मालिका ३ ह्वाङ्दीको महभिरमा जाने प्रचलन थियो । देवाली वर्ष पालेका बोकाहरु डोर्याएर महभिर पुर्याउन र काटेपछि ती बोकाहरु बोकेर ल्याउने कार्य अत्यन्तै कठिन थियो । जोखिम र उक्त कठिनाईलाइ हृदयंगम गरी अर्जैमा रहेका सबै विदुखोले अर्याललाई एकताबद्ध गरी कुलको मन्दिर अर्जैमा स्थापना गर्ने महत्वपूर्ण भूमिका उहाँले निर्वाह गर्नुभयो ।
बाम राजनीतिमा संलग्नता :
वि.सं.२०४६ को अन्दोलन पूर्व पञ्चायती ब्यवस्थाका कट्टर पक्षपाती अर्यालको पहिचान थियो । २०४२÷४३ को स्थानीय निर्वाचनमा भूमिगत बहुदलवादीहरुले पञ्चहरुलाई गरम पञ्च र नरम पञ्च विभाजन गरी पञ्चायत व्यवस्थामा हस्तक्षेप गर्नुभयो । गरम पञ्च हटाऊ र नरम पञ्च जिताउ भन्ने अभियानमा उहाँ गरम पञ्चमा पर्नुभयो । पञ्च र भूमिगत बहुदलवादीले नरम पञ्चलाई जिताए । वि. स. २०४६ सालको राजनैतिक आन्दोलनले देशमा बहुदलीय शासन व्यवस्था स्थापना भयो । तत्पश्चात उहाँ नेकपा एमालेमा संलग्न भई राजनैतिक जिम्मेवारी लिनुभयो । पूरानो राजनैतिक अनुभव जनातासंगकों प्रत्यक्ष संलग्नताले अर्जैको भूमिमा कम्युनिष्ट आन्दोलन झांगियो । वि.सं. २०५४ सालको निर्वाचनमा उहाँले अब युवा पुस्ता राजनीतिमा अगाडि सर्नुपर्छ भनी गा.वि.स. अध्यक्षमा लिल बहादुर अधिकारी र उपाध्यक्षमा लिल बहादुर बिष्टलाई उम्मेदवार बनाएर आफु अगाडि बढ्नुभयो । उक्त निर्वाचनमा नेकपा एमालेले विजय प्राप्त गरेपछि वि.सं. २०७९ सालको स्थानीय निर्वाचन पूर्वसम्म अर्जै सबै चुनावमा एमाले प्रथम बन्न सफल भयो । उहाँ अर्जै गा.वि.स.को नेकपा एमालेको अध्यक्ष पनि बन्नुभयो । पछि उहाँ सल्लाहकार समितिको संयोजक भएर रहनुभयो । उहाँको वरद नेतृत्वमा अर्जैका एमाले कार्यकर्ताहरुले शितल छहारी प्राप्त गरे । बदलिदो राजनीतिक व्यवस्था संगसंगै हरेक सामाजिक, राजनैतिक तथा विकास निर्माणका कार्यहरुमा सदैव निश्वार्थ रुपले काम गर्दै आइरहेका थिए । तत्कालीन माओवादीको आन्दोलनको समयमा समेत उहाँ निरन्तर रुपमा सामाजिक तथा राजनीतिक कार्यमा क्रियाशिल नै हुनुभयो । सोही समयमा समाजलाई कुभलो चाहने समाजको सामाजिक विकास विरोधीहरुले उहाँविरुद्ध उक्त पार्टीमा २१ वटा मुद्दा दिएका थिए । तत्कालीन माओवादी पार्टीका पनि व्यक्तिगत रुपमा प्रतिशोध राख्ने केही कार्यकर्ताहरुले उहाँलाई विभिन्न किसिमका डर, धम्की दिई अपहरण गर्दा समेत उहाँ निडर रुपले सामाजिक कार्यमा लागि नै रहनुभयो । उहाँले गरेका सम्पूर्ण राजनीतिक, सामाजिक तथा विकास निर्माणका कामहरुमा कुनै पनि कमी कमजोरीहरु देखाउन नसकेपछि उहाँलाई पार्टीबाट सम्मानजनक रुपमा रिहाई गरेका थिए ।
सामाजिक अभियन्ता :
मानवताको पक्षमा बहस पैरवी गर्ने, अन्याय अत्याचारको बिरोध गर्ने, समाजमा रहेका रुढीवादी अन्धविश्वासहरुलाई हटाउन क्रियाशील रहने व्यक्तिलाई सामाजिक अभियन्ता भनिन्छ । कार्यशैलीले नै उहाँलाई एक सामाजिक अभियन्ताको पहिचान दिएको छ । हाम्रो समाजमा मानिस मरेपछि मलाम गएका सबै व्यक्तिहरुलाई तेह्रौ दिनको दिन लिफामा पैसा राखेर दिने प्रचलन थियो । यसले मृतकको परिवारमा आर्थिक भार थपिन्थ्यो । मलाम जानु सहयोग हो यसमा पैसा वितरण गर्नु राम्रो होइन भनी यो प्रचलन रोक्नुभयो । त्यस्तै छैंटी (बच्चा जन्मेको छैटौ दिन) कर्ममा पनि भजन किर्तनको रमिता हेर्न आउनेहरुलाई पनि पैसा बाँड्ने प्रचलनलाई रोक्नुभयो । अर्जै पोखरावारीमा दशैंको पूर्णिमामा लाग्ने मेला पूर्णिमाको राति लाग्ने गथ्र्यो । रातमा मेला लाग्दा हुल हुने, चेलिबेटीका गहना, लुटिने आदि हुन्थ्यो । त्यो गतिविधि रोक्न पूर्णिमाको मेलालाई दिनमा लाग्ने बनाउन अहम भूमिका निर्वाह गर्नुभयो । हाम्रो समाजमा छोराछोरी बिचको विभेद अझै पनि केही रुपमा देख्न पाइन्छ । गाउँमा छोरा जन्मे छैंटी गर्ने, उत्सव तथा रमाइलो गर्ने चलन छ तर उहाँले आफुलाई नातिनी सिर्जना र समीक्षा जन्मेको बेला छैटी कर्म गरी उत्सव मनाउनुभएको थियो । नारी÷पुरुष समान हुन् भन्ने सन्देश प्रवाह गर्नुभएको थियो । उहाँ शारीरिक रुपमा बलियो र हट्टा कट्टा हुनुहुन्थ्यो । गाउँमा कसैले घर बनाउन लाग्दा दलिन बोक्ने काममा उहाँ सदैब सरिक हुनुहुन्थ्यो । बैशको बेला गाउँमा बनेका हरेकजसो घरमा उहाँले दलिन बोकेको अधिकांशको भनाई छ । उहाँ अत्यन्त सहयोगी, उदार, प्रष्ट वक्ता, छिटो निर्णय लिन सक्ने क्षमता भएका, दुरदृष्टि भएका, संयमी, सन्तोषी र हकी स्वभाव भएका व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्ना सन्तान प्रति हुरुक्क हुनुहुन्थ्यो । आफ्नो पारिवारिक अभिभारा अत्यन्तै जिम्मेवार बनेर निर्बाह गरे । अनौठो र आश्चर्य लाग्ने कुरा के छ भने जीवनपर्यन्त गीताले निर्देशन गरेको कुरा जस्तो काम गर्नु तिम्रो अधिकार हो फलको आशा नराख भन्ने भनाईलाई आत्मसाथ गरेर निस्काम कर्मयोगको भावले समाजलाई दिएको योगदान सदा सदाको लागि स्मरणीय छ । यस्ता महापुरुषको जन्म समाज रुपान्तरणको लागि हुन्छ । उहाँको महाप्रस्थानले हाम्रो समाजलाई अपुरणीय क्षति भएको छ । हार्दिक श्रद्धा सुमन, अल बिदा
लेखक : मेजर नरेश अर्याल (नाती)