© २०२३
बुटवल, ३१ भदौ । अनिता अर्याल पाल्पाको मदनपोखराबाट तीज मनाउन माइती बुटवल बिहीबार नै आईपुगेकी हुन् । एक सन्तानकी आमा अर्याल तीज मनाउन आफ्नो माईती आएकी हुन् । बुढा बा आमा दाई भाउजु बुहारी र दिदी बहिनीसँग रमाएर तीज मनाउने उनले बताईन ।
उमेरले ४५ वर्ष पुगेकी अर्यालले तीज पहिले जस्तो नभएको बताउँछिन । उनी भन्छिन्–‘पहिला पहिला त तीज भनेपछि आफूले दुई÷तीन दिन अगाडि नै घरको काम सकाएर तीजको लागि तयारी गर्नुपर्ने अवस्था थियो । तर अहिले समय फेरिएको छ । पहिले बा आमाको मा एक दिन मात्रै दर खाने चलन थियो तर आजभोलि सबैकोमा पालैपालो खाने चलन छ । हामी चेलीहरूलाई त सबैकोमा जान पाउनु र रमाउन पाउनु दुबै खुशीको कुरा हो । समय अनुसार पर्व पनि फेरिएको हो कि ?
रूपन्देहीको सालझण्डी माईती भएकी यमकला भण्डारीलाई तीज पर्व फेरिएको लाग्छ तर धेरै अरूले भने जस्तो विकृती नभएको उनको बुझाई छ । तीज पनि अरू जस्तै चाडपर्व हो बाँकी यो पर्वमा महिलाहरू धेरै रमाउँछन् यसो भनिरहँदा दाजुभाई रमाउँदैनन् भन्ने होइन । हाम्रा दाजु भाई पनि हामी जाँदा नाच्दा रमाएकै छन् । फरक पहिले जस्तो त केही पनि छैन न तीज छ न अरू सबै समय अनुसार परिवर्तन भएका हुन । भण्डारी भन्छिन् पहिले पहिले महिला दिदी बहिनीका समूहहरू हुँदैनन थिए, जागिर खाने महिला कम थिए त्यसैले खाली माईत मात्रै जाने भन्ने चलन थियो तर आजभोलि जागिरेहरूका कार्यालय समूहहरूले पनि मनोरञ्जन गर्ने दाजु भाईहरूले पनि आफ्नै घर नभएर पाटी प्यालेसमा दिदी बहिनीहरूलाई एक दिन दर खुवाउँदैमा र नाच्दैमा त्यसलाई विकृति भन्ने मिल्दैन ।
तिलोत्तमानगर पालिकाकी मुना गुरुङ्ग पनि माइतीमा दाजुभाईले बोलाएर खान जाने रमाउने पर्व हो तीज यसमा महिलाले के नराम्रो गरेका छन् र वर्षदिनभरि आफ्नै घरमा दुःख सुख खाईन्छ । बाँकी केही दिनदेखि हामीलाई आफना माईतीले बोलाएर राम्रा भएर दर खान गएको मात्रै हो ।
समयको माग अनुसार नै तीज पर्व पनि अरू जस्तै मनाएको हो बाँकी बिकृति के मा दाजु भाईले बोलाएर दिदी बहिनीलाई खुवाउँदा के बिकृति हुन्छ र उनीहरूलाई जहाँ जसरी सजिलो लाग्छ त्यहि बोलाउँछन् हामी दिदी बहिनी जम्मा भएर रमाएर नाच्ने रमाउने पर्व हो हिजो हाम्रा आमा हजुर आमाले पनि तीजमा आफनो माईती जाने र रमाउने प्रचलन नै थियो । हिजोमा दिनमा पनि साउन लागे पछि तीजका गीत गाएर पर्वको शुरु गर्ने हाम्रो परम्परा हो अहिले पनि हामी सबै माईती र आफन्तकहाँ जान्छौ खाएर नाचेर रमाएका छौ केहि फरक छैन ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महŒवपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुगेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथि देखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेको र यो तीजको पर्वको रूपमा मनाउने चलन शुरु भएको हो ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको थियो ।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् । बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी बर्त बस्छन् । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको बर्त अन्य बर्त भन्दा फरक ढङ्गले लिइन्छ । यस दिन पानी सम्म पनि नखाई बर्त बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरू महादेवको पुजा आराधना पश्चात फलफूल ग्रहण गर्दछन । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ ।