© २०२३
कपिलवस्तु, २६ भदौ । ५ बर्ष अघि सम्म घर गाउँ बाहिर पाईला नराखेकी कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ४ कि साकिया खातुनमा नेतृत्व क्षमता बदलिएको छ । मुस्लिम समुदायका महिलाले लगाउने बुर्खा लगाएर उनी शसक्तीकरणको अभियानमा सरिक हुने गरेकी छन । उर्दु भाषामा सामान्य साक्षर रहेकी उनी अहिले आफ्नै गाउँमा गठित रामरहिम आत्मनिर्भर समूहकी अभिलेखक हुन । उनी अहिले जिल्लामा आयोजना हुने तालिम गोष्ठिमा आफ्ना समूहका उदाहरणीय कार्यहरू, समस्या, अवसर र चुनौतीका बिषयलाई सबैको माझ निर्धक्क प्रस्तुत गर्न सक्ने भएकी छन ।
पाँच बर्षअघि घरबाट बाहिर ननिस्केकी उनलाई त्यसबेला परिवारले घर बाहिरको कार्यक्रममा जान स्विकृती दिदैन्थ्यो । “अहिले आफ्ना समूहका दिदीबहिनी सँग तौलिहवा मात्रै होईन, बुटवल र दाङ्ग सम्मका कार्यक्रममा जान स्विकृती मिल्ने गरेको छ ।” उनले अनुभव सुनाउँदै भनिन । मधेसमा त्यो पनि बिशेष गरेर मुस्लिम समूहका महिलाको जीवन घर भित्रै थन्किने गरेको भए पनि आफू समूहमा जोडिएकै कारण अवसरहरूमा सहभागी हुन पाएको उनको बुझाई छ । समूहमा जोडिए पछि आफू र आफ्ना समूहका सदस्यले छोरा र छोरी बिचको भेदभाव हटाउने, छोरीको शिक्षालाई निरन्तरता दिने कार्यमा लागेको उनले बताईन ।
समूहमा जोडिएर सचेत भए सगै आफु सहित समुहका सदस्यको परिवारका जन्मदर्ता, बिवाह दर्ता र नागरिकता समयमा बनाउन सकिएको उनले अनुभव सुनाईन । २५ जना सदस्य रहेको उनको समुहले प्रति व्यक्ति साप्ताहिक ५० रूपैयाँका दरले बचत संकलन गर्दै आएको छ, जुन बचत रकम अहिले १ लाख २० हजार रूपैयाँ बढि पुगेको छ । “हामीले बचत गरेको रकम अप्ठ्यारो पर्दा समुहबाटै ऋण लिने गरेका छौ । समुह बाट सञ्जाल बनायौं अब महासंघ बनाउने हाम्रो योजना छ ।” उनले निर्घक्क साथ भनिन । उनको समूहले समाजमा हुने भेदभाव, हिंसा, बिभेद बिरुद्धको सचेतना र आत्मनिर्भरताका लागि पहल कदमी लिदै आएको समूहका अन्य सदस्यले बताए ।
यशोधरा वडा नम्बर ६ रमवापुर स्थित जानकी आत्मनिर्भर समुहकी अभिलेखक बिन्दु कुमारी पासी समुहका जोडीए सगै पुनः बिद्यालयमा जान थालेकी छन । सानै उमेरमा बिवाह भएकी उनको ३ वटा सन्तान छन । ९ कक्षामा पढाई छोडेकी उनले समुहमा आबद्ध भएर सचेतना कक्षामा सहभागी भए पछि पढाईलाई फेरी निरन्तरता दिईन । उनी अहिले सोहि वडाको बासुदेव माबिमा कक्षा ११ मा अध्ययनरत छिन । शिक्षाको अभावमा अवसरहरू गुम्न थाले पछि आफूले ७ बर्ष पछि पढाईलाई पुनः निरन्तरता दिएको उनले बताईन । “घरमा तिन जना बच्चा छन, तर साईकल चढेर बिद्यालय जान्छु । पढाईलाई पुनः निरन्तरता दिए । ” उनले भनिन । उनको समूहले समाजमा हुने बाल बिवाह, बहुबिवाह न्यूनीकरणका लागि सचेतना प्रवाह मात्रै नभई स्थानिय तहका योजनाहरूमा प्रभावकारी बनाउन भूमिका खेल्दै आएको छ ।
साकिया र बिन्दु जस्तै यशोधरा ६ कै पुनम पासी पनि समुहमा आबद्ध भए पछि आफूहरूमा सशक्तिकरण भई आत्म बल बढेको अनुभव सुनाउछिन । “समुह गठनका बेला घुम्टो काढेर घरमा बस्ने महिला दिदी बहिनीहरू अहिले सशक्त बन्दै गएका छन । बुहारी घरायसी काममा मात्रै सिमित हुनु पर्छ भन्ने मान्यता परिर्वतन हुदै गएको छ ।” पुनमले भनिन । उनको समुहका सदस्यले पनि सचेतनाका कार्यक्रम, बचत संकलन र ऋण लगानी गर्ने गरेका छन । मधेसमा पढे लेखेकै घरकाले दाईजो लिने कारणले दाईजो प्रमुख समस्याको रूपमा रहेको समुहका प्रतिनिधिहरूको बुझाई छ । समुहका सदस्यले स्थानीय तहको योजना निर्माणमा सहभागीता, महिला लक्षित कार्यक्रमको प्राथमिकता, किशोरी सिप बिकास र सहज स्थानमा किशोरीका लागि बिद्यालय शिक्षाको पहुचँ हुनुपर्ने बताउँछन । समुहमा आबद्धता पुर्व आफुहरू सामाजिक गतिबिधीमा पुर्ण रूपमा बंचित हँुदै आएको भए पनि अहिले आफूहरूको ती कार्यमा सहभागीता बढन थालेको यशोधरा ८ को बिद्या आत्मनिर्भर समूहकी उर्मीला पासीले बताईन । दाईजो प्रथा बिरुद्ध सबै पक्षले कडाई गर्न आवश्यक रहेको वडा नम्बर ८ मधुनगराकी गंगोत्री चौधरीको माग छ । “शिक्षीत बुहारी पाए दाईजो लिन्न । दाईजो कुप्रथाको बिरोध आफ्नै परिवारबाट शुरु गर्नु पर्छ ।” चौधरीले भनिन ।
दलित सामाजिक बिकास केन्द्रले केएनएचको सहयोगमा सञ्चालन गरेको “हाम्रो पहुचँ परियोजना” ले निर्माण गरेको आत्मनिर्भर समूहमा आबद्ध सदरमुकाम दक्षिणका महिला शसक्त बन्दै गएका छन । संस्थाले यशोधराको वडा नम्बर ४,५,६,७ र ८ मा परियोजना सञ्चालन गरेको छ । जस्मा ७६ आत्म निर्भर समुह मार्फत सशक्तिकरणका कार्य अगाडी बढाएको संस्थाकी कार्यक्रम अधिकृत बिन्दबासिनी हरिजनले बताईन । सबै समुहले ३० लाख बढि बचत संकलन गरेर समुहमा ऋण लगानी गर्दै आएको उनले जानकारी दिईन । आत्मनिर्भर समूहबाट ६ वटा महिला सञ्जाल बनाईएको र अब सोहि समुहको महासंघ बनाउने योजना रहेको बरिष्ठ परियोजना अधिकृत गोबिन्द धवलले बताए । समूहले हिंसा र बिभेद रोकथाम, शिक्षा तथा सचेतना प्रवाहका कार्यमा अगुवाई गर्दै आएको उनले जानकारी दिए । “घरको परिधी भन्दा बाहिर ननिस्केका दक्षिणका मधेसी, मुस्लिम र दलित समुदायका महिलाले आफ्नो अधिकारका बारे खुलेर मागहरू राख्न सक्नु नै सशक्तिकरणको ठूलो उदाहरण हो ।” संस्थाकी कार्यवाहक अध्यक्ष सुर्जमती पासीले भनिन ।