© २०२३
बाँके, १३भदौ ।
नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कान्जीहाउसका गाईको रेखदेख गर्ने राकेश भारती उनको परिवारभित्रको तेस्रो पुस्ता हुन् । बाजे बलदेव, बुवा राम भारतीकै पदचाप पछ्याउँदै राकेशले कान्जीहाउसका गाई हेरिरहेका छन् ।
‘खासमा हामी करारका कर्मचारी हौं । तर गाईको हेरचाह गर्न अरुले नसक्ने र हामीले जानेको कुरा भएका कारण हामीलाई नै काममा लगाइएको छ’, भारतीले भने–‘शुरुदेखि नै बाजे, त्यसपछि बुवा र अहिले मैले गाई हेरिरहेका छौं ।’ पहिले पूर्वाधारको सुविधा नहुँदा गाईको रेखदेख मुस्किल हुने गरेकोमा अहिले भने त्यस्तो अवस्था नरहेको उनको अनुभव छ ।
नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–२१ मा सुविधा सम्पन्न पूर्वाधार सहितको कान्जीहाउस निर्माण गरेको छ । जहाँ ७५ वटा गाईको रेखदेखको जिम्मा भारतीलाई छ । उनका साथमा तीन जना मजदुर छन् । कान्जीहाउसमै आवास समेत भएकाले रेखदेखका लागि त्यही बस्छन् । ‘बाहिरबाट हेर्दा सजिलो जस्तो देखिए पनि गाईबस्तु हेर्न मुस्किल छ । हामीले जागिर मात्र हो भन्ने सोंचेका छैनौं घरमै गाईबस्तु जस्तो सोंचेर काम गरेका छौं’– उनले भने ।
कान्जीहाउसका इन्चार्ज रहेका भारती जतिसुकै राम्रो गरी गाईको रेखदेख गरे पनि सर्वसाधारणले जस दिंदैनन् । गाईलाई वेवारिसे छाड्न मानेका छैनन् । कतिसम्म भने कान्जीहाउसबाट दूध खानका लागि लगेको गाई दूध दिन छाडेपछि फेरि सडकमै छाड्छन् । त्यो देख्दा भारतीको मन खिन्न हुन्छ । उनका अनुसार, साठी गाई गत आर्थिक वर्षमा सर्वसाधारणले लिए । उपमहानगरमा निवेदन दिएपछि उक्त निवेदनका आधारमा आएका सिफारिसलाई हेरेर गाई दिइन्छ । यसरी निवेदन दिनेले दुधालु गाई मात्रै माग्छन् । बलियो र हृस्टपुष्ट गाई मात्रै लिएर जान्छन् ।
‘दुध दिन सक्ने हेरेर मात्र लैजान्छन् । अरु हेरचाहका लागि लैजाने त को आउँथ्यो होला र ?’– भारतीले भने,–‘यहाँबाट लगेका गाई दुध दिन छाडिसकेपछि सडक हुँदै फेरि कान्जीहाउसमै भेटिएका छन् ।’
कान्जीहाउसका गाईको पहिचान खुल्ने कुनै प्रमाण नहुने भए पनि रेखदेख गरेका आधारमा कर्मचारीले पहिचान गर्ने गरेका छन् । ‘कति गाई त हामीले सडकमा देखेर चिन्छौं । यसरी गाईलाई सडकमा फाल्नेलाई किन गाई दिएछौं भन्ने सोच्छु’– भारतीयले भने । कान्जीहाउसबाट लगेर सडकमा बेवारिसे छाड्नेलाई कारवाही नीति बनाउनुपर्ने अवस्था देखिएको छ । त्यस विषयमा कर्मचारीहरुले उपमहानगरपालिकाका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।